भर्खरै :

विल्हेम वेट्लिङ्ग (१८०८–१८७१)

निर्जला
यस वर्ष कार्ल माक्र्सको जन्मको दुई सय औं वर्ष र कम्युनिष्ट घोषणापत्र प्रकाशनको १७० औं वर्ष मनाइरहेका छौँ । कम्युनिष्ट घोषणापत्रको प्रकाशन र माक्र्सवादको विकासमा अनेकौं विचारहरुको माझमा छलफल, मन्थन र योगदान भएको देखिन्छ ।
त्यसमध्ये सम्झनुपर्ने एक व्यक्ति हुन् – विल्हेम वेट्लिङ्ग (Whilhelm Weitling) भनिन्छ – उनी जर्मनियाली पहिलो काल्पनिक साम्यवाद विचारका सशक्त प्रचारक थिए । उनको जन्म ५ अक्टोवर १८०८ मा जर्मनीको उत्तर–पूर्व प्रसियामा भएको थियो । उनको बुबा एक फ्रान्सेली अफिसर थिए भने आमा एक जर्मेनियाली गृहिणी थिइन् । उनको बुबाको नाम क्रिश्चियन वेटलिङ्ग र आमाको नाम गुलियम जोरिजन हो । तिनीहरुको विवाह औपचारिक नभई मायाप्रीतिबाट अगाडि बढेको थियो ।
गरिबीमै हुर्केको हुनाले विल्हेम वेट्लिङ्गको पढाइ स्थानीय एक प्राथमिक विद्यालयमा भएको थियो । १२ वर्षको उमेरमा उनले स्थानीय एक पुस्तकालयमा स्वअध्ययन गरी क्रिश्चियाली धर्मग्रन्थ बाइबलको राम्रो अध्ययन गरे । उनले बुबाबाट फ्रान्सेली भाषा सिके भने आमाबाट जर्मेनियाली भाषा सिके । पछि उनले अङ्ग्रेजी र इटालियाली भाषा पनि सिके ।
सानै उमेरमा उनले लुगा सिउने काम सिके, त्यसमा एक प्रकारले दक्षता हासिल गरे । आफ्नो सीपसँगै उनी जर्मनीका विभिन्न प्रदेशहरुमा पुगे । त्यसबेला जर्मनी धेरै भागमा विभाजित थियो ।
सन् १८३० मा उनी जर्मनीको लिप्जिग (Lipzig) नगरमा पुगे । २२ वर्षमा युवा सङ्गतले उनले त्यहाँ राजनीतिबारे जानकारी हासिल गर्ने अवसर पाए, साथै व्यङ्गयात्मक कविता पनि लेख्न सिके । १८३२ मा उनी लिप्जिग नजिकै ड्रेसडेन (Dresden) नगर पुगे, त्यहींबाट उनमा नयाँ नयाँ ठाउँमा घुम्ने र सिक्ने स्वभावको विकास भयो ।
सन् १८३४ मा उनी छिमेकी देश अष्ट्रियाको राजधानी भियना पुगे । २६ वर्षका विल्हेम वेट्लिङ्गले सिलाइसँग सम्बन्धित नयाँ सीप र महिलाहरुको लुगामा बुट्टा हाल्ने, फूलहरुको कार्चोपि बुन्ने कला सिके ।
राजनीतिक गतिविधिमा सामेल
त्यसबेला आर्थिक, सामाजिक र राजनैतिकरुपले जर्मनीभन्दा छिमेकी देश फ्रान्स अगाडि थियो । २९ वर्षका वेट्लिङ्ग सन् १८३७ मा फ्रान्सको राजधानी पेरिस पुगे । त्यहाँ उनी चार वर्ष बसे तथा फ्युरिए, रोवर्ट ओवन र क्यावे (१७८८–१८६५) का रचनाहरुको अध्ययन गरे । उनी फ्रान्सेली परिवर्तनवादी राजनीतिमा संलग्न भए ।
जर्मनीका प्रवासीहरुले फ्रान्समा ‘व्यङ्गय सङ्घ’ भन्ने एक सङ्गठन खोलेका थिए । त्यस सङ्गठनमा जर्मनीका सर्वहारा मजदुरहरु र कालीगढहरु बढी थिए । त्यस सङ्गठनको शाखाहरु जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड, हङ्गेरी, बेलायत र स्क्याण्डेभियाली देशहरुमा पनि थिए । वेट्लिङ्ग १८३७ मा सदस्य भए । त्यसबेला उनी २९ वर्षका थिए र फ्रान्समा उनले बाबेफ र ब्लाङ्कीवादी सङ्गठनहरुसँग पनि सम्बन्ध राखे ।
वेटलिङ्ग विविध प्रकारका समाजवादी र साम्यवादी विचारहरुको अध्ययन र क्राइश्चेली धर्मको साम्यवाद स्थापना गर्ने धुनमा पनि लागे । फ्रान्स आफै समाजवादको जन्मभूमि र राजनैतिक भिडन्तको देश हुँदा ४० हजार विभिन्न समाजवादी विचारका शक्ति जम्मा गरी अचानक भौतिक शक्तिबाटै साम्यवाद स्थापना गर्ने र सामाजिक मेलमिलापबाट समाज सञ्चालन गर्ने उनी योजना बनाउँथे ।
पुस्तकहरुको प्रकाशन
सन् १८३८ मा उनले ‘मानव जाति’ लाई नयाँ किसिमको समाजमा सङ्गठित गर्ने कल्पना गर्दै एक पुस्तक लेखे । त्यस पुस्तकलाई हङ्गेरियाली भाषा र अन्य भाषाहरुमा समेत अनुवाद गरी प्रचार गरे । १८४१ मा उनी स्वीट्जरल्याण्डको जेनेभा र अन्य क्यान्टनका सहरहरुमा पनि प्रचार गर्दैथिए । सन् १८४३ मा उनी जुरिचमा पुगी ‘मेलमिलाप र स्वतन्त्रताको सुनिश्चितता’ को शीर्षकमा साम्यवादी सिद्धान्तको प्रचार एवं प्रकाशनहरु गर्न लागे । उनमा युवा जोश थियो ।
सन् १८४५ मा ‘पापीहरुलाई शिक्षा’ शीर्षकको पुस्तकमाला नै लेखेर उनले स्वीट्जरल्याण्डमा उधुम मच्चाए । स्वीस अधिकारीहरुबाट उनी पक्राउ परे तथा उनीमाथि क्रान्तिकारी उत्तेजना फैलाएको र ईश्वरको निन्दा गरेको मुद्दा चलाइयो । उनले त्यस पुस्तकमा जिससक्राइष्ट एक कम्युनिष्ट र एक अवैध सन्तान भनी उल्लेख गरेको हुँदा ६ महिनाको जेल सजाय सुनाइयो । त्यसपछि ५ वर्षसम्म स्वीट्जरल्याण्ड आउन नपाउने गरी प्रशिया नै फर्काइए । केही समयपछि उनी हामवर्ग (Hamburg) मा बसे तथा त्यहीबाट उनी बेलायत, ब्रुसेल्स र अमेरिका गए ।
१८४४ मा कार्ल माक्र्सले जर्मन मजदुरहरुलाई ‘प्रभाव पार्ने पहिलो साहित्य’ सम्झेका थिए । माक्र्सले त्यस पुस्तकलाई सैद्धान्तिक र दार्शनिकरुपले लिएका थिए । त्यही समयमा बेलायती मजदुरहरु हरेक विषयलाई आर्थिकरुपमा हेर्थे भने फ्रान्सेली मजदुरहरु विषय वस्तुलाई व्यावहारिक र राजनैतिकरुपले हेर्थे ।
वेट्लिङ्ग ‘पापीहरुलाई शिक्षा’मार्फत समाजमा इसाई धर्मबाट साम्यवादमा पुग्ने सन्देश दिन चाहन्थे र जर्मनीमा १८४८ मा क्रान्ति हुँदा उनी त्यहाँ साम्यवादको प्रचारमा लागे । तर क्रान्तिमा त्यसको कुनै प्रभाव परेन र उनी अमेरिका पुगेर प्रचार कार्यमा लागे ।
क्राइश्चेली धर्मप्रतिको दृष्टिकोण
इसाई धर्मलाई वेट्लिङ्ग दमन, अपव्ययी र उपवासको धर्म होइन बरु स्वतन्त्रता, शिष्टता र मनोरञ्जनको धर्म मान्थे । क्राइष्टलाई उनी स्वतन्त्रताका भविष्यवक्ता मान्थे । इसाई धर्म मान्नेहरुलाई चोरलाई सजाय दिने अधिकार हुन्न किनभने जबसम्म चोरीको अस्तित्व रहन्छ तबसम्म क्राइश्चेली धर्मलाई हामीले अनुकरण गरेको हुनेछैन भनी मान्थे ।
वेट्लिङ्ग ‘न्याय सङघ’ मा सा¥है सक्रिय थिए र एकप्रकारले उनी हस्ती नै थिए । सन् १८४६–४७ को समयमा उनी ३८ वर्षका थिए । ‘न्याय सङ्घ’ मा उनी १० वर्षसम्म सक्रिय रहे । ‘न्याय सङ्घ’ एक प्रकारको अन्तर्राष्ट्रिय कम्युनिष्ट सङ्घ भइसकेको थियो । माक्र्स र एंगेल्स पनि त्यसमा सामेल भए । फ्रान्सेली सरकारमाथि पर्सियाली सरकारको दबाबको कारण माक्र्स ब्रुसेल्स पुगे ।
‘न्याय सङ्घ’ को बैठकमा माक्र्स र एंगेल्सले वेटलिङ्गको तुरुन्तै भौतिक शक्तिको प्रयोग गरी साम्यवाद लागू गर्ने र क्राइश्चेली धर्मअनुसारको ‘स्वर्ग’ खडा गर्नेजस्ता अव्यावहारिक र फितलो सैद्धान्तिक दृष्टिकोणको खण्डन गरे । त्यस सैद्धान्तिक सङ्घर्षमा माक्र्स र एंगेल्सले पुँजीवादी व्यवस्थाविरुद्धको सङ्घर्ष दीर्घकालीन हुने, प्रजातान्त्रिक क्रान्तिको महत्व, समाजवादी क्रान्तिको निम्ति सर्वहारा वर्गको कार्यक्रमको आवश्यकताको तर्क आदिबारे वेट्लिङ्गको जानकारी नयाँ देखियो । कार्ल माक्र्स विश्वविद्यालयबाट सुव्यवस्थित रुपले खारिएका र सुल्झिएका सिद्धान्तकार थिए भने वेट्लिङ्ग स्वअध्ययनबाट अगाडि बढेका र पेशाले एक सूचीकारबाट उठेका उत्साही व्यक्ति थिए ।
सन् १८४८ मा माक्र्स र एंगेल्सको तर्फबाट तयार भएको ‘कम्युनिष्ट घोषणापत्र’ छापेपछि वेट्लिङ्ग बेलायतबाट संरा अमेरिका (न्यूयोर्क) गए ।
अमेरिकामा वेट्लिङ्गको सक्रियता
सन् १८५० मा वेट्लिङ्गले अमेरिकामा साम्यवादको पक्षमा एक मासिक पत्रिकाको प्रकाशन सुरु गरे । वर्षको अन्तसम्ममा त्यस पत्रिकाको ग्राहक र पाठक ४ हजार पुगे । आफ्नो जीवनको उत्तराद्र्धमा उनले आफ्नो गतिविधि प्राविधिक र खगोलशास्त्रीय अध्ययनमा लगाए । सिउने कलको विकासमा उनले ९ वटा आफ्नो ‘स्वअधिकार’ वा पेटेन्ट राइट प्राप्त गरे । तीमध्ये दोहोरो सिलाइ, टाँकको प्वाल र कार्चोपी भर्ने आदि हुन् ।
सन् १८५५ मा ४७ वर्षको उमेरमा वेट्लिङ्गले न्ययोर्कमा एक जर्मन आप्रवासी डोरोचिया कारोलाइन जुइस टोइरसँग विवाह गरे । उनी त्यहाँ सूचीकारको यन्त्र निर्माणमा व्यस्त हुनुका साथै एक विश्व भाषाको विकासमा लागेका थिए ।
अमेरिकाकै लोआ (Lowa) मा कम्युन भनिने जर्मन–अमेरिकी वस्तीको प्रयोगात्मक स्थापनामा उनी सहभागी भए । २७ जनवरी १८७१ मा उनी ६३ वर्षको उमेरमा न्युयोर्क महानगरमा बिते । उनकी पत्नी र ६ जना छोराछोरी थिए ।
२७ जनवरी १८७१ को न्युयोर्क टाइम्सले उनको मृत्युको समाचार दिंदा उनको क्रान्तिकारी विचार, युरोपको कम्युनिष्ट गतिविधिबारे मौन बस्यो । १८४८ मा उनी पेरिसको क्रान्तिमा फर्केको र १८४९ मा पुनः अमेरिका गएको बारे उल्लेख भएन । त्यसबेला उनी ४१ वर्षका थिए ।
वेट्लिङ्गको व्यक्तित्व
वेट्लिङ्ग एक आकर्षक व्यक्ति, क्रान्तिकारी चरित्रका निर्दोष व्यक्तित्व, एक गरिब मजदुर पृष्ठभूमिबाट आएका भ्रमणशील सूचीकार थिए । उनी जनतासँग घनिष्ट सम्बन्ध राख्ने, सुरुका वर्षहरुमा बाइबलको साम्यवादबाट प्रेरित, जीवनभर सक्रिय र दिनको १२ घण्टा काम गर्ने कर्मनिष्ठ व्यक्ति थिए । उनको पुस्तकमा आधुनिक समाजको इतिहास, निजी सम्पत्ति, धन र वर्गीय अन्तरविरोध, योजना, संविधान, कम्युनिष्ट समाजको निर्माणका क्रान्तिकारी खाका र सामुदायिक प्रयत्नहरु उल्लेख छन् । भ्रष्ट पुरोहितहरुको आलोचना, शक्तिको दुरुपयोग, मजदुरहरुमाथि शोषण, अरुमाथि शासन गर्ने होइन बरु सेवा गर्ने हो, साम्यवादबारे परिष्कृत दृष्टिकोण उनका रचनाहरुमा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *