भर्खरै :

घाइते आनीलाई काठमाडौँ ल्याइयो

काठमाडौँ, २३ भदौ (रासस) ः आज गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ ।
दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले राससलाई जानकारी दिनुभयो । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनामा चालकसहित सात जना रहेकोमा डोल्माबाहेक छ जनाको मृत्यु भइसकेको छ । आज बिहान गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको थियो ।
हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेको प्रहरी चौकी सामा गाउँ गोरखाले जनाएको छ । प्रहरीका अनुसार हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *