भर्खरै :

राज्य–दमन र जनताको प्रतिरोधबारे एउटा जीवन्त कथा

 जमिला
पञ्चायती व्यवस्थाको षड्यन्त्र, राज्य आतङ्क, क्रूरता र दमनको पराकाष्टा थियो – भक्तपुर काण्ड । निर्दोष र सोझासीधा जनतामाथिको अत्याचारको वास्तविक घटना थियो – भक्तपुर काण्ड । नेपाल मजदुर किसान पार्टीको विचार र गतिविधिमाथिको हमला थियो – भक्तपुर काण्ड । इतिहासको एउटा कालखण्डमा पञ्चहरूले जनताको उज्यालो दिनमाथि अँधेरी पोतिदिएको कालो दिन थियो – २०४५ भाद्र ९ । त्यही कालो दिनको सामना गर्दा नेमकिपाका नेता कार्यकर्ता, शुभचिन्तक तथा समर्थकहरूले भोगेका कष्टपूर्ण क्षण र त्रासदीपूर्ण अवधिको मार्मिक शब्दचित्र हो – ‘भक्तपुर काण्ड’ का संस्मरणहरू । यो पुस्तक राज्यद्वारा गरिएको बर्बर दमन र त्यसविरुद्ध जनताले गरेको साहसिक प्रतिरोधको जीवन्त कथा हो । पुस्तकले ती प्रतिनिधि भोगाइ तथा अनुभव प्रस्तुत गर्दछ ।
चरम शारीरिक यातनादेखि असह्य मानसिक यातनासम्म, प्रतिक्रियावादीहरूको नेमकिपा सिध्याउने योजनादेखि पार्टीभित्रका हरिया सर्पहरूका कारण भोग्नुपरेको थप पीडासम्म र सच्चा सहयोगीहरूले गरेको सहयोगको वास्तविक कथाको संगालो हो, यो पुस्तक । अक्षर लेख्नपढ्न समेत नजानेका, नेपाली भाषा बोल्न नआउने, हाकुपटासी लगाउने महिलाहरूले अन्यायविरुद्ध लड्न देखाएको अदम्य साहस, धैर्य र सहनशील भई चालेका विद्रोही पाइलाहरू तथा अँधेरी चिर्न बालेका चिरागहरूको गीत गाएको छ, यस पुस्तकले । भूमिगत भई जनताको पक्षमा सङ्घर्ष गर्न सजिलो थिएन । त्यो प्रतिकूल परिवेशमा राज्यसत्ताको छलछाम र षड्यन्त्रविरुद्ध जनता सङ्गठित गर्न पार्टीका अग्रज कार्यकर्ताहरूले खोल्नुभएको सशक्त भूमिकाहरूको कथा छ, यस पुस्तकमा ।
का. रोहित बारम्बार भन्नुहुन्छ, ‘‘राजनीति गुलाफको ओछ्यान होइन, यो तरबारको धारमा हिंड्नुजत्तिकै हो ।’’ सच्चा कार्यकर्ताहरू त्यो कालो दिन चिर्न जस्तै पीडा तथा जस्तै कठिनाइबीच पनि चट्टान भएर उभिनुभयो ।
जस्तै आँधीबेहरीबीच पनि पटक्कै विचलित नभई बटुलेका ती अनुभवहरू नयाँ पुस्ताका निम्ति एउटा महत्वपूर्ण विषयका पाठ बन्नेमा कुनै शङ्का छैन । राजनैतिक मूल्यमान्यता, नैतिकता, सिद्घान्तप्रतिको अडान, निःस्वार्थ सेवाभाव, सङ्घर्षप्रतिको विश्वास, वर्गशत्रुप्रति बदलाको भाव नै यस पुस्तकबाट प्राप्त हुने शिक्षा हो ।
जेलबाट छुटेपछि राजासँगको भेटमा का. रोहितले भन्नुभएको थियो– ‘‘बीस महिनासम्म भक्तपुरमा राज्य थिएन, अराजकता थियो । एक सय चार वर्षको राणा शासनमा पनि यस्तो अत्याचार थिएन । पृथ्वीनारायण शाहको उपत्यका विजयपछि यस्तो अत्याचार कहिल्यै भएको थिएन ।’’
भक्तपुर काण्डको त्यस्तो संकटको समयमा कतिले खुट्टा कमाए, अवसरवादीहरूले आत्मसमर्पण गरे र कति चाकरी गरी जेलबाट छुटे, खतरामुक्त भए । त्यतिले नपुगेर पञ्चहरूको पिछलग्गू बने । कतिले जनताको जग्गा हडप्न थाले । सार्वजनिक जग्गा र पाटीमा घर बनाउने मौका खोजे । समाजविरोधी तत्वहरूले टाउको उठाउने मौका पाए ।
त्यस्ता प्रतिक्रियावादीहरूले जनताको घाउमा नुनचुक छरे, त्यो घाउ अझै आलो रहेको पुस्तकका हरेक पृष्ठले प्रस्ट बताउँछ ।
हरेक राजनैतिक कार्यकर्ता आफ्नो लक्ष्यप्रति अटल एवं विश्वस्त हुनुपर्दछ भनी का. बुद्घिकुमार गोसाई आप्mनो संस्मरणमार्पmत कार्यकर्ताहरूको मनमनमा उत्साहको सञ्चार गर्नुहुन्छ । का. सुनिल प्रजापति दृढ विश्वास व्यक्त गर्दै भन्नुहुन्छ – ‘‘हामी राजनैतिक कार्यकर्ता हौं’’ इमानदारहरूलाई जेलमा राख्ने पञ्चायती व्यवस्था अवश्य ढल्छ ।’
दिवंगत का. ज्ञानबहादुर न्याइच्याईलाई कारागारमा मरणाशन्न हुनेगरी पिटियो र करेन्ट लगाइयो । उहाँ जेललाई एउटा पाठशाला र अध्ययन स्थल बनाएको बताउनुहन्छ – ‘‘पञ्चायतले हामीसँग खेल्नाले नै ऐतिहासिक जनआन्दोलनमा हाम्रो पहिलो मुक्काले क्षीण हुँदै गएर अन्तमा ढल्यो ।’’
का. शोभा प्रधान भन्नुहुन्छ – ‘‘हामीमाथि भएको अत्याचार कहिल्यै बिर्सन सक्दैनौं, बिर्सनु पनि हुन्न । त्यो कष्टपूर्ण समयमा राजनैतिक जागरणको उभार ल्याउन हामी सफल भयाँैं ।’ जनतामाथि भएको अत्याचारविरुद्ध महिलाहरूलाई संगठित बनाउन थुप्रै कार्यकर्ताहरूले हिम्मत देखाउनुभएको यथार्थ हो ।
जेलभित्र रोहितले ह्योजूलाई मारेको हो नभनुञ्जेल तथा कागजमा हस्ताक्षर नगरुञ्जेल बाँसमा बाँधेर दुई जनाले बोकी लठीले हिर्काउने, बुटले हान्ने, डोरीले बाँधेर पिट्ने, हात खुट्टाका औंलाहरूमा पिनले घोच्ने, दुईवटै खुट्टा बाँधेर पैतालामा बाँसको लठ्ठीले करिब तीन चार घण्टा निरन्तर पिट्ने, युद्धबन्दीलाई झैं व्यवहार गर्ने, ज्यापू ज्यानमारा भन्दै दिसापिसाब पनि गर्न नदिने, यी र यस्ता प्रताडना लक्ष्मीभक्त कवां, कृष्णभक्त लवजू, विश्वराम प्रजापतिलगायतले सहनु भएका मुटु कमाउने वर्णन पुस्तकमा छ ।
भूमिगतरुपमा गुप्ती कार्य गर्ने, प्रहरीबाट बच्न भक्तपुर छोडी गाउँगाउँ र काठमाडौं उपत्यकाबाहिर गई सांगठनिक गतिविधिमा लाग्ने थुप्रै कार्यकर्ता, शिक्षकहरूको आत्मसंस्मरण पाठकहरूको निम्ति उत्साहप्रद हुने निश्चित छ ।
पारिवारिक जिम्मेवारी काँधमा बोकेर खेतीपाती, घरब्यवहार, सन्तान हुर्काउन दिनरात काम गर्ने, ‘ज्यानमाराकी स्वास्नी’ भन्ने गाली सहेर बलियो आत्मबलका साथ सत्यको विजय कुर्नुहुने विकुमाया, राज्यश्वरीहरूको मार्मिक संस्मरण पुस्तकमा समेटिएको छ ।
भोगाइ र अनुभवको यस पुस्तकमा ऐतिहासिक महिला जुलुसको प्रसङ्ग पनि प्रस्तुत छ जसले हरेक पाठकको रगत तताउने र बदलाको भाव जगाउने निश्चित छ ।
हजारौं जनताले दुःख कष्ट भोग्न परेको त्यस घटनाको सन्देशबारे अध्यक्ष रोहित भन्नुहुन्छ – ‘‘हरेक घटनाले सकारात्मक र नकारात्मक प्रभाव पार्छ । नेमकिपाले आफ्नो आकार र स्तरलाई बुझ्यो । फलामबाट इस्पात बन्ने प्रक्रियालाई बुझ्यो, आफ्नै खुट्टामा उभिनुपर्छ र सैद्घान्तिक स्तरलाई उठाउनुपर्छ, पद, पैसा र व्यक्तिगत चरित्र निर्माण गर्न खोज्नेहरूबाट सतर्क हुनुपर्छ भन्ने शिक्षा दियो । न्याय र सच्चाइको निम्ति नयाँ पुस्ता तयार हुने कुरामा विश्वास बढ्यो । सङ्कट र सङ्घर्ष आफै परिमार्जनको एक तीतो प्रक्रिया हो भन्ने बुझियो । मित्र र शत्रु चिन्ने मौका मिल्यो ।
देश र जनताको निःस्वार्थरुपले सेवा गर्नु स्वयं ठूलो सङ्घर्ष हो, यसबाट विचलित हुनुहुन्न, एक दिन सत्य र न्यायको विजय हुनेछ, हामीले जनतामै भर पर्नुपर्छ । भक्तपुर काण्डले हामीलाई यही शिक्षा दियो ।’’
भक्तपुर काण्डको स्मरणमा करिब ३२ जनाको फरक–फरक भोगाइको संगालो यस पुस्तक निकै पठनीय र संग्रहणीय छ । सरल र सरस भाषामा अभिव्यक्त ती अनुभवहरू नयाँ पुस्ताको निम्ति जीवनोपयोगी साबित हुने नै छ । अझ थुप्रै भुक्तभोगीहरूको संस्मरणहरू बाहिर आउन बाँकी नै छ । ती सबै समय सँगसँगै खोतल्न आवश्यक छ, प्रकाशित गर्न जरुरी छ । नयाँ पुस्ताको लागि सपनाको कथाजस्तो लाग्ने, चलचित्रका दृश्यजस्तो लाग्ने भक्तपुर काण्डका विषयमा लेखिएका थुप्रै सशक्त पुस्तकहरूमध्ये यो पनि एक हो ।
कालो रङ्गको गातामा चित्रित माकुराको जालोले पञ्चायती राज्यस्तरको षड्यन्त्रको भत्र्सना स्पष्ट अभिव्यक्त गर्छ । वर्कस पब्लिकेसन्स्द्वारा २०६७ मा प्रकाशित यस पुस्तकको मूल्य पाठकमैत्री छ ।
निष्पट्ट अन्धकार छाएको त्यो पञ्चायती कालरात्रीमा समेत उज्यालो भविष्य देख्न नछाड्ने, प्रतिक्रियावादीहरूसँग शिर उठाएर सङ्घर्ष गर्ने र सधंैसधंै विचार र सिद्घान्तप्रति अटल रहेर आजको नयाँ पुस्तासम्मलाई भविष्यमा आउन सक्ने काला दिनहरूप्रति सचेत बनाउने अध्यक्ष का. रोहितलगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा पुनः न्यायप्रेमी जनताको तर्फबाट अभिनन्दन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *