भर्खरै :

आत्मनिर्भर नभएसम्म समृद्ध नेपाल सम्भव छैन

–नीता अवाल
देश आत्मनिर्भर नभएसम्म समृद्ध नेपाल सम्भव छैन । देशका लागि आवश्यक आधारभूत सामान देशमै उत्पादन नभएसम्म देश आत्मनिर्भर हुनेछैन । देश परनिर्भर भइरहेसम्म सुखी नेपाली कसरी हुन्छ ? देशमा योग्यताअनुसार काम, कामअनुसाको ज्यालाको बन्दोबस्त गरिनुपर्छ । गाँस, वास र कपास या दाना, छाना र नानाको व्यवस्था नभएको देश कहिल्यै समृद्ध हुने छैन । देशमा सुशासन हुनुपर्छ । सुशासन हुन सत्तारुढ दलका नेताहरू असल, इमानदार, देशभक्त, दूरदर्शी र देश र जनताप्रति समर्पित हुनुपर्छ ।
सुखी नेपाली समृद्ध नेपालको सपना बोक्ने सरकार र सरकारको नेतृत्व गर्ने दलले व्यक्तिगत र दलगत स्वार्थ छोड्नुपर्छ । सरकारले विधि र सुशासनको कुरा फुकिरहेको छ । तर देशमा जनता असुरक्षित छन् । महिला बेचबिखन र बेपत्ता पार्ने काम भइरहेको छ । हत्या हिंसा बढेको छ । मानव तस्करी गर्ने कार्य रोकेको छैन । अपराधीहरूको सङ्ख्या बढिरहेको छ । कालाबजारी र कमिसनले प्राथमिकता पाएका छन् । सामानमा मिसावट त्यत्तिकै छ । घूस खाने र भ्रष्टाचार बढेको बढेकै छ । कुलतमा लाग्ने, लागूऔषध सेवन गर्नेको सङ्ख्यामा पनि कमी छैन । कुरीति र अन्धविश्वासमा समाज अडेको छ । नक्कली प्रमाणपत्र बनाएर डाक्टर, इञ्जिनियर, सेना, प्रहरी र उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सङ्ख्या पनि कम छैन ।
पुल बनाइन्छ, वर्ष दिन नपुग्दै भत्किन्छ । पीच हुन्छ, तीन महिना नपुग्दै बिग्रिन्छ । विकासको नाममा कमसल काम भएको हुँदा देशको विकास डोकोमा पानी राखेजस्तै भइरहेको छ । त्यसकारण सरकारको नेतृत्व गर्ने र अरु दलको राजनीति सफा नभएसम्म, देश र जनताप्रति समर्पित भएर अघि नबढेसम्म देशमा परिवर्तनको अनुभूति हुनेछैन । कुनै दल सरकारमा पुग्दैमा, सरकारको नेतृत्व गर्दैमा या शक्तिशाली सरकार र शक्तिशाली दल हुँदैमा न नेपाली सुखी हुन्छ न नेपाल समृद्ध हुन्छ । निःस्वार्थी, निडर, देशभक्त, असल, इमानदार दल र नेता देशको लागि खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *