भर्खरै :

शक्तिलाई व्यवस्थाको सीमाभित्र थुनिराखौं

सि चिन फिङ
सबै पार्टी सदस्यहरूले चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं राष्ट्रिय महाधिवेशनले बनाएका जन–उपकारी योजनाअनुरुप काम गर्नुपर्छ, अझ बढी वैज्ञानिक र प्रभावकारी किसिमले भ्रष्टाचारका विरुद्ध लड्नु र त्यसलाई रोक्नुपर्छ र पार्टीका कामलाई सुधार गर्ने प्रयत्नका साथ दृढतापूर्वक अगाडि बढ्नुपर्छ, इमानदारीलाई कायम राख्नुपर्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल पारेर उखेल्नुपर्छ । भ्रष्टाचारविरुद्धको लडाइँमा हामीले तङ स्याओफिङ सिद्धान्तका ‘तीन प्रतिनिधिमूलक महत्वपूर्ण विचार र ‘विकाससम्बन्धी वैज्ञानिक दृष्टिकोणलाई मार्गदर्शनका रुपमा अनुसरण गर्नुपर्छ र एकीकृत पद्धतिलाई अवलम्बन गर्दै खराब काम गर्नेलाई दण्डित गर्नुपर्छ र भ्रष्टाचार रोकथाममा विशेष जोड दिँदै यस कामलाई सुनिश्चित गर्नुपर्छ ।
यदि हामीले दुइटा शताब्दी लक्ष्यसहित, १८ औं राष्ट्रिय महाधिवेशनले निर्धारण गरेका लक्ष्य र गर्नुपर्ने कामलाई पूरा गर्ने हो भने र राष्ट्रको महान् नवीकरणको चिनियाँ सपनालाई अनुभूत गर्ने हो भने हामीले हाम्रो पार्टीलाई दह्रो बनाउनुपर्छ । पार्टीका क्रियाकलापमा सुधार, जन–सहभागितामा विस्तार र भ्रष्टाचारविरुद्धको लडाइँ पार्टी निर्माणको मार्गका महत्वपूर्ण कार्य हुन् । हामी शासनमा शुद्ध र इमानदार रह्यौं र निष्पक्ष रुपमा शक्तिको सदुपयोग ग¥यौं भनेमात्र हामीले आम मानिसको विश्वास जित्न र सहयोग प्राप्त गर्नसक्छौं ।
सुधार र खुला गर्ने नीति प्रारम्भ भएपछि विगत तीस वर्षको समयावधिमा, पार्टीका दोस्रो र तेस्रो केन्द्रीय नेतृत्व तङ स्याओफिङ र चियाङ चमिनले उहाँहरूको कार्यकालको महत्वपूर्ण समयमा र हु चिन्थाओ महासचिवका रुपमा रहेको समयमा पार्टीको केन्द्रीय समितिले पार्टीका कामलाई सुधार गर्ने कार्यमा दृढतापूर्वक लगेर आपसी मेलमिलापलाई सुदृढ बनाउने र भ्रष्टाचाविरुद्धसित लड्ने कार्यमा लागिरहने काम भयो । उहाँहरुले सुस्पष्ट धारणा राख्नुभयो, त्यसका विरुद्ध प्रभावकारी कदम चाल्नुभयो र उल्लेखनीय उपलब्धि प्राप्त गर्नुभयो । तिनै कुराहरूले पार्टीको समुन्नत स्वरुप र स्वच्छता विकास गर्ने क्रममा महत्वपूर्ण भूमिका खेलेका छन् र पार्टीको नेतृत्वलाई सुधार र बहस खुला गर्ने प्रयास र समाजवादी आधुनिकताका लागि प्रेरणा प्रदान गर्न बलियो सुनिश्चितता प्रदान गरेका छन् ।
हाम्रो पार्टी समग्रमा सबल पार्टी हो । तापनि हामीहरू के कुरामा सचेत हुनुपर्छ भने कुनै क्षेत्रहरू अहिलेसम्म पनि दुष्कर्म र भ्रष्टाचारको जोखिममा छन् । पार्टी अनुशासन र राज्यका कानुनहरूको उल्लङ्घनका प्रमुख घटनाहरूले समाजमा गम्भीर प्रकारका नकारात्मक असर पारिरहेका छन् । भ्रष्टाचार विरुद्धको लडाइँ एउटा गम्भीर चुनौती बनेको छ र जनता धेरै क्षेत्रमा हाम्रा कामबाट असन्तुष्ट छन् । पार्टीका क्रियाकलापलाई सुधार गर्ने दीर्घकालीन, जटिल र कठिन कार्यको सामना गर्नुपरेको समयमा सहकार्यलाई अगाडि बढाउँदै र भ्रष्टाचारसित लड्दै हामीले भ्रष्टाचारविरुद्धको हाम्रो प्रयासलाई सुरक्षित गर्नुपर्दछ र भ्रष्टाचार र अधोगतिविरुद्ध सधैँ सचेत रहनुपर्दछ । भ्रष्टाचारीविरुद्धको लडाइँमा निरन्तर जोड दिनु र दीर्घकालीन प्रतिबद्धता जाहेर गर्नु मूल कुरा हो । भ्रष्टाचारसम्बन्धी सबै घटनाहरूमा छानबिन भएको छ र कानुनी रुपमा मुद्दा अगाडि बढाइएको छ भन्ने कुरा सुनिश्चित हुनुपर्दछ र अनुचित फाइदाका लागि गरिएका सर्ब उदाहरणमाथि छानबिन गर्नुपर्छ । भ्रष्टाचारको खेती गर्ने आधारहरूलाई हटाउन लगातार कदम चालेर जनताको विश्वास जित्नका लागि भ्रष्टाचारविरुद्धको लडाइँमा वास्तविक प्रगति गरेर हामीले हाम्रो सङ्कल्पलाई सुदृढ पार्नुपर्छ ।
हाम्रो पार्टी क्रान्तिकारी आदर्शहरू र कठोर अनुशासनमा आधारित स·ठन भएको माक्र्सवादी पार्टी हो । हाम्रो पार्टीका लागि यो सधैं राम्रो परम्परा र अद्वितीय प्रकारको लाभदायक कुरा भएको छ । स्थिति जति धेरै जटिल भयो र पार्टीले जति धेरै बोझिलो कार्यको सामना गर्नुप¥यो, हामीले अनुशासनलाई त्यति नै धेरै बलियो बनाउनुपर्छ र पार्टीभित्रको एकतालाई सुरक्षित राख्नुपर्छ । यस किसिमले हामी दृढताको सवालमा सम्पूर्ण पार्टी एक ढिक्का छ र काम र प्रगतिमा एकै ठाउँमा खडा भएको छ भन्ने कुरा सुनिश्चित गर्नसक्छौं । पार्टीलाई कडा अनुशासनमा राखेर सञ्चालन गर्न सर्वप्रथम हामीले कडा राजनीतिक अनुशासनलाई लागू गर्नुपर्छ, जसको प्रतिफल पार्टीलाई निरीक्षण गर्ने र पार्टीके विधानलाई सुरक्षित गर्ने कामबाट सुरु हुन्छ । पार्टीको राजनीतिक अनुशासनको अनुगमनको सारतत्व पार्टीको नेतृत्वप्रति, आधारभूत सिद्धान्तप्रति, आधारभूत कार्यक्रमप्रति, आधारभूत अनुभवप्रति र आधारभूत आवश्यकप्रति निष्ठावान् रहनु, पार्टीको केन्द्रीय समितिको नीतिप्रति निष्ठावान् हुनु र यसको अधिकारलाई सचेततापूर्वक सुरक्षा गर्नु हो । सबै पार्टी सदस्यहरूले बौद्धिक र राजनीतिक रुपमा र त्यसरी नै, पार्टीको आधारभूत सिद्धान्त, मार्गनिर्देशन, नियम तथा नीतिसम्बन्धी उनीहरूका व्यवहारमा र समग्रमा महत्वपूर्ण कुराहरूमा उनीहरूले पार्टीको केन्द्रीय समितिको नीतिअनुरुप आफूलाई राख्नुपर्दछ । पार्टीका स·ठनहरू र सबै तहका राष्ट्रसेवकहरूले विषयहरूलाई समग्रमा हेर्ने दृष्टिकोणको विकास गर्नुपर्छ, केन्द्रीय नेतृत्वको आदेश र नीतिहरू मिहीन रुपमा कार्यान्वयन गर्ने सुनिश्चितता र स्थानीय कार्य र विकासका सबै योजनाहरू केन्द्रीय नेतृत्वको मार्गनिर्देशनमा आधारित छन् भन्ने कुरा सुनिश्चित गर्दै सुस्पष्ट आधारमा आधारित नौलो परिवर्तनउन्मुख जोस जाँगरका साथ काम गर्ने दृष्टिकोणको विकास गर्नुपर्दछ । हामीहरूले विभागीय र स्थानीय संरक्षणवाद र सङ्कीर्णतावादलाई रोक्नुपर्छ वा आवश्यक परेको खण्डमा, शुद्धीकरण गर्नुपर्छ । स्थानीयले केन्द्रीय नीतिलाई विस्थापित गर्ने, सरकारी आदेश र निषेधहरू अवज्ञा गर्ने, केन्द्रीय नेतृत्वको निर्णय र योजनाको अगतिलो र आंशिक रुपमा कार्यान्वयन वा लापरबाही वा अनिवार्य प्रकारको करकाप वा सम्झौता गर्ने कामलाई कहिल्यै पनि अनुमति दिनुहुँदैन ।
प्रत्येक पार्टी सदस्यले, खासगरी नेतृत्वमा रहेका अधिकारीहरूले, पार्टी विभानबारेको उसको बुझाइलाई वृद्धि गर्नुपर्छ, विधानलाई वचन र कर्म दुवैमा अवलोकन गर्नुपर्छ र सबै परिस्थितिमा दृढ राजनीतिक विश्वास, राजनीतिक भाव र राजनीतिक अनुकूलन कायम राख्नुपर्छ । सबै तहका पार्टी सङ्गठनहरूले पार्टीको राजनीतिक अअुशासनलाई कार्यान्वयन र रक्षा गर्न अग्रसरता लिनुपर्छ र यसलाई अनुगमन गर्नका लागि पार्टी सदस्यहरूको सचेतनालाई माथि उठाउनुपर्छ । सबै तहका पार्टीको अनुशासन हेर्न आयोगले पार्टीको राजनीतिक अनुशासनसित नियम पालनको सुनिश्चितालाई प्राथमिकता दिनुपर्छ र राजनीतिक अनुशासनकोे कार्यान्वयनका लागि अवलोकन र निरीक्षणलाई सुदृढ बनाउनुपर्छ ।
काम गर्ने तरिकासम्बन्धी प्रश्न कुनै पनि अर्थमा सानो होइन । यदि भ्रष्टाचारलाई सुधारिएन र अनियन्त्रित रुपमा फैलन दिइयो भने यसले हाम्रो पार्टी र जनताबीचमा एउटा अदृश्य पर्खाल निर्माण गर्नेछ । त्यसको नतिजास्वरुप हाम्रो पार्टीले आफ्नो आधार, जीवन सञ्चालन गर्ने तत्व र तागत गुमाउनेछ । कार्यशैली सुधारका सम्बन्धमा, हरेक प्रयासको मूल्य रहन्छ तर कार्यान्वयन गर्दै जाने कुरा र कडा सङ्घर्षको भावनालाई अरु मजबुत बनाउने कुरा आधारभूत रुपमा महत्वपूर्ण छ । हाम्रो कार्यशैलीमा सुधार ल्याउने काम परिश्रमपूर्ण छ । “आठ नियमहरू”ले हामीलाई एउटा प्रारम्भविन्दु प्रदान गर्दछन् र हाम्रो काम गर्ने तरिकामा सुधार ल्याउन आहवान गर्दछन् । तिनीहरू सबैभन्दा माथिल्लो तहका होइनन्, न त हाम्रा अन्तिम लक्ष्य नै हुन्, बरु ती त हाम्रो कार्यशैली सुधार गर्ने पहिलो पाइलो हुनुका साथै कम्युनिष्टहरूका आधारभूत आवश्यकता हुन् । जस्तो कि एउटा भनाइ छ, “जो लगाम लगाएर शासन गर्नमा सिपालु छ उसले सर्वप्रथम आफैँलाई लगाम लगाउनुपर्छ” । (स्युन युए ः ऐनाका रुपमा इतिहास (सन चियान), सुन यु (१४८–२०९) एकजना दार्शनिक र पूर्वी हान वंशका इतिहासकार थिए ।) सबै तहका अधिकारीहरूले उदाहरणीय किसिमले काम गर्नुपर्छ, उनीहरूका क्रियाकलापमा सुधार ल्याउन अग्रसर हुनुपर्छ र आफ्ना वचनबद्धताहरूलाई पूरा गर्नुपर्दछ । हामीले हाम्रो कामका सबै पक्षहरूमा मितव्ययितालाई व्यवहारमा ल्याउनुपर्छ र फजुल खर्च र आडम्बरयुक्त देखावटी स्वाङको विरोध गर्नुपर्दछ । हामीले चिनियाँ जनताको मितव्ययिता र मिहिनेतपूर्ण किसिमले काम गर्ने सुन्दर परम्परालाई दृढतापूर्वक व्यवहारमा उतार्नुपर्दछ । मितव्ययितामा गर्व र फजुल खर्चमा लज्जा महसुस गर्ने कुराको वकालत गर्नुपर्छ । यसबाट मितव्ययितामा गर्व गर्ने र फजुल खर्चको विरोध गर्ने एउटा स्वच्छ वातावरणको सिर्जना व्यापक रुपमा हुनेछ । सबै इलाकाहरू र विभागहरूले पार्टीका कामहरूमा सुधार गर्नका लागि सान्दर्भिक नियमहरूलाई लागू गर्नुपर्छ । जनताको सन्तुष्टि हाम्रो कार्यशैली बदल्नका लागि प्रगतिको मापन गर्ने मानदण्ड हो । हामीले जनताका विचार र सुझावहरू र सम्पूर्ण समाजको अवलोकनलाई सम्बोधन गर्नुपर्छ, जनताका भनाइहरूलाई निरन्तर स्वीकार गर्नुपर्छ र जनताले असन्ुतष्टि जाहेर गरेको क्षेत्रमा सुधार गर्नुपर्छ । पार्टीको अनुशासन अनुगमनसम्बन्धी केन्द्रीय आयोग, पार्टी अनुशासन र अनुगमन आयोग, मन्त्रालय र सबै तहका अनुगमन विभागहरूले पार्टी अनुशासन लागू भएको छ, उत्तरदायित्व वहन गरिएको छ र दक्षतालाई सुनिश्चित गरिएको छ भन्ने कुरा सुनिश्चित गर्नका लागि निरीक्षण र अनुगमनलाई मजबुत बनाउनुपर्छ । हामीहरूले दृढ निश्चयका साथ भ्रष्टाचारविरुद्ध लड्नुपर्छ । “ ढुङ्गा कुल्चेर हिँडदा वा फलाम समात्दा त्यसमा सङ्केत छाड ।” रिसाएर जोडतोडले कराउन र डराएको जस्तो गरी चिच्याउनु भन्दा अन्तिम सफलता नपाएसम्मका लागि भ्रष्टाचारविरोधी अभियानमा लागिरहनु राम्रो हो । हामीले सम्पूर्ण पार्टी र जनतालाई सत्ताको निरीक्षण गर्न र पार्टीका काम र भ्रष्टाचारविरुद्धको लडाइँका खास उपलब्धि र परिवर्तनलाई निरन्तर प्रदर्शन गर्नुपर्छ ।
भ्रष्टाचारलाई दण्ड दिने र निर्मूल गर्ने दृढसङ्कल्पसहितको अठोटले हाम्रो पार्टीको शक्तिलाई प्रदर्शन गर्दछ र यसका अतिरिक्त यो सबै पार्टी सदस्यहरू र जनताको साझा आवाज हो । केही उच्च पदस्थलगायतका पार्टी सदस्यहरू र अधिकारीहरू संलग्न रहेको, पार्टीले अनुशासन उल्लङ्घनका गम्भीर घटनाहरूको दृढतापूर्वक छानबिन गर्ने र मुद्दा चलाउने कुरामा पार्टीले सुस्पष्ट दृष्टिकोणसहित अठोट प्रदर्शन गरेको छ । पार्टी अनुशासन र राज्यको कानुुन तोड्ने जोकोही पनि ऊ जोसुकै भए पनि र उसले जेजस्तो पदभार ग्रहण गरेको भए पनि उसमाथि पूरा अनुसन्धान हुनेछ र कडाभन्दा कडा सजाय दिइने छ भन्ने कुरा सिङ्गो पार्टी र सिङ्गो समाजका सबैका लागि यो एउटा सुस्पष्ट सङ्केत हो । यो हावादारी गफमात्र होइन । कडा अनुशासनसहित पार्टी सञ्चालन गर्ने सन्दर्भमा हामीले सानोभन्दा सानो कणलाई पनि छोड्नुहुँदैन ।
पार्टी अनुशासन र राज्यको कानुन उल्लङ्घन गर्ने, त्यसरी नै जनजीविकामा प्रत्यक्ष असर पु¥याउनेजस्ता अनुचित कार्य गर्ने र भ्रष्टाचार गर्ने अगुवा अधिकारीहरूका मुद्दाका सम्बन्धमा कारबाही गर्दा हामीले “बाघहरू” (टाइगर्स) र “झिँगाहरू”लाई समात्ने कार्यलाई निरन्तरता दिनुपर्छ । कानुनका दृष्टिमा र पार्टी अनुशासनका सवालमा सबै समान छन्, भ्रष्टाचारको कार्यमा जो संलग्न छ, उसमाथि पूर्ण रुपमा र भेदभावरहित किसिमले छानबिन गरिनुपर्छ ।
दण्ड र रोकथाम दुवै तरिकाले भ्रष्टाचारसित लड्ने एउटा पूर्ण पद्धतिको निर्माणमा हामी निरन्तर लागिरहनुपर्छ, भ्रष्टाचारविरुद्ध लड्नका खातिरको शिक्षालाई सबल बनाउनुपर्छ र इमानदारीलाई समर्थन गर्नुपर्छ र भ्रष्टाचाररहित सरकारको संस्कृतिलाई प्रोत्साहन दिनुपर्छ । हामीले शक्तिको प्रयोगलाई नियन्त्रण र निरीक्षण गर्ने पद्धतिको विकास गर्नुपर्छ, भ्रष्टाचारविरुद्धमा राज्यका नियम कानुनलाई मजबुत बनाउनुपर्छ, पार्टीभित्र इमानदारीलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्ध लडिरहेका संस्थाहरूका नियम कानुनहरूलाई सुधार्नु पर्छ, भ्रष्टाचारको सम्भावना बढी भएका क्षेत्रहरूमा सुधारका कामकारबाही अघि बढाउनुपर्छ र सरकारी संस्थाहरूले तिनीहरूका अधिकारलाई आधिकारिक र नियमसङ्गत ढङ्गले प्रयोग गरेका छन् भन्ने कुरा सुनिश्चित गरिनुपर्छ । शक्तिको प्रयोगमा हामीले जाँचबुझ र निरीक्षणलाई बढावा दिनुपर्छ, शक्ति पद्धतिद्वारा नियन्त्रित छ भन्ने कुरा सुनिश्चित गरिनुपर्छ र भ्रष्टाचारलाई निर्मूल गर्नका लागि एउटा संयन्त्रको निर्माण गर्नुपर्छ । चेतावनी दिने एउटा यस्तो संयन्त्र तयार गर्नुपर्छ जसले भ्रष्टाचारलाई नियन्त्रित गर्छ र रोक्छ । सबै तहका अगुवा अधिकारीहरूले मनमा सुस्पष्ट रुपमा के धारणा राख्नुपर्छ भने कानुनभन्दा माथि कोही पनि छैन । सबै अधिकारीहरूले जनताको सेवा गर्नका लागि राज्यको शक्ति प्रयोग गर्नुपर्छ, जनताप्रति उत्तरदायी हुनुपर्छ र जनताद्वारा निरीक्षण गरिएको हुनुपर्छ । हामीले “नेतृत्वका प्रमुख व्यक्तिहरू”को नायकत्वलाई बलियो बनाउनुपर्छ, जनवादी केन्द्रीयतालाई कार्यान्वयन गर्नुपर्छ, प्रशासनमा पारदर्शिता वृद्धि गर्नुपर्छ र नेतृत्वमा रहेका अधिकारीहरूले गजक्क परेर काम नगरुन् र व्यक्तिगत लाभ नखोजून् भन्ने कुरा सुनिश्चित हुनुपर्छ ।
भ्रष्टाचारसित लडाइँ गर्दा र इमानदारीलाई समर्थन गर्दा हामीले विशेषाधिकारलाई बढावा दिने विचार र व्यवहारको विरोध गर्नुपर्छ । चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू जहिलेसुकै श्रमजीवी जनताका सामान्य सदस्यहरू हुन् । पार्टी सदस्यहरू केवल रोजगारीसम्बन्धी कार्यबाट प्राप्त हुने र आय र नियम र नीतिहरूले प्रदान गरेका अधिकारका मात्र हकदार हुन्छन् र उनीहरूले यीभन्दा बढी र बाहेक व्यक्तिगत लाभ वा विशेषाधिकार खोज्नुहुँदैन । पार्टीको आचरण सुधार्नु र स्वच्छ सरकार निर्माणका निम्ति गरिएका हाम्रा प्रयासहरूमा विशेषाधिकारको प्रश्न केवल मूल चासोको विषय होइन बरु यो त एउटा विशिष्ट समस्या हो, जसले पार्टी र राज्यको शक्ति र ओज सुरक्षित गर्ने कार्यमा प्रभाव पार्छ । विशेषाधिकार खोज्ने विचार र दृष्टान्तहरूलाई दृढतापूर्वक विरोध गर्न र रोक्न हामीहरूले प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ । पार्टीको आचरण सुधार्नका लागि हामीले समग्र पार्टीलाई परिचालन गर्नुपर्छ, इमानदारीलाई कायम राख्नुपर्छ र भ्रष्टाचारविरुद्ध लड्नुपर्छ । तिनीहरूका काम र कर्तव्यका क्षेत्रभित्र सबै तहका पार्टी समितिहरूले पार्टीको आचरण सुधार्न र स्वच्छ सरकार निर्माण गर्नका लागि पूर्ण रुपमा नेतृत्व लिनुपर्छ । भ्रष्टाचारविरुद्ध लड्नका लागि हामीले पार्टीको नेतृत्वलाई प्रणालीमा चलाउनु र कार्यकारी संयन्त्रलाई अविच्छिन्न रुपमा कार्यरुपमा लागू गर्नु र सुधार्नुपर्छ । पार्टीको अनुशासन अनुगमन समिति, निरीक्षण विभागहरू र न्यायिक तथा लेखा परीक्षण समितिको भूमिकालाई पूर्ण रुपमा कार्यान्वयन हुन दिनुपर्छ, पार्टीका कामलाई राम्रो किसिमले सुधार गर्नका लागि हामीले संयुक्त प्रयास गर्नुपर्छ र इमानदारीलाई कायम राख्नुपर्छ । पार्टी अनुशासन कार्यान्वयन आयोगहरू र निरीक्षण समितिहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्ने सवालमा हामीले सहयोगको सुनिश्चितता प्रदान गर्नुपर्छ र यी आयोग र समितिहरूमा काम गर्ने मानिसहरूप्रति चासो राख्नुपर्छ र संरक्षण गर्नुपर्छ । जो पूर्ण रुपमा पार्टीको भावनाप्रति सचेत छन् र सिद्धान्तप्रति अटल रहने काममा दृढप्रतिज्ञा छन् तिनीहरूलाई संरक्षण गर्न हामीले विशेष ध्यान दिनुपर्छ र तिनीहरूलाई काम गर्न दिने अनुकूल वातावरण सिर्जना गर्नुपर्छ । सबै तहका पार्टी अनुशासन आयोगहरू र अनुगमन एजेन्सीहरूले पनि इमानदार अधिकारीहरूको समूह बनाउने उनीहरूको प्रयत्नलाई सघाउनुपर्छ र उनीहरूबाट हुने काम र कर्तव्यको निर्वाह गर्नका लागि उनीहरूको क्षमतामा वृद्धि गर्नुपर्छ जसबाट उनीहरूले राम्रो निरीक्षण र सुपरिवेक्षण गर्नसक्छन् ।
जनवरी २२, २०१३
स्रोतः चीनको शासन व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *