भर्खरै :

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

वालिङ, १० असोज  ः यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आउनुभएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आउनुभएको हो ।
झण्डै चार वर्ष अघि पाँच जनाले सामूहिकरूपमा सञ्चालन गरेको पञ्चमुखी कृषि फार्म अहिले डुम्रे एक्लैले सञ्चालन गर्दै आउनुभएको छ । भौतिक संरचना निर्माण तथा गाई भैँसी खरीदका लागि हालसम्म रू एक करोड ३० लाख लगानी रहेको फार्म सञ्चालक डुम्रेले बताउनुभयो । युवा व्यवसायी डुम्रेको फार्ममा हाल साना तथा ठूला गरी ८० वटा पशु रहेका छन् ।
“फार्ममा २२ वटा मुर्रा, आठ स्थानीय जातका भैँसी, ११ जर्सी र हल्याण्ड जातका गाई दुहुना छन्” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “अहिले फार्ममा दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ ।”
यहाँ उत्पादन भएको दूध बिक्रीका लागि बजारसम्म लैजान खरीद गरिएको सवारी साधनमार्फत दैनिकरूपमा वालिङ तथा गल्याङ बजारमा लैजाने गरिएको छ ।
“मैले साउदीमा रहँदा पनि यस्तै पशुपालन गर्ने फार्ममा काम गरेको हुँ त्यहाँ रहँदा सिकेका सीप यहाँ आएर आफ्नै ठाउँमा गरेको छु” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “दूधका अलावा कसैले पनिर, घ्यू, दही, नौनीको माग गर्नुभएमा पनि फार्मबाटै उपलब्ध गराउने गरेको छु ।”
फार्मबाट मासिक रू पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको छ भने खर्च औसतमा तीन लाख ३५ हजार हुँदा मासिकरूपमा डेढ लाख बढी बचत हुने गरेको फार्म सञ्चालक डुम्रे बताउनुहुन्छ । डेढ सय रोपनीमध्ये २० रोपनी आफ्नै जग्गा र अरू जग्गा भाडामा लिएर पशुपालन गर्दै आउनुभएका डुम्रेले हाल १० जनालाई रोजगारीसमेत दिनुभएको छ ।
“साउदीमा सिकेको सीप पूरै यहाँ कार्यान्वयन गर्न सकिरहेको छैन” युवा व्यवसायी डुम्रेले भन्नुभयो, “गोबर र पिसाबबाट ग्यास निकालेर बिक्री गर्ने योजना छ तर लगानी अझै थप्नुपर्छ के गर्नु कृषि भाषणको विषय भयो बैंकले सस्तो ब्याजदरमा ऋण दिँदैनन् ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *