भर्खरै :

आपराधिक क्रियाकलाप नियन्त्रण जरुरी

– गोपाल नगरकोटी
दसैंको क्रममा देवी देवताको जात्रा सम्पन्न भए पनि मान्यजनबाट टीकाटाला चालू छ । यसबाहेक अन्य रचनात्मक तथा सामाजिक गतिविधि भइरहेको छ । एकातिर किसानहरू धान कटाइमा व्यस्त छन् भने अर्कोतिर नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम पनि भइरहेको छ । दसैंमा रचनात्मक काम हुनु सकारात्मक पक्ष हो, यसको अनुकरण गर्नुपर्छ । टोल–टोलमा सरसफाइ, साहित्य गोष्ठी, विभिन्न खेलकुद गतिविधिलाई अगाडि बढाइए सामाजिक सेवा गर्ने भावनाको विकास हुन्छ । युवा, विद्यार्थी समुदायप्रति समर्पित हुन्छ । व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न गरिने पुँजीवादी व्यवस्थाविरुद्ध देश र जनताको सेवा गर्ने समाजवादी व्यवस्था प्राप्त गर्न लागिपर्नेछ ।
दसैंकै समयमा जुवातास पनि खेलिन्छ । जुवातास खेलेर लाखौं रकम सिध्याइन्छ । जुवातास खेल्ने या खेलाइने ठाउँमा अन्य आपराधिक क्रियाकलाप पनि हुन्छ । यहीं बेला नक्कली नोटको बिगबिगी हुन्छ । नयाँ नोटको नाउँमा नक्कली नोट छापेर अर्को धन्दा गरिरहेको हुन्छ । आइतबारमात्रै ३ लाख रुपैयाँभन्दा बढी नक्कली नोट छापेको सार्वजनिक भयो । सुराकीको आधारमा नक्कली नोट छाप्नेमा संलग्न अभियुक्तलाई पक्राउ गरियो । दसैंको बेला गुणस्तरहीन सामानको पनि व्यापार भइरहेको हुन्छ । म्याद नाघेको, कुहेको सडेगलेको र तौल नपुगेको सामान यस्तै दसैंको बेला बिकेको हुन्छ ।
लुटपिटको घटना पनि दसैंताका नै बढी हुन्छ । गरगहना लाउने, दसैंको लागि भनी बैङ्कबाट पैसा झिक्ने हुँदा लुटपाट हुन्छ । बैङ्कबाट पैसा लिएर फर्किरहँदा, गहना लाएर टीका थाप्न जाँदा या ओहोरदोहोर गरिरहँदा लुटपाट बढेको देखिन्छ । यसतर्फ प्रहरी प्रशासन सक्रिय र चनाखो हुनुपर्छ । उपभोक्ता र सर्वसाधारण जनता पनि सचेत हुनुपर्छ । सरकार, सम्बन्धित निकायको ध्यान गएमा, चिन्ता र चासो लिएमा आपराधिक घटनाहरू कममात्र हुन्छ या नियन्त्रण गर्न सजिलो हुन्छ । दसैंमा उपभोग्य तथा अन्य आवश्यकताहरू सर्वसुलभ र सस्तो हुनुपर्छ । तर उल्टो महँगो हुन्छ । चाडपर्वमा कुटपिट नहोस् । महँगी नहोस् । नक्कली नोटको कारोबार कसैले नगरोस् । जनताका आधारभूत वस्तु सर्वसुलभ होस् । मूल्यमा एकरुपता होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *