भर्खरै :

व्यापार युद्धको बन्दुक पड्किसकेको छ

हौसला
विश्व व्यापार यतिखेर खतरनाक मोडमा छ । कसैले स्वीकारे पनि या नस्वीकारे पनि वर्तमान अवस्था व्यापार युद्धकै हो । व्यापार युद्धको बन्दुक पड्किसकेको छ ।
पछिल्लो छ महिनामा व्यापारमा प्रतिबन्ध अर्र्थात् रोकतोकका पहलहरू उल्लेख्य रुपमै बढेको विश्व व्यापार सङ्गठनको तथ्याङ्कले बताउँछ । सोही अवधिमा आयात सहजीकरणका कदमहरूका विषयमा पनि तथ्याङ्क सङ्कलन गरिएको थियो तर आयातले ओगटेको व्यापार मूल्य घटिरहेको अध्ययनले देखाउँछ । यसरी अन्तर्राष्ट्रिय व्यापार आयात कमजोर हुनु र व्यापारमा बाधा अड््चन खडा गर्ने तत्वहरू निरन्तर तीव्र ढङ्गले बढ्दै जानु निश्चय पनि खतराको सङ्केत हो । यो विषयमा विश्व समुदाय नै संवेदनशील रहनुपर्ने आवश्यकता छ ।
यो अवस्था अत्यन्त गम्भीर छ । कुनै देशले व्यापार युद्ध छेड्छ र अर्को देशले त्यसलाई प्रतिकार गर्छ भने त्यो अस्वीकार्य हुन्न । पारस्परिक व्यापार छेकबारको विषय त्यसकारण पनि नयाँ होइन, सामान्य हो । यो अवस्था निरन्तर लम्बिइँदै गयो भने विश्वमा निकै ठूलो आर्थिक प्रभाव पर्नेछ । रोजगारीको क्षेत्रमा ठूलो चुनौती खडा हुनेछ । सम्पूर्ण देशको आर्थिक वृद्धिमा नकारात्मक असर पर्नेछ । गरिब देशहरूलाई अझ बढी यसले बेजोडसँग हिर्काउनेछ । त्यसकारण पनि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले यस्ता मुद्दाहरू सल्टाउन जिम्मेवारीपूर्वक अघि बढ्नुपर्दछ ।
विश्व व्यापार सङ्गठनका महानिर्देशक रोवर्टो अजेभेदो (Roberto Azevedo) भन्छन् – ‘विभिन्न देशका सरकारहरू र नेतृत्वकर्ताहरूसँग म निरन्तर कुराकानी र परामर्श आदानप्रदानमा छु । वार्ताको लागि पहल गरिरहेको छु भने वर्तमान अवस्थाले आँधीबेहरीको रुप नलेओस् भनी थुप्रै उपायहरूको खोजी गरिरहेको छु । तर त्यसको लागि बृहत् र ठूलो सम्पर्कको आवश्यकताबोध भयो ।’ नागरिक समाज, संसद, व्यापारीहरू, उद्योगीहरू, विषय विज्ञहरूको समूह र सञ्चारमाध्यमसम्म वर्तमान अवस्थाको चुरो कुरा पु¥याई सम्भावित जोखिमका विषयमा सावधान रहन आह्वान गरियो ।
व्यापारप्रति लगाव भएका र व्यापारलाई वस्तुहरूको उपलब्धताको प्रमुख शक्ति मान्ने जो कोहीसँग अजेभेदोले सम्पर्क बढाएका छन् । विश्व व्यापार नियमहरू आर्थिक स्थिरता र समृद्धिका लागि महत्वपूर्ण आधार हुन् भन्ने विषयमा उनले स्पष्ट पार्दै छन् । व्यापार युद्धलाई चुपचाप हेरेरै मात्र बस्नु भनेको दुर्घटना निम्त्याउनु नै होभन्दा अतिशयुक्ति नहोला ।
केही प्रगतिका सङ्केतहरू भने देखिन थालेका छन् । मानिसहरूले व्यापार युद्ध विरुद्ध आवाज उठाउन सुरु गरेका छन् । व्यापारका नेतृत्वकर्ताहरू र सङ्घसंस्थाहरूले सरकारहरूसँग व्यापारका नयाँ अवरोधहरू पन्छाउँदै अघि बढ्न आग्रह गरिरहेका छन् । व्यापार युद्धलाई चर्काउन नदिन वार्ता र छलफलको माध्यमबाट समस्याको समाधान खोज्न सरकारहरूलाई दबाब दिइरहेका छन् । व्यापार युद्धलाई फराकिलो ढङ्गले बुझ्न र व्याख्या गर्न ढिलाइ गर्न हुन्न । वास्तवमा उच्च करको अर्थ उच्च मूल्य र कम ज्यालाको अवस्था हो । उच्च करका कारण लगानीकर्ताहरूले लगानी गर्न जोखिमको अनुभूति गर्छन् र विस्तारै लगानी घटाउँदै लग्छन् अर्थात् लगानी गर्न पछि हट्छन् । यसको प्रत्यक्ष असर श्रमिकहरूमा पर्छ । मजदुरहरूले आप्mनो हातमुख जोड्न काम पनि गुमाउँछन् । यो अवस्था सिर्जना हुन नदिन विश्व व्यापार सङ्गठनले सम्पूर्ण देशहरूको संलग्नता आवश्यक रहेको बताउँदै सङ्घको अन्तर्राष्ट्रिय व्यापार अनुशासन पालना गर्न आह्वान गरिरहेको छ । विश्व व्यापार सङ्गठन व्यापार व्यवस्थालाई सुधार गर्दै बलियो बनाउन चाहन्छ । यसले विश्व व्यापारमा हालै देखिएको मन्दीको सामना गर्न र तनावहरू रोक्न सहयोग गर्छ ।
विश्व व्यापार सङ्गठनलाई बलियो बनाउने पहल आजमात्र गरिएको होइन । यो पहिलेदेखिको सिलसिला हो । व्यापार सहजीकरण सम्झौता, कृषि निर्यात सहुलियतको उन्मूलन र सूचना प्रविधि सम्झौताको विस्तारजस्ता केही महत्वपूर्ण सम्झौताहरू पछिल्ला केही वर्षहरूमा विश्व व्यापार सङ्गठनले गरेको छ । आजको अर्थतन्त्रका लागि यस्ता कार्यहरूले ठूलो महत्व राख्दछ, त्यसकारण निरन्तरता आवश्यक छ । यसको छलफल आर्थिक वृद्धि र विकासका लागि अनिवार्य पनि छ ।
यो प्रगतिबाहेक धेरैले सुधारको विषयमा व्यापक र स्पष्ट बहसको आवश्यकता महसुस गरेको छ । छलफल चलिरहेकै छ, नयाँ–नयाँ विचार पनि देखापर्दैछ । तर कुन क्षेत्रलाई महत्वका साथ अघि बढाउने र कुन क्षेत्र आवश्यक छ भन्ने प्रश्न भने टड्कारो उठेको छ । अहिलेको आवश्यकता भनेको विश्व व्यापार प्रणालीलाई सुधार गर्न विद्यमान सम्पूर्ण शक्तिलाई पुनः दोब्बर बनाउनु हो । परिवर्तित विश्व अर्थतन्त्रका चुनौतीहरू र सदस्य राष्ट्रहरूप्रति जिम्मेवार बन्नु विश्व व्यापार सङ्गठनको कर्तव्य हो । यसमा कुनै शङ्का छैन ।
हाल विश्व व्यापार सङ्गठनमा सदस्य देशहरू व्यापार असमझदारी र खतरा सुल्झाउनतिर केन्द्रित देखिन्छन् । विश्व व्यापार सङ्गठनमा विश्वका १६४ अर्थतन्त्र अर्थात् देशहरूले सदस्यता लिएका छन् । यसले विश्व व्यापार र अर्थतन्त्रको ९८ प्रतिशत भाग ओगट्छ । यी सम्पूर्ण सदस्यहरूलाई यतिबेला विश्व व्यापार प्रणालीमा देखिएको विवादले सताएको छ ।
विश्व व्यापार सङ्गठन एउटा यस्तो मञ्च हो जहाँ देशहरूले एक अर्काको समस्या समाधानका निम्ति सुझाउँछ र व्यापार असमझदारी अर्थात् विवादहरूले निम्त्याउन सक्ने गम्भीर टकरावहरूलाई बढ्न दिंदैन । विश्व आर्थिक सुशासनको लागि विश्व व्यापार सङ्गठन एक आधारभूत खम्बा होभन्दा फरक नपर्ला । कति विवादहरू त जटिल अवस्थामा नपुग्दै सल्टाइएका पनि छन् कति भने मुद्दाको चरणसम्म पार गरी नियन्त्रणमा आएका छन् । विवाद सुल्झाउने कार्य कठिन र जटिल भए पनि सङ्गठनले प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्न खोजिरहेकै छ ।
संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको नियम नै उल्लङ्घन गरेपछि सदस्य राष्ट्रहरूले प्रश्न तेस्र्याउनु स्वाभाविक हो । अहिले विवादका मुद्दाहरू सम्हाल्ने निर्णयकर्ताहरूको टोली र जाँचबुझ टोली दुवै सुसाएको अवस्था छ । यद्यपि कानुनी निर्णयकर्ताहरू भने व्यापार सहजीकरणका लागि न्यूनत्तम मापदण्ड तोक्ने अन्तिम तयारीमा रहेको बताइएको छ । विश्व व्यापार सङ्गठनका सदस्यहरू विश्व व्यापार स्थायित्व र विकासका लागि वर्तमान व्यापार असमझदारी हल गर्न आम्नेसाम्ने बस्न तयार छन् । वर्तमान गतिरोध अन्त्यका लागि सम्पूर्ण क्षेत्रको संलग्नता र प्रतिबद्धता वास्तवमै आवश्यक देखिन्छ ।
यही परिस्थितिमा विश्व व्यापार सङ्गठनको आगामी कार्यदिशाबारे र यसको सुधारका लागि व्यापक छलफल अनिवार्य छ । विश्व अर्थतन्त्रलाई एक अर्कासँग जोड्न यो मञ्चको व्यवस्थित सुधार महत्वपूर्ण मुद्दा हो । यसको औचित्यमाथि भएका प्रहारहरूले अनिश्चित भविष्य, चर्को व्यापार युद्ध, न्यून आर्थिक वृद्धि, न्यून ज्याला र रोजगारीको अभाव जताततै चुलिइँदै जाने सङ्केत गर्छ ।
दुवै गरिब र शक्तिशाली देशहरूले विश्व व्यापार सहकार्य र साझेदारीलाई अझ बलियो बनाउन एकताबद्ध हुन आवश्यक छ । सम्पूर्ण व्यापार थिचोमिचोको निम्ति लड्न एकताबद्ध शक्ति अपरिहार्य छ र सम्पूर्ण देशहरूको साझा चाहना र आवश्यकता पनि यही हो ।
चाइना दैनिक, ९ अगस्ट २०१८
China Daily, August 9, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *