अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
राजा सामन्तका प्रतिनिधि हुन् । राजाले जनतालाई नागरिक होइन प्रजा सम्झन्छन्, दासी बनाउँछन् । सामन्ती व्यवस्थामा चाकरी प्रथा चल्थ्यो । जनतालाई घुँडा टेकाइन्थ्यो । धर्मको नाम जोडेर आर्थिक शोषण गरिएको हुन्थ्यो । धर्मकै नाउँमा अन्धविश्वास र कुरीतिमा जोड दिएर बढीभन्दा बढी शासन गरिएको हुन्थ्यो । तर गणतन्त्रात्मक व्यवस्थामा कमसेकम त्यस्तो दासप्रथा, कुरीति र अन्धविश्वासलाई ठाउँ दिनुहुन्नथ्यो । कम्युनिष्ट राष्ट्रपति, कम्युनिष्ट प्रधानमन्त्री र कम्युनिष्ट नेताहरूले त्यस्तो काम गर्दैनन् । बरु त्यसलाई निरुत्साहित पार्न कम्युनिष्टको सरकारका नेता, राष्ट्रपति र प्रधानमन्त्री अघि बढेका हुन्छन् ।
दसैंमा परिवारका सदस्य र नाताकुटुम्बबीच टीका लगाउनु र आशीर्वाद दिनु अस्वाभाविक होइन । तर गणतान्त्रिक नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले राजाले झैं सर्वसाधारणदेखि प्रधानन्यायाधीशसमेतलाई टीका लगाइन् । राष्ट्रपति भण्डारीलाई सपथग्रहण गराउने प्रधानन्यायाधीशले राष्ट्रपतिसमक्ष घुँडा टेकेर टीका थापेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय बन्यो । कम्युनिष्ट पार्टीको सरकारमा पनि दासप्रथा अन्त्य भएन । आफ्नै नजीकका नाता पर्ने व्यक्तिलाई मेचमा बसाएर टीका लगाउँदा र अरु उच्चपदस्थ व्यक्तिहरूलाई भुइँमा घुँडा टेकाएर टीका लगाउँदा टीकाभित्र पनि भेदभाव भएको गुनासोले सहर बजारमा ठाउँ पाएको छ ।
यतिबेला राष्ट्रपति र सरकारसमक्ष प्रश्न उठिरहेको छ – राजाले बसालेको सामन्ती संस्कारलाई राष्ट्रपतिले किन निरन्तरता दिने ? राष्ट्रपति सिंहासनमा बसेर अरुलाई भुइँमा घुँडा टेकाएर या झुकाएर टीका लगाउँदा चाकरी प्रथाको के झल्को देखिएन ? अरुलाई आफू अगाडि घुँडा टेकाएर टीका लगाउँदा राष्ट्रपतिको इज्जत र व्यक्तित्वमा चोट पुग्छ कि पुग्दैन ? गणतन्त्रपछि पनि चलिरहेको टीका ग्रहणमा सरकार जहिल्यै किन मौन ? के टीकालाई आफ्नो परिवारमा मात्र सीमित राख्दा हुँदैन ?
Leave a Reply