भर्खरै :

‘कम्युनिष्ट’ सरकार र मलको हाहाकार

– सुरज सिंह
देशमा नेपाल कम्युनिष्ट पार्टीको ‘कम्युनिष्ट’ सरकार छ । कम्युनिष्ट सरकारले बहुमत कामगरी खाने जनताको हितमा काम गर्ने अपेक्षा देश विदेश सबैतिर गरिन्छ । कम्युनिष्टहरूले मजदुर र किसानहरूको हितका निम्ति नीति निर्णय गर्नेमात्र होइन लागूसमेत गर्दछन् । वर्तमान सरकारले नियतवश नै सही ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पनि दिएको छ । बिहानले दिनको झल्को दिन्छ भनेझैं पाँच वर्ष टिक्ने भनिएको झण्डै दुईतिहाइ बहुमत प्राप्त सरकारको क्रियाकलाप विगत ६ महिनाले सन्तोषजनक देखाएको छैन ।
नारा दिंदैमा समृद्धि आकासबाट झर्ने होइन, काम गर्नुपर्छ, उत्पादन गर्नुपर्छ, व्यापार गर्नुपर्छ र नाफा कमाउनुपर्छ । असारमा बीउ नरोपी कार्तिक–मंसिरमा धानको बाला लह–लह झुल्ने गर्दैन । रोपेरमात्र पुग्दैन मलखाद हाल्नुपर्छ, समय–समयमा गोडमेल गर्नुपर्छ । तर, नेपालमा असार–साउनमै मलखादको हाहाकार भयो । मलखाद आयातको जिम्मा लिएको साल्ट टेडिङ्ग लिमिटेड अर्थ मन्त्रालय÷सरकारले समयमै बजेट नदिएको कारण समयमै मल आयातको अर्डर दिन नसक्दा मल नआएको र हाहाकार भएको तथ्य बताएको छ । बाली लगाउने र हुर्काउने बेला आवश्यक मलखाद उपलब्ध नगराउने तर मंसिरमा उत्पादन वृद्धिको आशा गर्ने नेपालका अर्थविज्ञ र शासकहरूलाई धिकार्नेबाहेक उपाय के छ ? ‘कम्युनिष्ट’ सरकारको शासनको बेला नै यस्तो छ भने यो सरकारबाट जनताले के अपेक्षा गर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *