अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
२०४५ सालको भूकम्पबाट पीडितहरूको सहयोग गर्न तत्कालीन नगर पञ्चायतले निर्णय गर्दा एकतन्त्री, निरङ्कुश जातिवादी शासकहरूले भक्तपुरका सयौं होइन, हजारौं निर्दोष जनतालाई निर्घातसित यातना दिए, पशुवत व्यवहार गरे । ‘विदेशी सेनाले’ जस्तै पक्राउ परेका किसान, युवा र विद्यार्थीहरूलाई दुव्र्यवहार गरे । तल्लो स्तरको गाली गर्नु र ‘ज्यापू’ भनी हेंलाहोचो गर्नु त तत्कालीन शासक र प्रशासकहरूको बच्चैदेखिको अहङ्कार थियो । तर पीडित वर्ग र जनताले तीन पुस्तासम्म उनीहरूको त्यस्तो दुव्र्यवहार बिर्सने छैनन्, भर्खर दोस्रो पुस्ताले सरकारी जातिवादी व्यवहार र पक्षपात अनुभव गर्दैछन् । माक्र्सले भन्नुभए अनुसार अरूको मुक्तिलाई नस्वीकार्ने जाति र वर्गले आफ्नो मुक्ति प्राप्त गर्न सक्नेछैन ।
आजका ‘गणतान्त्रिक’ शासकहरू र हिजोका ‘निर्दलीय पञ्चायती’ तथा ‘प्रजातान्त्रिक’ शासकहरूका शोषण, दमन र भेदभावमा केही फरक छैन । यसमा मधेसवादी शासकहरू र दलित शासकहरूसमेत अछुतो छैनन् । जातीय दमन र पक्षपात के हो भन्ने बुझ्न २०४५ साल भाद्र ९ को घटना र वर्षौंसम्मको त्यसको सिलसिलालाई बुझ्न आवश्यक छ । सच्चा प्रगतिशील र न्यायप्रेमी जनताले त्यसबेलाको जातीय दमन र राज्यस्तरको षड्यन्त्रलाई बिर्सने छैनन् । त्यसबेलाका दमनकारी र आत्मसमर्पणवादीहरू आज नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, मधेसवादी र राप्रपाहरूमा लुकेका छन् ।
जनताको सेवा गर्ने उद्देश्यले तत्कालीन नगर पञ्चायतबाट आवश्यक काठ सिफारिस गरी केही सहयोग गर्ने निर्णय भएको थियो । मरिचमानको सरकारलाई त्यो निर्णय पाच्य भएन र छुट्याइएको केही रकम तत्काल केन्द्रीय राहत कोषमा जम्मा गर्न आदेश दियो । नगर पञ्चायतले जनतालाई दिएको वचन र सहयोगलाई फिर्ता लिने कुरै थिएन र सरकारप्रति जनताको विश्वास पनि थिएन । मरिचमानको पञ्चायती सरकारलाई नगर पञ्चायतको विकेन्द्रीकरण र स्वायत्तताको अधिकार पनि थाहा थिएन ।
२०१९ सालदेखि नै काठमाडांै उपत्यकामा जनताका साँचा जनप्रतिनिधिले टाउको नउठाऊन् भन्ने सोच पञ्चायतका केन्द्रिय स्तरका व्यक्तिहरूमै थियो । २५ वर्ष नाघ्दासमेत भक्तपुर नगरमा पञ्चायतले एक जना पनि योग्य र इमानदार व्यक्ति मेयरको निम्ति उम्मेदवार पाउन सकेन । पठाइएका एक जना विद्यावारिधि गरेका व्यक्तिलाई जनताले स्वीकारेनन् ।
त्यसैबेला केही दरबारियाहरूले नगरकोटमा युवाहरूको गुप्त बैठकमा भक्तपुरका जनताको विरोध गर्दै षड्यन्त्रको बीऊ रापेको पछि जनताले थाहा पाए । त्यस षड्यन्त्रमा देशी र विदेशी प्रतिक्रियावादीहरूको गन्ध थियो नै । समयमै देशमा वरिष्ठ कानुन व्यवसायीहरू कृष्णप्रसाद भण्डारी, बासुदेव ढुङ्गाना, सिन्धुनाथ प्याकुरेल, मुकुन्द रेग्मी, दमननाथ ढुङ्गाना, सुवास नेम्वाङ, कृष्णप्रसाद पन्त र अन्य सयभन्दा बढी कानुन व्यवसायी साथीहरूले षड्यन्त्रको विरोधमा सिंहदरबारको ‘विशेष अदालत’ मा लामबद्ध भई आ–आफ्नो कर्तव्यको धरोहरलाई माथि उचाले र सारा बुद्धिजीवी समुदायलाई घच्घचाए ।
ऋषिकेश शाह र अन्य मानवअधिकारवादीहरू, राजनैतिक व्यक्तित्वहरू, राजनैतिक दलहरूका वरिष्ठ नेताहरू, सङ्घ–संस्थाहरूको वक्तव्यहरू र सरकारी षड्यन्त्रको निन्दाले षड्यन्त्रकारी पञ्चहरूको पैतलामूनिको धर्ती भासियो ।
राजधानीनजिकै १५ किलोमिटरको दुरीमा घटना घट्नु, हुलबाट प्रहरी भ्यानमा राखिसकेको व्यक्तिलाई पुनः हुलमा छोड्नु, वीर अस्पतालमा उपचार नगराई डाक्टरहरूको जरुरी बैठक राख्नु र सरकारको जिम्मामा रहेको पीडित व्यक्तिलाई हत्या गरी दोषको भागी विपक्षीलाई बनाई ‘‘…लाई फाँसी देऊ’’ भनी अदालतलाई प्रभाव पार्न खोज्नुले प्रजातन्त्रविरोधी षड्यन्त्र प्रस्ट गरेको थियो ।
तर ३० वर्षपछि पनि केही बुद्धिजीवी र राजनैतिक पक्ष नेपाल मजदुर किसान पार्टीलाई त्यस घटनाको दोषी भनी अहोरात्र दुष्प्रचारमा लाग्दै छन् । हिजोका ती षड्यन्त्रकारीहरू आ–आफ्नो भेष बदलेर विभिन्न शासक दलका झण्डावाल मोटरमा देखापर्दछन् । यसकारण हरेक सच्चा प्रजातन्त्र र गणतन्त्रका पक्षधरहरू सचेत हुन जरुरी छ ।
Leave a Reply