नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
चिन्मय
छरछिमेकमा हेर्नुहोस्, विज्ञान वा प्रविधि पढेकाहरू बेरोजगार देखिन सक्छन्, तर पुरेत्याइँ गर्ने वाचिना हेर्नेहरूलाई पैसा कमाउन भ्याइनभ्याइ छ । विज्ञान र प्रविधिको युगलाई नेपाली समाजको ठूलो व्यङ्ग्य र हाँकहो यो दृश्य ।
ज्योतिष विद्या हाम्रो समाजलाई अँध्यारोमा राख्ने एउटा पुरानो औजार हो । यस विद्याको जन्म धेरै पहिले भएको हो । हरेक दिन रातमा अनगिन्ती तारा आकाशमा चन्द्रमासँगै चहकिएको देख्दा प्राचीन मानिसमा पक्कै पनि जिज्ञासा उब्जियो । ती ताराको निरन्तर अवलोकन गर्दा उसले विभिन्न तारामण्डल भेटायो । एक अर्काको दाँजोमा सदा स्थिर रहने निश्चित ताराहरूको समूहलाई तारामण्डल भनिन्छ । यी तारामण्डललाई जन्तु, वस्तु आदिको आकार दिएर तिनलाई अनेक नाम प्राचीन मानिसले दिए ।
ज्योतिष विद्याले केही तारामण्डललाई राशी भन्छ । वास्तवमा तारामण्डलका ताराहरू नजिकै देखिए पनि आफू–आफूमा पनि यिनीहरू कैयन् प्रकाश वर्ष टाढा हुन्छन् । पृथ्वीबाट अरबौं प्रकाश वर्ष टाढा रहेका ताराले मान्छेको जीवनमा त के हाम्रो सौर्यमण्डलमाथि समेत कुनै प्रभाव पार्न सक्दैनन् । अझ यी ताराहरूको आकार पनि अनन्त कालका लागि स्थिर हुँदैन । हजारौं वर्षको अन्तरालमा यिनका आकार पनि फेरिइरहन्छन् । आज तराजुजस्तो देखिएको तारामण्डल केही हजार वर्षपछि अर्कै देखिनेछ । त्यसैले हरेक बिहान पत्रिकामा छापिने, रेडियोमा सुनाइने र टेलिभिजनमा देखाइने राशीफल मान्छे झुक्काएर कमाउने खेलोमात्र हो । यसको कुनै वैज्ञानिक आधार छैन ।
ज्योतिष विद्याले सूर्य, चन्द्रमा, राहु, केतु, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनिलाई नौ ग्रह मान्छ । यसमा अरुण र बरुण पनि छैनन् । एउटा साधारण प्रावि तहको विद्यार्थीलाई पनि थाहा छ, हाम्रो सौर्यमण्डलका नौ ग्रहयी होइनन् । अझ अहिले त वैज्ञानिक मापदण्डभित्र आठ ग्रहमात्र परेका छन् । ज्योतिष विद्याले भन्ने राहु र केतु भन्ने कुनै पनि आकाशीय पिण्ड सौर्यमण्डलमा छैन । यस अर्थमा पनि ज्योतिष विद्या अति पुरानो र थोत्रो ज्ञानमा आधारित छ ।
ज्योतिष विद्याले समय अर्थात् साइतलाई अति महत्व दिन्छ । तर ज्योतिष विद्यासँग समय नाप्ने कुनै वैज्ञानिक विधि छैन । अनुमानको भरमा यसले काम गर्छ । त्यसैले यसको तरिका झारफुके छ ।
ज्योतिष विद्याले मान्छेको जन्मकुण्डली वाचिना बनाउँछ । कुनै व्यक्तिको शिक्षा, बिहेबारी, यात्रा, दुर्घटना, मृत्यु आदि ग्रहहरूको स्थितिले कसरी निर्धारण गर्ला ? जब कि पृथ्वीको सबैभन्दा नजिकको चन्द्रमाले समेत मान्छेमा प्रभाव पार्दैन । बिहेबारी जस्ता कतिपय कार्य पनि चिना मिलाएरमात्र गर्ने चलन व्यापक छ । तपाई सोच्नुस्, पूर्वयुवराज पारस र उनकी श्रीमतीको के चिना मिलाएर बिहे गरिएको नहोला ? तर दाम्पत्य जीवन राम्रो देखिन्न ! ज्योतिषले कम ज्याला पाएर बिहेबारीबारे गलत निक्र्योल दिएको त नहोला ? राजखान्दानले पैसामा कन्जुस्याइँ पक्कै पनि नगरेको होला । यसले देखाउँछ ज्योतिष विद्या गलत छ । संसारमा निकै कम मानिसले मात्र चिना बनाउँछन् । नबनाउनेहरूको वैवाहिक जीवन चिना बनाउनेहरूको जत्तिकै सफल असफल दुवै भएको पाइन्छ ।
त्यस्तै अर्को उदाहरण, ०७२ सालको भूकम्पमा मरेका जति पनि मानिस छन्, के उनीहरूको चिनामा एकै दिन मर्ने लेखेको थियो ? जो बाँचे उनीहरूलाई मार्न हुन्न भनेर ढलिरहेका घरले कसरी थाहा पाए होलान् ! फेरि बाढी आउँदा मर्ने झुपडीवासीहरूको चिना अर्कै र बलिया भवनमा बस्ने धनीहरूका चिना अर्कै हुन्छन् र आफै पनि भ्रमहरूका आधारित ज्योतिष विद्याले यस्ता प्रश्नको जवाफ दिनसक्दैन । यस्ता उदाहरण धेरै छन् ।
ज्योतिष विद्यामा कुनै ‘अशुभ’ समयलाई ‘राहु काल’, ‘केतु काल’ आदि भनिन्छ । राहु र केतु भन्ने कुनै वस्तु नभएका कारण यो हाँस्यास्पद छ । आज संसारमा चौबीसै घण्टा उडान भर्ने एयरपोर्ट छन् । ती एयरपोर्ट ‘अशुभ’ समयसम्म कुरेर चल्ने गर्दैनन् । त्यस्तै ‘राहु काल’, ‘केतु काल’ मा बसपार्कबाट गाडी नछुट्ने भन्ने पनि हुँदैन । त्यसैगरी, विज्ञान र प्रविधिको आजको युगमा कुनै पनि देशले ज्योतिष विद्याअनुसार साइत हेरेर परराष्ट्र र रक्षानीति सञ्चालन गर्ने खेलाँची गर्दैनन् भने साधारण जनतालाई साइत र कुसाइतको अन्धविश्वासमा किन फसाउने ?
ज्योतिष विद्याले ‘ग्रहशान्ति’ गर्न, भाग्य चम्काउन भाँतीभाँतीका पत्थर जडेका औंठी लगाउनुपर्ने बताउँछ । यो पनि एउटा कुतर्क हो । यस्ता औंठी लगाउँदैमा भाग्य बलियो हुने भए कोत पर्व, भण्डार खालपर्व, राजदरबार हत्या काण्डजस्ता दरबारिया षड्यन्त्रमा परेर महँगा औंठीधारी राजा महाराजा र भातरदार असमयमै मर्ने थिएनन् होला । औंठीमा जडिने पत्थरबाट बढीमा प्रकाशका किरण ठोक्किएर फर्किने गर्छन् । यी किरणले मान्छेको जीवनमा केही परिवर्तन गर्दैन । वैज्ञानिक अनुसन्धानले मान्छेको भाग्य अभाग्यसँग विभिन्न रङका यस्ता ढुङ्गाको गोरु बेचेको साइनो पनि नभएको पुष्टि गरेको छ ।
भारतीय खगोल विद्नार्लिकरका अनुसार ज्योतिष विद्या प्राचीन युनानबाट भारतमा आएको थियो । भारतीय ज्योतिषहरूले यसमै आफ्ना अनुभव थपथाप गरेर ‘परिस्कृत’ पात्रो बनाएका थिए । मानव सभ्यताको इतिहासमा खेतीपातीलाई सरल तुल्याउन ज्योतिष विद्याको सुरुवात भएको थियो । यसले कृषि युगमा किसानहरूलाई दिशा निर्देश गर्ने काम गरेको थियो । यसका आफ्नै सीमा थिए । यो विद्या खुला आँखाले आकाश नियाल्दा बनेको ज्ञान थियो । आज ब्रह्माण्डको अध्ययन निकै उन्नत विज्ञान, खगोल शास्त्रले गर्छ । आज अवलोकनका अत्याधुनिक उपकरण बनेका छन् । आधुनिक खगोल शास्त्रले ज्योतिष विद्याका आधारभूत मान्यताहरू भत्काइसकेको छ । तैपनि यो विद्या आस्था र संस्कृतिको नाममा जीवित छ ।
नेता, कार्यकर्ता, डाक्टर, इन्जिनियर, अनेक विषयका डिग्रीधारी, चलचित्रका नायक–नायिकाजस्ता समाजले पछ्याइरहने व्यक्तिले ज्योतिष विद्यालाई फैलाउन प्रचारकको बेतलबी काम गर्छन् । उनीहरूले हातैभरि अनेक औंठी लगाउने, कार्यकालको सुरुवात यज्ञले गर्ने, पात्रोअनुसार साइत जुराएर काम गर्ने जस्ता स–साना काममार्फत ज्यातिषविद्यालाई जिउँदो तुल्याउने गर्छन् । साधारण गरिब र अनपढ जनताबाट के आस गर्ने ?
आजभोलि ज्योतिषहरू कम्प्युटर समातेर आफ्नो विद्या वैज्ञानिक हो भन्न थालेका छन् । दालभातको सवाल छ, यति त गर्नैप¥यो ! आफूलाई अत्याधुनिक ठान्ने कति पय पढेलेखेका मानिसहरू पनि ज्योतिष विद्यामा विश्वास गर्छन् । कति पय विज्ञान र प्रविधिका विद्यार्थीकै हाल यस्तो छ । समस्या हाम्रो पाठ्यपुस्तकको पनि हो । हाम्रा पाठ्यपुस्तकले विज्ञानको जानकारी दिन्छन्, तर वैज्ञानिक चिन्तन र दर्शनबारे चुँ बोल्दैनन् ।
चिन्तनमा पिछडिएको समाज झारफुक, ज्योतिषजस्ता रुढीग्रस्त विद्याको पासोमा परिहाल्छ । हामी कति चिन्तनशील हुने ? हामीमै भरपर्छ ।
Leave a Reply