भर्खरै :

शासकहरू हर्षोल्लासमा जनता विचल्लीमा

यसपालिको दसैं राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीदेखि सांसदहरू र प्रतिपक्ष दलका नेताहरूले हर्षाेल्लाससाथ मनाएका समाचार, तस्बिर र भिजुअल सार्वजनिक भए । तर त्यसरी दसैं मनाउने क्रममा ती शासकहरूले आ–आफ्ना परिवार, नातागोता र आ–आफ्ना वृत्तका मान्छेबाहेक अरुको ख्यालै गरेनन् । दसंैको मुखैमा मूल्यवृद्धि भयो, केही वस्तुमा कालोबजारी भयो तर शासक नेताहरूलाई त्यसले छुँदै छोएन । शासकहरू त्यसरी हर्षाेल्लासका साथ दसैं मनाइरहँदा जिल्ला–जिल्लामा गरिब, सुकुमवासी, भूमिहीन, बाढी पीडित, पहिरो पीडित र भूकम्प पीडित तथा अन्धो अशक्तका परिवारलाई दसैं नआएको समाचार विभिन्न सञ्चारमाध्यमले दिएका छन् ।
आम्दानीको राम्रो स्रोत नभएका गरिब कामदार परिवारलाई दैनिक छाक जुटाउन नै धौ–धौ हुन्छ भने दसैंका लागि मीठोमसिनो र झिलिमिली जुटाउन सम्भवै हुने कुरो भएन । आफू धुमधामका साथ दसैं मनाउने शासकहरूले ती गरिब जनताको लागि पनि दसैं खर्च वा उपभोग्य वस्तु उपलब्ध गराएका भए सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलका प्रतिक्रियामा जुन नकारात्मक टीकाटिप्पणी आए, त्यो सायदै आउने थियो । ती प्रतिक्रिया र टीकाटिप्पणी केही व्यक्तिका इष्र्या र पूर्वाग्रह होइनन् बरु व्यापक जनताका भावना र आग्रह हुन् । शासकहरूले जनतालाई आफ्नै परिवारसरह देखून् र हेरविचार गरुन् भन्ने जनताको चाहना हो ।
शासक नेताहरू चाडबाड र अरुबेला पनि जनताको घरदैलोमा पुगी त्यहाँको अवस्था बुझ्ने, सहयोग गर्नुपर्ने अवस्था रहँदा आवश्यक सहयोग गर्ने उदाहरण विभिन्न देशका नेताहरूले देखाइरहनुभएको छ । हाम्रो विशाल उत्तरी छिमेकी देश चीनका राष्ट्रध्यक्ष सि चिनफिङ चिनियाँहरूको नयाँ वर्षको चाड अगाडि कुनै वर्ष कुनै दुर्गम गाउँमा पुगी गाउँवासीहरूको अवस्था बुझ्ने त कुनै वर्ष सुदूर सिमानामा खटिएका सैनिक जवानहरूसित नयाँ वर्ष चाड मनाइरहेका तस्बिर सार्वजनिक हुन्छन् । त्यस्तै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्वाेच्च नेता स्वयं र नेताहरू त्यहाँका चाडबाडको बेला जनताका खेलखलिहान र घरदैलोमा पुगेर जनताले चाडबाड मनाउने स्थिति भए नभएको जाँच गर्न पुग्छन् । हिजो समाजवादी सोभियत सङ्घमा त राज्यका अधिकारीहरू घर–घरमै पुगेर तथ्याङ्क सङ्कलन गर्ने र जनतालाई आवश्यक उपभोग्य वस्तु बाँड्ने गरेको इतिहासमूलक साहित्य पढ्ने गरेका छौं । आफूलाई कम्युनिष्ट दाबी गर्ने र कम्युनिष्ट सिद्धान्त र साहित्यबाट प्रेरित भएको बताउने वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले किन राष्ट्रपतिबाट प्रधानमन्त्रीले टिका थाप्ने, राष्ट्रपति र प्रधानमन्त्रीले २–४ सय मानिसलाई टीका लगाई दिने देखावामै सीमित भए ? चिन्तनशील जनतामाझबाट आज यी प्रश्न तड्कारो रुपमा उठिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *