अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
–दानबहादुर कपाली
गाईजात्रा सांस्कृतिक नगर भक्तपुरको एउटा महत्वपूर्ण सांस्कृतिक पर्व हो । यो मृतकको स्मरणमा मनाइने पर्वमात्र होइन नाचगानको पर्व पनि हो । गाईजात्रा अवधिभर यहाँ रहेका परम्परागत सबै नाचगानहरू देखाइनुपर्छ भन्ने मान्यता छ । सात दिनभित्र आ–आफ्नो टोलमा रहेका उहिलेका सबै परम्परागत नाचगानहरू टोलको चोक चोकमा देखाएर नगर परिक्रमा गरिनुपर्छ । एक समय यहाँ रहेका अधिकांश महत्वपूर्ण नाचगानहरू झण्डै बन्द भइसकेको थियो । भक्तपुर नगरपालिकाले नाचगानहरूको प्रतियोगिता गरी पुरस्कृत गर्न थालेपछि फेरि यहाँ रहेका नाचगानहरू गाईजात्राको बेला देखाउन लागेको हो । पहिले नगरभित्र भैल नाच र देवी नाच थोरैमात्र थियो । तर अहिले यस्ता नाचहरू दर्जनभन्दा बढी छन् र गाईजात्रामा देखाउन थालेका छन् । स्थानीय निकायमा जनप्रतिनिधि रिक्त भएको बेलामा पनि नाचगान देखाउने टोली थोरैमात्र थियो ।
नाचगान टोलीलाई पुरस्कृत गर्ने व्यवस्था भनपाले गरे पनि पोशाक र पुराना कलाकारको कमी भएको हुँदा भालु नाच खासै देखाउन सकिरहेको छैन । मयूर नाच, बाघ नाच, कलांली (टोकरी) नाच, मथु नाच झण्डै लोप हुन लागेको छ । त्यस्तै कपास कात्ने (कपाय् फेनेगु), किजा पूजा (भाइ टीका) को नाचगान पनि देखाउन छोडेको छ । यस्ता नाच सिक्न र सिकाउन समय लाग्ने, कलाकार धेरै आवश्यक पर्ने भएकोले पनि आजको नयाँ पुस्ताले खासै चासो नराखेको देखिन्छ । भूकम्पको कारण यहाँका बासिन्दाहरू नगरभन्दा बाहिर बस्न जानुपर्ने बाध्यताले पनि यस्ता नाचगानहरू देखिन छोडेको हो ।
परम्परागत नाचगान लोप हुन थालेको देखेरै भक्तपुर नगरपालिकाले नाचगानको प्रतियोगिता गरिरहेको हो । देखाउनैपर्ने नाचगानलाई जीवन्तता दिन नपाले पुरस्कारको व्यवस्था गरेको हो । नाचगान टोलीहरू पुरस्कृत भएपछि नाचगानको लागि आवश्यक वाद्यवादन र पोशाकको व्यवस्था गर्न सहज बनेको छ । यसले एकातिर नाचगान टोलीलाई नाच देखाउन उत्साहित बनाएको छ, नाचगान गर्न अवसर मिलेको छ भने अर्काेतिर विभिन्न वाद्यवादन र पोशाक सिलाउन आर्थिक सहयोग जुटेको छ । यहाँका भएभरका नाचगानहरू टोल–टोलमा देखाउने वातावरण मिलाउन भनपाले प्रत्येक वर्ष नाचगानको प्रतियोगिता गर्नु आवश्यक छ ।
Leave a Reply