भर्खरै :

नेपालको सार्वभौमिकतामाथि मोदीको हस्तक्षेप

बिम्स्टेक सम्मेलनमा सहभागी बन्न बिहीबार काठमाडांै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक पनि आफ्नो सुरक्षाको लागि अलगै सुरक्षा दस्ता लिएर आए । उनको सुरक्षाको लागि भनी वरपर अरु सुरक्षाकर्मीको सञ्चारसेटले काम नगर्ने विशेष गाडीको बन्दोबस्त गरियो । अघिल्लो पटक जनकपुर र मुक्तिनाथ यात्रामा आउँदा पनि भारतीय प्रधानमन्त्रीले नेपालमा आफ्नो सुरक्षाको लागि भनेर भारतीय सैनिकलाई नेपाली भूमिमा उतारेका थिए । नेपाली जनताले व्यापक असन्तोष व्यक्त गरे पनि सरकारले यसबारे एक शब्द पनि प्रतिक्रिया दिएको थिएन । नेपाल सरकारको त्यही मौनताको दुरुपयोग गर्दै मोदीले यो पटक पनि भारतीय सैनिकलाई सँगै लिएर आए ।
बिम्स्टेक सम्मेलनमा सहभागी बन्न अरु देशका विशिष्ट पाहुना पनि नेपाल आएका थिए । तर तिनको तुलनामा मोदीलाई विशेष र थप सुरक्षा बन्दोबस्त हुनु पर्नाको कारण के ? नेपालका सुरक्षाकर्मीले मात्र नपुगेर भारतीय सैनिकलाई समेत नेपाली भूमिमा ल्याउनु पर्नाको कारण के हो ? भारतीय प्रधानमन्त्रीलाई सुरक्षा दिन नेपालसँग क्षमता छैन ? भारतीय प्रधानमन्त्रीलाई नेपाली भूमिमा आउन किन यति धेरै डर !? कि यो भारतीय प्रधानमन्त्रीको आफू ‘ठूलो’ देशको प्रधानमन्त्री भएको घमण्डमात्र हो ?
देश भूगोलले ठूलो सानो हुने होइन । भूगोलले ठूलो हुँदैमा कुनै पनि देशको राष्ट्रप्रमुख वा सरकार प्रमुख ठूलो वा विशेष हुने होइन । सानो देशको पाहुना विशेष अनि त्योभन्दा ठूलो देशको पाहुना बढी विशेष भन्ने हुँदैन । अरु देशका पाहुनालाई एक थरी र भारतको पाहुनालाई अर्को व्यवहार गर्नुले सरकार र कर्मचारीतन्त्रसँग पराधीनताको सोच बाँकी रहेको पुनःप्रस्ट भयो ।
नेपाल सरकारले भारतको प्रधानमन्त्रीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्दथ्यो । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन र संरा अमेरिकी राष्ट्रपति ट्रम्पबीच भएको सिङ्गापुर वार्तामा सिङ्गापुर प्रहरीअन्तर्गत् नेपाली टोलीले सुरक्षा दिएको थियो । भारतमै पनि महत्वपूर्ण सुरक्षा कारबाहीमा भारतीय सेनाअन्तर्गत नेपाली फौजलाई नै प्रयोग गर्ने गरेको इतिहास छ । भारतीय प्रम नेपाल आउँदा आफ्नै अलग टुकडी ल्याउनुको अर्थ के नेपाली सुरक्षाकर्मीप्रति भारतको अविश्वास हो ? कि नेपाल सरकारले भारतीय प्रधानमन्त्रीलाई सुरक्षाको प्रत्याभूति दिन नसकेको हो ?
नेपालमा ‘इतिहासमै सबभन्दा शक्तिशाली सरकार’ ले काम गरिरहेको छ । यस्तो देशमा आउन भारतीय प्रधानमन्त्रीले आफ्नै देशका सुरक्षाकर्मीलाई दुःख नदिनुपर्ने हो । नेपाल सरकारले यसमा आफ्नो अयोग्यता महसुस गर्नुपर्ने हो कि होइन ?।
भारतीय सेना जुनसुकै बहानामा नेपाल आउनु नेपालको सार्वभौमिकतामाथि चुनौती नै हो । इतिहासमा विमानस्थल बनाउन आएका भारतीय सेना नेपालको उत्तरी सिमानामा बसेको, कोसी नदीमा तटबन्ध फुट्दा आएको भारतीय मिसन विराटनगरमा वर्षौं–वर्ष बसेको नजिरबाट आजको सरकारले पाठ सिक्न जरुरी छ । आवश्यक मौकामा काम नलाग्ने वा देखाउन नसक्ने ‘राष्ट्रवाद’ जनतालाई झुक्याउने चुनावी मसलामात्र हो । यो जनता झुक्याउने खेलमात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *