भर्खरै :

उपत्यकामा ठगहरूको बिगबिगी

नेपालका विश्वविद्यालयहरूका केही प्राध्यापकहरु कक्षामा ‘विदेशमा बिक्ने विद्यार्थीहरू’ तयार गर्नमा जोड दिन्छन् मानौँ नेपाली बेचिने सामान हुन् । तर साँच्चै जसरी पहिले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडि अफ्रिकाबाट जबरजस्ती ल्याइएका अफ्रिकीहरूलाई दासको रूपमा बेच्थे आज नेपालीहरू व्यापारी आफैले आफ्नै गाउँ, जिल्ला र देशका चेलीबेटी र युवाहरूलाई अरब देशका बजारहरूमा मोलमोलाइ र बढीबढाउ गरी बेचिँदै छन् । समाचारहरूको रिपोर्टअनुसार नेपालीहरूले आफ्नै स्वास्नी र आमासमेत बेचे । पैसाको महत्व पुँजीवादी व्यवस्थामा बढी हुन्छ । पुँजीवादी व्यवस्थालाई ध्वस्त नपारेसम्म पैसाको निम्ति मानिसको बेचबिखन रोकिने छैन । अत्यन्त बहुमत जनताले आफ्नै आँखा र आफूले नभोगेसम्म पुँजीवादी व्यवस्थाको दुर्गुण र पैसाप्रतिको मोह र खराबी रोकिने छैन ।
हिजो निर्वाचनको सङ्घारमा उद्योग–व्यवसायीहरूले लाखौँ–करोडौँ रूपैयाँ मन्त्रीलाई दिएको समाचारमा आयो । मन्त्रीका मानिसले त्यसको जवाफ दिए – ५–१० वर्षदेखि हरेक व्यापारी र उद्योगपतिले २०–३० लाख रूपैयाँ कर नतिरी बसेका थिए, अनि आफ्नो कर मिनाहा गराउन सबै मिलेर २–४ करोड मन्त्रीलाई ‘टक्र्याउनु’ कुन अपराध भयो र ! ट्रक र मिनिबस, ट्रिपर, बालुवा खानी, क्रसर उद्योगका मालिकहरू, खानेपानी कम्पनी, इँटाभट्टा, रक्सी उत्पादक, तस्कर, अदालतहरूमा आफ्नो पक्षमा मुद्दा फैसला दिलाउन काम गर्ने बिचौलिया, शासक दलका नजिकका राजनैतिक कार्यकर्ता आदिले चुनावको एक–दुई महिनाअगाडि नै चन्दा उठाउने नाउँमा शासक दलहरू घूस खान्छन् ।
सांस्कृतिक एवं ऐतिहासिक धरोहर भएको सानो काठमाडौं उपत्यकामा ८० लाखदेखि एक–डेढ करोड मानिसलाई बसोबास गराउने योजनामा प्राविधिकहरू लागिपरेका छन् । काठमाडौंको ‘चक्रपथ विस्तार’ बागमती, विष्णुमती र अन्य नदी–नाला र खोलाका दुवै किनारामा बाटो र आवास विस्तार गर्ने योजना बनाउँदै छन् । यत्ति ठूलो जनसङ्ख्यालाई केन्द्रित नगर्दा मेलम्ची खानेपानीको व्याजै उठ्दैन भन्ने तिनीहरूको मनसाय हो ।
यस योजनामा मुख्य भूमिका खेल्नेहरूमा घर–जग्गा व्यापारी र दलालहरू हुन् । शासक दलहरूसँग सम्बन्ध भएका केही अपराधी, ठग र गुण्डाहरूसमेत आ–आफ्नो सत्ताको धाक देखाउँदै र गाउँलेहरूलाई तर्साउँदै जग्गा खरिद–बिक्रीलाई चर्काउँदै छन् । तिनीहरू केही करोडबाट अरब बनाउन जालसाजी गर्दैछन् । ठग, लुच्चा र फटाहाहरू कहिले घाटा नजाने र कमजोर नहुने काम गाउँ–गाउँका जनतालाई नक्कली वा सक्कली नक्सा देखाउँदै सस्तोमा जग्गा खरिद गरी सोझा–साझा जनतालाई उठीबास गराउँदै छन् ।
केही व्यक्तिहरू अन्तर्राष्ट्रिय रङ्गशाला बनाउने हल्ला गरेर सस्तोमा जग्गा लुट्ने काममा लागेका छन् । निर्वाचनको बेला विदेशी पैसा घर–घरमा बाँडेर अहिले उनीहरू जनताको उठीबास गराउने दाउमा छन् । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सोअनुसारको आठ लेनको सडक बनाउने र बस्ती बसाल्ने ‘सोम शर्मा’ को कथा दोहोरिने छ । हिजो बस्नेतकै नाउँको सहकारी संस्थामार्फत भक्तपुर नगरका रू.६७ करोड र जिल्ला एवं उपत्यकाका जनताको ३ अरब रूपैयाँ काँचै खाएको कसैले बिर्सेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *