भर्खरै :

सस्तो अभिव्यक्तिमा निपुण प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीको सस्तो बोलीको विषयमा चर्चा नौलो कुरा होइन । बेला–बेलाका मनगढन्ते अभिव्यक्तिका कारण उनी स्वयं हाँसोको पात्रसमेत बन्ने गरेका छन् । हास्य कलाकार र कार्टुनिष्टहरूका लागि उनका यस्ता अभिव्यक्ति राम्रो मसला बन्दै आएको छ । मोरङमा एक जना व्यवसायीले सञ्चालनमा ल्याएको गोबर ग्यास प्लान्टको उनले उद्घाटन गरे र घर–घरमा ग्यास पु¥याउने आफ्नो अभिव्यक्ति पूरा भएको भन्दै खुसी व्यक्त गरे । तर महिना दिन पनि नबित्दै अर्को समाचार आयो, ‘प्रधानमन्त्रीले उद्घाटन गरेको प्लान्ट बन्द ।’
चुनावको बेलामा उनले बोले, ‘वृद्ध भत्ता बढाउनेछु ।’ प्रधानमन्त्री बनेपछि ल्याइएको पहिलो बजेटमा वृद्धभत्ता कतै बढाइएन । सबैतिर प्रधानमन्त्रीको बचन खेर गएको भनी विरोध भयो । दसैंमा आफ्नो गृह जिल्ला झापा पुगेर उनले भने, ‘अर्को बजेटमा वृद्ध भत्ता बढ्नेछ ।’ धेरैले ओलीका यस्ता बोलीलाई वाक्पटुताको रुपमा पनि व्याख्या गर्ने गरेका छन् । तर वास्तवमा यस्तो बदमासीलाई वाकपटुता भन्न मिल्दैन ।
एसियाली विकास बैङ्कको सहयोगमा मङ्गलबारबाट काठमाडौंमा सुरू भएको भनिएको विद्युतीय गाडीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले ओलीले अर्को त्यस्तै मनगढन्ते र उधारो भनाइ बोले । उनले संसारमा विद्युत्तीकरणको चर्चा गर्दै घर–घरमा प्रयोग हुने अरू उपकरण विद्युत्तीय बनाउने बताए । यो पटक उनको अभिव्यक्तिप्रति नेपाली जनताले खासै विश्वास गरेका छैनन् । किनभने उनले अघिल्लो पटक बोलेका कुनै पनि वचन पूरा हुन सकेको छैन । बरू पत्रपत्रिकामा प्रधानमन्त्री सरकार सञ्चालनमा भन्दा पनि आफ्नो पार्टीको किचलो व्यवस्थापनमा बढी लागिपरेको भनी आलोचना आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको दोषी अझै पत्ता लागिनसकेको अवस्थामा ओली सरकारलाई नेपाली जनताले विश्वास गर्नुपर्ने कारण पनि छैन ।
कोही व्यक्तिले के बोल्छ महत्वको कुरा होइन, बरू उसले के गर्छ, महत्वको कुरा हो । प्रधानमन्त्रीले बोलेको अभिव्यक्तिलाई सामान्यतः जनताले गम्भीर रुपमा लिने गर्दछन् । कार्यकारी प्रमुखको अभिव्यक्तिलाई देशको रोडम्यापको रुपमा लिइन्छ । तर ओलीको सस्तो बोलीका कारण जनताले आज उनका अभिव्यक्तिमा विश्वास गर्न छोडेकामात्र छैनन्, बरू आक्रोश र व्यङ्ग्यसमेत गर्न थालेका छन् ।
एसियाली विकास बैङ्कले दिएका केही गाडीलाई देखाएर देशका सबै जनताको घरेलु प्रयोजनका सबै सामान विद्युत्तीकरण गर्ने प्रधानमन्त्रीको बोली विश्वास गर्नलायक छैन । देशमा भारत र चीनको भरमा रेल गुडाउने सपना परनिर्भरताको उदाहरणमात्र हो । यसले नेपाललाई बाहिरी रुपमा भव्य र समृद्ध त देखाउला । तर देशको दिगो र गुणस्तरीय विकासको निम्ति यो सहयोगीसिद्ध हुनसक्दैन ।
प्रधानमन्त्रीले दिने यस्ता अभिव्यक्तिले कतिपय मानिसलाई केही समयको खुसी त दिन सक्दछ । तर त्यो आश्वासनभित्रको खोक्रोपनाले व्यापक जनतालाई अझ आक्रोशित र निराश बनाउन सक्दछ । त्यसकारण देशको कार्यकारी प्रमुखले वस्तुगत कुरामात्र गरे राजनीतिप्रति जनताको विश्वास गहिरो बन्नेछ ।
प्रधानमन्त्री ओली ‘विकास र समृद्धिको लहर ल्याउने’ नाममा विदेशी र बहुराष्ट्रिय संस्थाको भरपर्नुले देशको दिगो विकास सम्भव छैन । देशको स्थायी विकासको लागि देशलाई स्वाधीन बनाउनेतर्फ सरकारले ध्यान दिन जरुरी छ । आफ्नै खुट्टामा उभिएको विकासले नै मात्र देशलाई शक्तिशाली बनाउन सक्दछ । अरूका टेकाका भरमा चल्ने देशले कुनै पनि बेला नराम्ररी दुःख र सङ्कट भोग्नुपर्ने अवस्था आउन सक्दछ । त्यस्तो अवस्थामा प्रधानमन्त्रीका सस्ता अभिव्यक्तिले देश जोगाउन सकिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *