भर्खरै :

बालबालिकाप्रति सकारात्मकता नै बाल दिवसको औचित्य

 हरिसुन्दर सुवाल
हरेक वर्ष भदौ २९ गते सरकारी तथा निजी विद्यालयहरूमा बाल दिवस मनाइन्छ । बाल दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू गरिन्छ । यो गरिमामय तथा रचनात्मक कार्य हो । बालबालिकाहरूले आफ्ना सीप या प्रतिभा देखाउने भरपर्दो अवसर बाल दिवसले जुटाउँदै आएको छ । यसका लागि हप्ता दिन वा महिना दिनदेखि स्कूले बालबालिकाहरू तयारीमा जुटेका हुन्छन् ।
आफ्ना शिक्षक, अभिभावक तथा साथीभाइहरूबाट उनीहरुले आवश्यक सामग्री र सहयोग प्राप्त गर्दछन् । आफ्नो मिहिनेत र प्रतिभाको सम्मानस्वरुप पुरस्कृत हुन्छन् । बालबालिकाहरू अन्य दिनहरूमा जस्तो गृहकार्य, कक्षा कार्य गर्न नपर्ने हुँदा केही बढी उत्साहित र स्वतन्त्र महसुस गर्छन् । आफ्ना प्रस्तुति शैली र स्तरका कारण सम्मानित हुन्छन् । त्यसमाथि खेलकुद गतिविधिहरूमा भाग लिई रमाउन पाउँदाको खुसी बेग्लै हुन्छ । अर्कोतर्फ बाल दिवस मनाउन मार्चपास, प्लेकार्ड, व्यानरका साथ ¥यालीमा सहभागी हुन पाउँदा, सांस्कृतिक कार्यक्रम नृत्य, नाटक र प्रहसनमा आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउँदा कसको मन आनन्दित नहोला । कतिपय अवस्थामा अभिभावकसमेतको उपस्थितिले बाल दिवसमा छुट्टै रौनक थपिएको हुन्छ । आफ्ना नानीहरूले पुरस्कार वा सम्मान पाउँदा अभिभावकहरू खुसी हुनु स्वाभाविक हो । आफ्ना नानीले पनि अरुले जस्तै पुरस्कार नजितेको देख्दा कतिपय अभिभावक आफूले निर्वाह गर्नुपर्ने भूमिका बिर्सेर अर्काको बाल बच्चालाई देखाएर नानीहरूलाई आलोचना गर्ने, अनि घर पुगी नसक्दै बालबालिकाले आफ्नै अभिभावकबाट कुटाइ वा गाली सहनुपर्ने बाध्यता एकातिर छ भने अर्काेतर्फ ती बालबालिकालाई आराम नै गर्न नपाई काममा लगाउने, तिनका इच्छा चाहनालाई बेवास्ता गरी मनलागी गर्ने गराउने जस्ता कार्यले बाल दिवस एक औपचारिकताजस्तो मात्र देखिन्छ ।
आजका बालबालिकाहरू समाजमा बढ्दो आपराधिक प्रवृत्तिका कारण सबभन्दा बढी प्रताडित रहन पुगेका छन् । यसको प्रमाण अखबारमा प्रकाशित बालबालिका अपहरण, हत्या, यौनहिंसा, बलात्कारजस्तो विभिन्न घटनासम्बन्धी समाचारबाट सहजै थाहा हुन्छ । त्यसमाथि करणी, बलात्कारजस्तो जघन्य अपराधका घटनाहरूको अनेक विरोध र भत्र्सना भए पनि बारम्बार दोहोरिंरहँदा नेपालमा बालबालिकाप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको वास्तविकतालाई नकार्न सकिंदैन । बाल अधिकार तथा मानव अधिकार संरक्षणका कुरा केबल संविधानका धारा उपधारामै सीमित छन् । बाल अधिकारबारे मीठो भाषण गर्ने, अनेकखाले आश्वासन दिने नेता, मन्त्री, सांसद, उच्चाधिकारी वा विशिष्ट वर्गले पनि वर्तमानमा बालबालिकाहरूको हक हितको सुनिश्चितता गर्न सकिरहेका छैनन् । जिम्मेवार निकाय, व्यक्ति, अधिकारीको यस्ता विविध असामाजिक क्रियाकलापहरूमा संलग्नताले गर्दा समाज सधैं भय र त्रासबाट गुज्रिरहेको आभाष हुन्छ । त्यतिमात्र नभई समाजलाई सुशासन दिन नियुक्ति भएका अधिकारी जवानहरूकै कुकृत्यले गर्दा जनताले प्रहरी प्रशासनमाथि नै विश्वास गर्न छाड्ने अवस्था सिर्जना भएको छ ।
२१ औं शताब्दीमा पुगिसक्दा पनि मानिसहरू लोभ, लालच, इष्र्या, द्वेषबाट मुक्त हुन सकेका छैनन् । त्यसैले होला, अपरिचितभन्दा आफन्तलगायत चिनजानका व्यक्तिहरू बढी बालबालिका अपहरण गर्ने, बालश्रम शोषण वा बलात्कारका दोषी भेटिएको अध्ययनले बताउँछ । सम्भवतः समाजमा यस्ता अप्रिय घटनाहरू घटनाका कारणहरूमध्ये विद्यालयमा नैतिक शिक्षाको कमी हुनु, शिक्षाको उपलब्धिको रुपमा अङ्क र ग्रेडलाई प्राथमिकता दिइनु, कानुनको अक्षरशः पालना नहुनु, धन आर्जन र भौतिक सम्पन्नतालाई नै जोड दिइनु, अस्वस्थ प्रतिस्पर्धा गर्नु, हैसियतभन्दा धेरै अपेक्षाहरू पाल्नु आदि हुनसक्छन् । एकातिर अशिक्षा, चरम गरिबी, बेरोजगारी समस्याको कारण बालबालिकाहरूले उचित शैक्षिक वातावरण पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रुढीवादी अन्धविश्वास तथा नकारात्मक सोचका कारण त्यस्ता गलत तत्वहरूको शिकार भइरहेका छन् । यस्तो स्थितिमा बालबालिकाको हक अधिकार सुरक्षित रहला कसरी भन्न सकिन्छ ? बाल अधिकार संरक्षण कसरी सुनिश्चित हुन्छ भन्नेजस्ता प्रश्नहरू अझै अनुत्तरित रहेका छन् । तसर्थ बालबालिकाहरूप्रति सकारात्मक हुनु नै बाल दिवसको औचित्य भएको हुनाले बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा केन्द्रित भई ठोस नीति तथा कार्यक्रमहरू व्यवहारमा लागू गर्न सक्नुपर्दछ । बालबालिकाहरूको मनोविज्ञान, संवेग र सम्भावना बुझेर व्यवहार गर्न सिक्ने हो भने तिनीहरूको सर्वाङ्गीण विकास हुने पक्का छ । बालबालिकालाई बाल अधिकारका साथै परिवार, समाजप्रति आफ्नो कर्तब्यबारे बोध गराउन अनिवार्य छ । कोर्सबुकको ज्ञानबाहेक नागरिकको कर्तव्य, नैतिकता, धैर्यता र इमानदारिताजस्ता आदर्श व्यक्तित्व निर्माणका लागि अनिवार्य गुणहरूबारे शिक्षित तुल्याउन सके भोलिको समाज अवश्य आशातीतरुपमा राम्रो हुने विश्वास गर्न सकिन्छ । बालबालिकाहरूसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभिसन्धिहरू र कानुनी व्यवस्थालाई शतप्रतिशत व्यवहारमा लागू गर्ने प्रतिबद्धता सरोकारवाला सबै पक्षले गर्न अपरिहार्य छ । शिक्षाको पहुँचबाट टाढिएका सबै बालबालिकाहरूलाई समान अवसर सिर्जना गर्नु राज्यको दायित्व हो । सरकारले बाल अधिकार संरक्षण र संवद्र्धनका लागि बनेका योजनाहरू प््राभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *