भर्खरै :

जथाभावी तार र कुरुप सहर–बजार

टेलिफोन, विद्युत्, इन्टरनेट तथा केबुल टेलिभिजनका तार जथाभावी झुण्ड्याउँदा नेपालका अधिकांश सहर कुरुप छन् । जथाभावी तार आकाशमा झुण्ड्याउँदा सहरको सौन्दर्य कुरुप भएको मात्र होइन बरु कतिपय अवस्थामा दुर्घटनाको कारणसमेत बन्ने गरेको छ । विद्युत् लाइनमा सट हुँदा आगलागी भएर धनजनको क्षतिका समाचार बरोबर आइरहने गरेको छ ।
शताब्दियौं पुराना सांस्कृतिक सम्पदा भएका काठमाडांै उपत्यकाका तीन सहर जथाभावी झुण्ड्याइएका तार र केबुलले ती सहरका मौलिक स्वरुपमाथि अन्याय गरेको छ । पोखराजस्तो प्राकृतिक सौन्दर्यले धनी सहरबाट देखिने हिमालका मनोरम दृश्य आज सहरभरि झुण्ड्याइएका तारले नदेखिने भएको छ । नेपालका सम्पदा र प्रकृतिका अनुपम दृश्य हेर्न सात समुद्रपारिबाट आएका पर्यटकहरूले आकाशभरि गाँजेको तार हेरेर फर्कन बाध्य छन् ।
भक्तपुर ‘नाचगानको राजधानी’ हो । सापारु पर्व भक्तपुरको सांस्कृतिक गतिविधिको सबभन्दा गतिशील पर्व हो । तर जथाभावी तार र केबुल झुण्ड्याउँदा यो पर्व प्रभावित बनेको धेरै वर्षअघि देखिको जनगुनासो हो । जनताको त्यही गुनासो सम्बोधन गर्न स्थानीय तहका जनप्रतिनिधिहरूले सम्बन्धित इन्टरनेट र केबुल कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयमार्फत बैठक आमन्त्रण गरेका थिए । उक्त बैठकमा एकाध केबुल कम्पनीका प्रतिनिधिबाहेक अरु सहभागीसमेत भएनन् । उनीहरूले विषयवस्तुप्रति कति पनि गम्भीरता देखाउन चाहेनन् । सम्बन्धित निकायले तार व्यवस्थापन गर्न र बाटोमा वारपार तार नराख्न सार्वजनिक सूचनासमेत जारी ग¥यो । तर सामाजिक जिम्मेवारीप्रति उदासीन केबुल र इन्टरनेट कम्पनीले बेवास्ता गरे ।
स्थानीय तहका प्रतिनिधिको रोहवरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि सहभागी भई हालै अव्यवस्थित तार केबुल काटियो । सबै कानुनी प्रक्रिया पूरा गरी चालिएको यो कदमका कारण नगरभित्र टेलिभिजन र इन्टरनेट सुविधा अवरुद्ध भएको छ । यसको जिम्मेवारी पटक पटकको बैठक र सार्वजनिक सूचनाप्रति बेवास्ता गर्दै तार व्यवस्थापन गर्न नमानेका नाफामुखी कम्पनीहरू नै हुन् । आफ्नो कानुनी र सामाजिक जिम्मेवारीबाट पन्छिएर आज ती कम्पनीहरूले सुविधा अवरुद्ध हुने अवस्था बनाएर ग्राहकमाथि अन्याय गरेका छन् । त्यसको निम्ति ती कम्पनीहरूले यथाशक्य चाँडो ग्राहकको सुविधा निरन्तर गर्नुपर्दछ । सुविधा प्रदायक कम्पनीले अब तार जडान गर्दा व्यवस्थित रुपमा नगरको रुप नबिग्रिने गरी राख्न आवश्यक छ । अव्यवस्थित रुपमा तार जडान गर्ने कम्पनीको अनुगमन गरी व्यवस्थित गराउनुपर्छ ।
भक्तपुरमा स्थानीय सरकारी कार्यालय र स्थानीय तहको पहलमा भएको यो सकारात्मक कामलाई सबै सहरमा निरन्तरता दिइन जरुरी छ । सहरको सौन्दर्यभन्दा ठूलो कुरा कुनै कम्पनीको नाफा हुनसक्दैन । यस्तो विषयमा देशमा कानुनको अभाव भएको होइन । तर कानुनी कार्यान्वयन गर्ने गराउने निकायले त्यस्ता कानुनको कार्यान्वयनमा जाँगर नदेखाउँदा यस्ता समस्या आएका हुन् ।
उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु राम्रो भन्ने भनाइ छ । नयाँ बन्दै गरेका सहरमा यस्ता विषयमा आजदेखि नै सजगता अपनाउन जरुरी छ । भोलि समस्या बल्झिएपछि मात्र उपचारमा लाग्नु ढिला भइसकेको हुनेछ । पुराना बस्तीमा यसबारे सम्बन्धित निकायले कडाइका साथ भएका नियम कानुन कार्यान्वयनमा ल्याउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *