भर्खरै :

छ वर्ष बित्दा पनि शव आएन

भद्रपुर, ४ मंसिर । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अर्बमा मृत्यु भएको ६ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब जानुभएको थियो । साउदी अरबमै २०६९ पुस ३० गते उहाँको मृत्यु भएको खबर आएको जेठा छोरा नीरज श्रेष्ठले बताउनुभयो ।
त्यसबेला साउदी अरबकै अस्पतालमा काम गर्ने एक नेपालीले भद्रशीलाको शव पहिचान गरेर उहाँका छोरा नीरजलाई फोनमार्फत खबर दिएका थिए । ६ वर्षपछि यही मंसिर १ गते आमाको शव आउने भनी साउदी अरबबाटै फोन आएपछि शव बुझ्न काठमाडौं जानुभएको नीरज निराश भएर मङ्गलबार घर फर्किनुभएको छ । अन्तिम समयमा शव ल्याउने कार्य रद्द भएको खबर काठमाडौंको त्रिभुवन विमानस्थलस्थित इत्तेहाद एयरलायन्सको कार्यालयले जानकारी दिएको नीरजले बताउनुभयो । “आमाको शव मंसिर ३ गते साँझ ८ बजे इत्तेहाद एयरलायन्समार्फत साउदी अरबबाट काठमाडौं ल्याइने पूर्व निर्धारित कार्यक्रम थियो तर अन्तिम समयमा शव ल्याउने कार्य स्थगित भएको एयरलायन्सको काठमाडौं कार्यालयले बतायो”, श्रेष्ठले भन्नुभयो ।
एयरलायन्सले शव नआउनुको खास कारण भने थाहा नभएको जनाएको श्रेष्ठ बताउनुहुन्छ । भद्रशीलाको ६ वर्षसम्म सास न लाशको अवस्थाले श्रेष्ठ परिवार चिन्तित छ । मृत्यु भएको खबर आएलगत्तै छोरा नीरजले विभिन्न सरकारी निकाय गुहारेर शव ल्याउन पहल गरेका थिए तर त्यसबेला कसै गरी शव आउन सकेन । मृतक भद्रशीलाका दुई छोरा नीरज र सरोज छन् भने एक छोरी निशा श्रेष्ठ हुनुहुन्छ ।
नीरज गाउँमै सानो पसल चलाएर गुजारा चलाउँछन् भने सरोज वैदेशिक रोजगारीका लागि हालै कतार पुगेका छन् । भद्रशीला कुन मेनपावर कम्पनी वा एजेन्टमार्फत वैदेशिक रोजगारीमा जानुभएको थियो भन्नेसमेत छोराछोरीलाई जानकारी छैन ।
घरेलु कामदारको रूपमा साउदीमा कार्यरत भद्रशीलाले सुरुमा रु. २४ हजार नगद पठाउनुभएको र त्यसपश्चात् चार वर्षसम्म सम्पर्कविहीन हुनुभएको छोरा नीरजले बताउनुभयो । लामो समय सम्पर्कविहीन रहेकै अवस्थामा भद्रशीलाको मृत्यु भई अस्पतालमा शव राखिएको भन्ने खबर आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *