भर्खरै :

दुई सय वर्ष पुरानो ‘बर्खे नाच’को रौनकता

बेनी, २३ भदौ  ः कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै बर्खेनाच शुरु भएको मानिन्छ ।
खासगरी बेनीमा बसोवास गर्ने नेवार समुदायको अगुवाइमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाइने यसबर्खे नाचले यहाँ जात्राकै रौनक दिने गरेको छ ।
वर्षायाम सकिन लाग्दा यहाँका सडक, चोक र बस्ती संस्कृतिमय बनेका छन् । नेपाल भाषा मंका ः खल ः को मूलआयोजनामा यहाँ बर्खे नाच देखाइने गरे पनि यो नाचले अन्य समुदायमासमेत रौनकता ल्याउने गरेको छ । सूचना प्रविधिको विकासले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा यहाँ बर्खेनाचमा देखिने उत्साह र सहभागिताले भने संस्कृति संरक्षणमा नयाँ पुस्ताको आवश्यकता दर्शाउने गर्छ ।
केहीदशक अघिसम्म बेनीमा देखाइने बर्खे नाच यस क्षेत्रको आसपासमा रहेका ग्रामीण बस्तीका बासिन्दाको लागि समेत मनोरञ्जनको माध्यम बन्ने गरेको थियो । प्रविधिको विकाससँगै केही ओझेलमा पर्न थालेको यो नाचलाई संरक्षण गर्न पुनः यहाँका अगुवा जागरुक बनेका छन् । एक महिनासम्म बर्खेनाच अन्तर्गत विभिन्न नाच देखाउन समय र कलाकार व्यवस्थापनमा चुनौती रहेपनि त्यसलाई सबैको साथ र सहयोगबाट सम्भव तुल्याउँदै आएको नेपाल भाषाः मंकाः खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
‘‘ यो नाच बेनीको इतिहाससँग जोडिएको छ, मौलिक परम्परालाई जीवित राख्नको लागि निरन्तरता आवश्यक छ, त्यसको लागि युवा पुस्ताले लिएको अग्रसरता प्रसंसनीय छ’’–अध्यक्ष श्रेष्ठले भन्नुभयो, “बर्खे नाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रुपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणको लागि अन्य समुदायकोसमेत सहभागिता हुन थालेको हो । यसै साता बर्खेनाच अन्तर्गत प्रदर्शन गरिएको रोपाइँ नाचमा यहाँ बसोवास गर्ने सबै समुदायको पहिचान झल्कने गरी देखाइएको थियो ।
बर्खेनाचमा देखाइने नाचलाई समावेशी बनाउन थालिएसँगै यसप्रति रुचि र रौनक थप बढेको स्थानीयवासी बताउछन् । समावेशी रोपाइँ नृत्यले म्याग्देली कला र संस्कृति संरक्षणमा सबै समुदाय एकताबद्ध भएको सन्देश प्रर्वाह गराएको रोपाइँ नाचको गायनमा सहभागी भएका लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो ।
रोपाइँ नाचमा नेवार समुदायसँगै, मगर, छन्त्याल, ब्राह्मण, क्षेत्री, थकाली, दलित लगायतका जातजातिको सहभागिता गराइएको थियो ।
परम्परागत समाजमा मुखियाको घरमा खेत रोपाइँ गर्न जाँदा रोपारेले धान रोपेको र बाँउसेले कोदालो खन्दै गरेको दृष्यलाई रोपाइँ नाचमा देखाउने गरिन्छ । असारे गीत गाउँदै बजारमा धान रोपाइको झल्को दिने गरी नाच प्रदर्शन गरिएको थियो । विस २०७२ पछि यसपाली रोपाइँ नाच देखाइएको हो । रोपाइँ नाचमा कलाकार धेरै लाग्ने र व्यवस्थापन र खर्च जुटाउन कठिन हुने भएकाले यस्ता नाचलाई हरेक वर्ष देखाउन नसकिएको नेपाल भोषा मंका ः खल ः अन्तर्गतको युवाको समूह ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा यस वर्षलाई म्याग्दी भम्रण वर्षको रुपमा मनाइरहेको सन्दर्भमा यहाँका यस्ता मौलिक र प्राचीन संस्कृति झल्कने संस्कृतिलाई समेत प्रचारप्रसार गर्न सके यसले यहाँको पर्यटन विकासमा सघाउने अपेक्षा गरिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *