भर्खरै :

सपनाको पोको बाँड्न खप्पिस छन् नेता दाहाल

सत्तारुढ दलका नेताहरू अझै सपनाको पोको बाँड्न पछि परेका छैनन् । नयाँ वर्षअघि नै काठमाडौं उपत्यकालाई विकासको नयाँ चरणमा पु¥याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको दाबी जनतालाई आश्वस्त पार्ने अर्को मेसो बनेको छ । अबदेखि सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने भनी सुर कसेका दाहाल झूटको खेती गर्ने, आश्वासन बाँड्ने, भावनामा बगेर बोल्ने नेतामा पर्छन् । उनी एक नम्बरका अवसरवादी, एक नम्बरका क्रमभङ्ग गर्नेमात्र होइन झूट बोलेर सबभन्दा बढी माफी माग्ने नेता पनि उनै हुन् । सरकारको कामको नतिजा केही दिनमा दिने उनको वाचा बोलीमा अर्को क्रमभङ्ग त हो, तर व्यवहारमा के हो हेर्नै बाँकी छ । प्रम केपी ओली पनि त्यस्तै पात्र हुन् ।
नेपालीलाई सुखी बनाउने, समृद्ध नेपाल बनाउने, सुशासन, विधिको शासन ल्याउने र भ्रष्टाचार अन्त्य गर्ने काम बोलेर सम्भव छैन । दलका नेताहरूको मन शुद्ध नभएसम्म, दलले सही सिद्धान्त र विचारको प्रतिनिधित्व नगरेसम्म नेपाल र नेपाली जनताले सन्तोषको सास फेर्न पाउने छैनन् । दल, नेता र कार्यकर्ताको माग सुख सुविधा खोज्ने, राज्यकोषमा रजाइँ गर्ने सत्तारुढ दलका नेताहरूले देश र जनताको हित हेर्दैनन्, बहुमत जनताको पक्षमा काम गर्दैनन् ।
आश्वासन बाँड्ने तर पूरा नगर्ने सत्तारुढ दलका नेताहरूको प्रवृत्तिमा कुनै सुधार भएको छैन । पुँजीवादी व्यवस्थाका शासकहरूले जतिसुकै सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्य गर्ने फुके पनि त्यो सम्भव छैन । देशभरि फैलेको, समाजमा गाँजेर रहेको भ्रष्टाचार वर्ष दिनमा अन्त्य गर्ने नेता दाहालको वाचा कर्कलाको पानी झैं व्यर्थ नहुनु कसरी !
केपी ओलीको नेतृत्वमा रहेको सरकार ढालेर आफ्नो नेतृत्वको सरकार छिट्टै बन्न चाहने नेता दाहाल र निर्वाचनमा हारेको एक वर्षपछि फेरि संसदमा पुगेर कुनै मन्त्री बन्नैपर्ने नेता वामदेव गौतमको चाहना के पदमुखी होइन ? पालैपालो प्रधानमन्त्री हुने सहमति भएको विचार के नेता दाहालले सार्वजनिक गरेका होइनन् ? एमाले र माओवादी–केन्द्रका सूत्रधार वामदेव गौतम संसदमा अपरिहार्य छ भनेर के वामदेवले भनेका होइनन् ? स्पष्ट छ यी दुई नेताको अभिव्यक्तिमा सत्तालोलुपको गन्ध छ । के सुखी नेपाली र समृद्ध नेपाल बनाउन नेता दाहाल र गौतम नभई हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *