भर्खरै :

सन्दर्भः ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस- जीवनपर्यन्त सिकाइका लागि सामुदायिक सिकाइ केन्द्र

दक्षिण कोरियाको इञ्चोन सहरमा भएको शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित इञ्चोन घोषणा (सन् २०१५) ले समावेशी र समतामुलक, गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने र सबैका लागि जीवनपर्यन्त शिक्षाको अवसर प्रवद्र्धन गर्ने नीति सुनिश्चित गरेको छ । सो नीतिलाई नेपाल सरकारले आत्मसात् गर्न संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हक, धारा ३३ मा रोजगारीसम्बन्धी हकलाई मौलिक हकमा समावेश गरेको छ । २०६८ सालको जनगणनामा नेपालको साक्षरता ६५.९ प्रतिशत छन् भने पुरुष ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत साक्षर छन् । कूल जनसङ्ख्याको ३४.१ प्रतिशत निरक्षर छ भने ३८ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छन् । यो तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने पनि शिक्षाको पहुँच सबै नागरिकमा पु¥याउन धेरै समय लाग्नेछ ।
जीवनपर्यन्त सिकाइ
सिकाइ मानिसको जन्मदेखि मृत्युसम्म चलिरहन्छ । मानिसले जीवनभर आवश्यक पर्ने सबै प्रकारका ज्ञान, सीप, मूल्य तथा बोधको क्षमता हासिल गर्ने गर्दछ । आत्मविश्वासपूर्वक सिर्जनात्मक भएर रमाउँदै तिनको प्रयोग गर्न उत्पे्ररित र सशक्त पार्नका लागि सिकाइ आवश्यक छ । विद्यार्थीले मात्र सिक्छ, कक्षा कोठाभित्रमात्र सिकाइ हुन्छ भन्ने मान्यतालाई जीवनपर्यन्त सिकाइको सिद्धान्तले फराकिलो पारेको छ ।
यस्तो सिकाइ लचिलो, विविधतामा आधारित, सिकारुको अनुकूलतामा हुने भएकाले विषयवस्तु समय र स्थान निश्चित हुने गर्दैन । जीवनपर्यन्त शिक्षा भनेको निरन्तर आफ्ना लागि तथा स्वउत्पे्ररितरुपमा व्यक्तिगत वा पेशागत ज्ञान तथा सीपको खोजी गर्ने माध्यम हो ।
(युनेस्को २०१०)
मानिसले हिजो सिकेका कति कुरा आज उपयोगी नहुनसक्छ भने आज सिकेका कुरा भोलि । त्यसैले मानिसले आफूलाई समयअनुसार आवश्यक पर्ने ज्ञान, सीप हासिल गर्न जीवनभर सिकिरहनु नै जीवनपर्यन्त सिकाइ हो । भर्खरै साक्षर भएको व्यक्तिले आफ्नो व्यावहारिक जीवनका लागि आवश्यक कुरा जस्तै – हिसाबकिताब, साधारण लेखपढ, मोबाइल चलाउनु उसको पहिलो सिकाइ हुन्छ भने परीक्षामा पास भएर भर्खरै नोकरीमा गएको कर्मचारीको सिकाइ कार्यालयको काम र कार्यालय सञ्चालन गर्ने तौरतरिका उसको पहिलो प्राथमिकताको सिकाइ हुन्छ । साक्षरताले नयाँ कुरा जान्ने, सिक्ने र सिकाउन उत्सुक तथा तत्पर गराउँछ ।
जीवनपर्यन्त सिकाइले जीवनमा आइपर्ने हरेक चुनौतीका लागि तयार पार्दछ र सामना गर्ने सामथ्र्य दिन्छ । व्यक्तिगत तथा समाजको उत्पादकत्वमा योगदान पु¥याउन मद्दत गर्छ । युवा उमेरले नै सिक्ने उमेर भएपनि सिकाइ प्रौढहरूका लागि समय बिताउने साधन हुनसक्छ । केही नगरी बस्दा तनाव हुने र अनेक कुरा दिमागमा आउने भएकोले समय बिताउन सिकाइ आवश्यक छ । सिकाइले दिमागलाई तीक्ष्ण बनाउँछ भने स्मरण शक्ति पनि बढाउँछ । केही गरौँ भन्ने भावना हुन्छ । साथै प्रौढ उमेरमा सम्पन्न हुने कुनै कामले खुसी छाउँछ । अझ केही सिकौं र गरौँ भन्ने उत्सुकता जाग्छ । यसले आत्मविश्वासमा वृद्धि भई हरेक जिम्मेवारी पूरा गर्न तयार गर्छ ।
हिजो कापीका पानामा समाचार र लेख लेख्नेहरूसँग आज आधुनिक साधन कम्प्युटर र मोबाइल प्रयोग गर्नेहरूलाई तुलना गर्नसक्छौँ । कम्प्युटर र मोबाइलको प्रयोगले सिकाइको आवश्यकता अझ बोध गराएको छ । जीवनपर्यन्त सिकाइले कक्षा कोठाभन्दा बाहिर कुनै समय र माध्यम वा तरिकाले जीवनभर सिक्ने कुरालाई जोड दिन्छ । विद्यालय शिक्षादेखि नै जीवनपर्यन्त सिकाइको महत्वबोध गराउन पाठ्यक्रममा राख्नु आवश्यक छ । यसले प्रमाणपत्र पाउनका लागिमात्र औपचारिक शिक्षा आर्जन गर्नेहरूको लागि बाटो देखाउँछ । प्रमाणपत्र पाएपछि अफिसको मात्र काम गर्ने जुन सोच छ त्यसमा परिवर्तन ल्याउन सहयोगी बन्छ । प्रमाणपत्र पाएका धेरै युवाहरू अहिले परम्परागत सिल्पी काममा संलग्न हुने चाहना राख्दैनन् । कृषि र पशुपालन त तुच्छ काम भनेर हेला गर्ने सोच छ । यो अहिलेको पुँजीवादी शिक्षाले दिएको ज्ञान हो । यो गलत ज्ञानलाई परिवर्तन गरी मिहनेत वा श्रमलाई माया गर्ने शिक्षा आजको आवश्यकता हो ।
माध्यामिक शिक्षामा प्राविधिक ज्ञान जोड्नुपर्छ । परम्परागत ज्ञान र सीपलाई सम्परीक्षण गरेर स्तरवृद्धि गर्न र त्यसलाई जीवनको आधार बनाउन जीवनपर्यन्त सिकाइ आवश्यक छ । जीवनपर्यन्त सिकाइले वृत्ति विकासका लागि अवसरहरू प्रदान गर्दै दायरा फराकिलो पार्दछ ।
साक्षरता
जीवनपर्यन्त सिकाइका लागि साक्षरता पहिलो खुड्किलो हो । जब मानिस साक्षर हुन्छ तब उसले आफूलाई चाहिने ज्ञान, सीप अभिवृद्धि गर्ने कोसिस गर्छ । साक्षरताले सशक्तिकरणमात्र गर्दैन व्यक्तिको जिविकोपार्जन गर्ने र सामाजिक काममा सहभागिता जनाउन पनि सिकाउँछ । शिक्षा मानिसको मौलिक हक भएकोले नागरिकलाई साक्षर बनाउनु सरकारको दायित्व हो भने नागरिक साक्षर भएपछि उसले कर्तव्य पनि निर्वाह गर्नुपर्छ । साक्षरताले आफ्नो र परिवारको जीवनमा धेरै अवसरहरू सृजना गर्छ । श्रम बजारमा उसको श्रम बिक्छ, आफू र परिवारका लागि चाहिने कुराको खोजी गर्छ, प्राप्तिका लागि सङ्घर्ष गर्छ । अझ महिला साक्षर भएमा सिङ्गो परिवालाई नै बाटो देखाउन सक्छिन् ।
हाम्रो देशको सन्दर्भमा पुरुषभन्दा महिला निरक्षरताको खाडल गहिरो छ । सरकारले हिजोदेखि सञ्चालन गरेको प्रौढ शिक्षा, साक्षरोत्तर, महिला शिक्षाले कामकाजी महिलालाई समेट्न सकेको छैन । यसको कारण भनेको पटके कार्यक्रम हो । कार्यक्रम कामकाजी महिलाको कामको सिजनमा हुने गर्दछ । विगत पन्ध्र वर्ष स्थानीय तहमा जनप्रतिनिधि नहुनुले पनि साक्षरता कार्यान्वयन फितलो भयो । साक्षरता कमजोर हुँदा समाजमा अन्धविश्वासको जरा झाँगिएको छ । भर्खरै दाङमा बुहारीले आफ्नै सासुलाई जङ्गलमा लगेर दाउराले टाउकोमा हिर्काई हत्या गरेको खबर आयो । यसको कारण थियो बोक्सीप्रथा । कसैले भन्दिएछ, ‘‘तेरै घरमा बोक्सी छ ।’’ हामीले छउापडीको समाचार त दिनहुँजसो सुनेकै विषय भयो । हामीकहाँ जकडिएको यस्तो अन्धविश्वासलाई फाल्न साक्षरता पनि एक उपाय हो । यसका लागि समुदायस्तरमा जीवनपर्यन्त सिकाइको थलो बनाउनुपर्छ । यो थलो सामुदायिक सिकाइ केन्द्र हो ।
सामुदायिक सिकाइ केन्द्र
समुदायका मानिसहरू मिलेर समुदायको विकासका लागि समुदायबाटै स्थापना र व्यवस्थापन गर्ने अनौपचारिक प्रकृतिको स्वायत्त, स्वशासित, बहुउद्देश्यीय स्थानीय शैक्षिक संस्था सामुदायिक सिकाइ केन्द्र (Community Learning Centre,CLC) हो । यस संस्थाले स्थानीय तहको सहकार्य र सहयोगमा समुदायको आवश्यकता र चाहनाअनुसारको गतिविधि गर्छ । यसको स्थापनाका लागि शिक्षा ऐनले दिएको अधिकार प्रयोग गरेर सरकारले २०६२ मा निर्देशिका बनाएको छ । कुनैपनि समुदायले सामुदायिक सिकाइ केन्द्र स्थापना गरी सञ्चालन गर्न सरकारको स्वीकृति आवश्यक पर्छ । सरकारले कार्यक्रम र अनुदान पाउने र नपाउने गरी स्वीकृति प्रदान गर्छ । एघारौं पञ्चवर्षीय योजनाले प्रत्येक गाउँविकास समिति क्षेत्रमा एक÷एक वटा र नगरपालिकाको प्रत्येक वडामा एक÷एक वटा सामुदायिक सिकाइ केन्द्र स्थापना गर्ने नीति लिएको छ ।
हालसम्म अनुदान पाउने गरी २०५१ वटा सामुदायिक सिकाइ केन्द्र स्थापना भएका छन् । केन्द्रले एउटा पुस्तकालय सञ्चालन गर्नुपर्छ । पुस्तकालयमा केटाकेटी, युवा प्रौढहरूका लागि आवश्यक पुस्तक हुन्छ । जुन पुस्तकको माध्यमले आफूलाई चाहिने ज्ञान, सीप प्राप्त गर्छन् भने अनौपचारिक माध्यमबाट अनुभव आदान प्रदान गर्दा पनि ज्ञान, सीप वृद्धि हुन्छ । यो गतिविधि गर्ने थलो (मियो) सामुदायिक सिकाइ केन्द्र हो । केन्द्रलाई समुदायस्तरको सीप सिक्ने तालिम केन्द्र बनाउनुपर्छ । जहाँ समुदायको आवश्यकतामा आधारित साना–ठूला तालिमहरू नियमित सञ्चालन होस् ।
समुदायको सिकाइको चाहना के हो, त्यो कहाँबाट प्राप्त हुन्छ, कसरी प्रदान गर्न सकिन्छ, कति रकम र समय लाग्छ आदि विषय सामुदायिक सिकाइ केन्द्रले बताउँछ । सामुदायिक सिकाइ केन्द्र यस्तो थलो हो जहाँ व्यक्ति र समाजको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्नसमेत मद्दत गर्छ । संस्थाको नाम नै सामुदायिक सिकाइ केन्द्र भएकोले यो व्यक्ति र समाजको सिक्ने ठाउँ हो । बच्चाको पहिलो गुरु आमा हो भने व्यक्ति र समुदायको गुरु सामुदायिक सिकाइ केन्द्र हुनुपर्छ । माथि उल्लेख गरेअनुसार जीवनपर्यन्त सिकाइको लागि आवश्यक विषयवस्तुको सङ्कलन, संरक्षण र प्रवोधीकरण गर्ने काममा सामुदायिक सिकाइ केन्द्र लाग्नुपर्छ । यसका लागि सामुदायिक सिकाइ केन्द्रले स्थानीय तहसँगको सहकार्य र सहयोगको खोजी गर्नु आवश्यक छ । सहकार्यका लागि आफूलाई पनि क्षमतावान बनाउनुपर्छ ।
शिक्षा विकासको प्रमुख आधार हो भने शिक्षित समुदाय त्यसका खम्बा हुन् । त्यसैले समुदायका सबैलाई जीवनपर्यन्त शिक्षाको माध्यमबाट प्रशिक्षित गर्नुपर्छ । औपचारिक शिक्षाले समेट्न नसकेका कतिपय जीवनोपयोगी शिक्षा समाजले दिन्छ । संस्था त्यही जीवनोपयोगी शिक्षाको सिकाइ केन्द्र बन्नुपर्छ ।
संविधानले स्थानीय तहलाई साक्षरता र आधारभूत शिक्षाको जिम्मेवारी दिएको छ । विकासको सूचनाको स्रोत स्थानीय तहमा आएको छ । स्थानीय तहले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, वनजङ्गल, यातायात, प्रकोप व्यवस्थापन आदि विषयको सेवाप्रवाह गर्नुपरेको छ । यी विषयवस्तुको सेवाप्रवाहमा समुदायको सहकार्य र सहयोग खोजी हुनुपर्छ । सामुदायिक सिकाइ केन्द्रद्वारा यी विषयमा समुदायको प्रतिनिधित्व गरी स्थानीय तहको सेवाप्रवाहमा सहयोग र सहकार्य गर्न सकिन्छ ।
(लेखक सामुदायिक सिकाई केन्द्र राष्ट्रिय सञ्जाल नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *