भर्खरै :

कसले जोगाएको छ निर्मलाको हत्यारालाई ?

नीरज
सामाजिक सञ्जालमा सत्तासीन दलका एकजना सांसदकी छोरी शृङ्खला खतिवडा चर्चित भइरहेको थियो । चीनमा चलिरहेको विश्व सुन्दरी प्रतियोगितामा उनले पाएको सफलतासम्बन्धी भिडियोहरूले एकछत्र प्रभुत्व जमाइरहेको पनि थियो । एकाएक भर्चुअल वल्र्डमा प्रभुत्वको दृश्य फेरियो, जब बलात्कारपछि हत्या भएकी निर्मला पन्तकी बुबाले मानसिक सन्तुलन गुमाएको भिडियो सार्वजनिक भयो । सुन्दरी शृङ्खलाको भिडियोको एकछत्र वाहवाही तब तोडियो, जब कञ्चनपुरमा चार महिनाअघि बलात्कृत निर्मलाकी पिता यज्ञराजले अनौठा व्यवहार गरिरहेका भिडियोको चर्चा चुलियो ।
यो विरोधाभासले भरिभराउ समय हो । नेपालकी एउटी छोरीले विश्वसुन्दरी प्रतियोगिताको मञ्चमा अभूतपूर्व सफलता हात पार्दै गर्दा अर्को एक जना छोरी बलात्कारपछि मारिएको झण्डै चार महिना बितिसक्दा पनि सरकार दोषी फेला पार्न सक्दैन । माओवादी सशस्त्र युद्धका कमाण्डरमध्येका एकजना कमाण्डर र नेता गृहमन्त्रीको कुर्सीमा आसिन हुँदा उनकै कार्यकक्षमा एक जना पूर्व माओवादी लडाकू विषसेवन गर्छन् । वाइड विमानको शुभारम्भ गर्न नरिवल फोड्ने पर्यटनमन्त्री अहिले ती विमान खरिद गरिएका हुन् वा भाडामा हुन्, अनुसन्धान गर्नुपर्ने भन्दैछन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक विमानको लालपूर्जा असनमा देखाउँदै हिंड्न नसक्ने धक्कु लगाउँछन् । तीब्रतर गतिमा देशको विकास गर्ने र समृद्ध नेपाल बनाउने आश्वासन बाँडदै हिंडेका प्रधानमन्त्री सिंहदरबारकै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा फाइल पु¥याउन महिनौं लागेकोमा दुःखेसो पोखिरहेका छन् । मन्त्री विकासको परिभाषा गोजीबाट निकाल्दै बाँड्दै हिंड्दा सत्तासीन पार्टीका एकजना नेता युनानी दन्त्यकथा जनतालाई सुनाइरहेका छन् । भन्दैछन्– हामी नार्सिसस होइन, फिनिक्स बन्नुपर्दछ । यी सबै आजको समयका विरोधाभास हुन् ।
निर्मला पन्तका पिता यज्ञराज पन्तले मानसिक सन्तुलन गुमाएको दृश्यले जनतालाई संवेदित बनाएको छ । एकजना पिता आफ्नी छोरीको हत्यारा देखाइदिन सरकारसँग याचना गर्दागर्दै थाकेर विक्षिप्त बन्नु संवदेनाजन्य विषय हो पनि । तथापि सरकारले पीडितलाई न्यायको विश्वास दिलाउन सकेको छैन । अनुसन्धान प्रक्रियाका सम्बन्धमा एकपछि अर्को प्रश्न र आशड्ढा उठ्नु अनि सरकारले त्यसको विश्वासिलो स्पष्टीकरण र जवाफ दिन नसक्नुले पनि अविश्वासको ठाउँ अझ फराकिलो बन्दै गएको हो ।
राजनीतिक वृत्तमा निर्मला हत्याका दोषीसँग सत्ताको प्राणवायुको सम्बन्धमा धेरै आशड्ढा र आरोपप्रत्यारोपण पनि भए । बलात्कारी र हत्यारालाई सत्तासीन दलका नेता वा ‘विदेशी शक्ति’ले समेत संरक्षण गरिरहेको हो कि भन्ने अभिव्यक्ति धेरै कोणबाट आइसके । तर सरकार मौन बसेको छ । उसको मौनतालाई धेरैले लाचारीको अर्थमा बुझेका छन् । यो सरकार राजनीतिक रुपमा शक्तिशाली सरकार हो । खुसामदमा टिकेका विगतका सरकारहरू जस्तो होइनन् । तब एकजना किशोरीको बलात्कारपछि हत्याको दोषी पत्ता लगाउन सरकारलाई के कुराले रोकेको छ ? आफ्नो सन्तान मारिंदा हत्यारा पत्ता लगाउन बाबु बहुलाउनुपर्ने अवस्थामा देश पुगेको हो ?
यसैबीच टर्कीमा साउदी पत्रकार खस्सोग्गीको हत्या अन्तर्राष्ट्रिय रुपमा निकै चर्चामा रह्यो । उनको हत्या इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र साउदी एजेन्टहरूबाटै भएको यथार्थ आज विश्वसामु उजागर भइसकेको छ । अनि खस्सोग्गीको हत्याको लागि साउदी अरबका शक्तिशाली राजकुमार मोहमद बिन सलमान (एमबीएस) ले नै निर्देशन दिएको आशड्ढा धेरै बलियो बन्दै गइरहेको छ । साउदी दूतावासभित्र यस्तो जघन्य हत्या हुन साउदी उच्च राजनीतिक नेतृत्वको संलग्नताबिना सम्भव हुने कुरै भएन । एमबीएसको संलग्नको अनौपचारिक पुष्टिसँगै साउदी दरबारभित्र नयाँ राजकुमारको लागि प्रतिस्पर्धासमेत सुरू भइसकेको छ ।
धेरैजसो बेला राज्यनिकटका मानिस अपराधमा संलग्न हुने गर्दछ । तर कानुनी शासन, प्रजातान्त्रिक मूल्यमान्यता र जनउत्तरदायी सरकारले त्यस्ता अपराधीलाई सत्ताकै आडमा संरक्षण दिन खोज्छ भने त्यसले अन्ततः राज्य र शासकलाई कमजोर बनाउने हो ।
साउदी राजकुमारले पनि खस्सोग्गीको हत्याका लागि निर्देशन दिंदा सत्ताको ठूलो भरोसा मानेको हुनुपर्दछ । कुनै पनि अवस्थामा अपराध लुकाउने आत्मविश्वासले नै उनलाई हत्याको निर्देशन दिनसक्ने बनाएको हुनुपर्दछ । उनले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ रियाद पुग्दासमेत आफ्नो अबोधपनाको अभिनय छाडेनन् । तथापि अब एमबीएस राजनीतिक दबाबका भरमा निर्दोष प्रमाणित त हुनसक्छन्, तर उनको दोषी चरित्र संसारले कहिल्यै पनि भुल्न सक्दैन ।
निर्मला हत्याकाण्डको सन्दर्भमा पनि राज्यस्तरबाट एकपछि अर्को प्रमाण नष्ट गर्दा पनि जनस्तरबाट एकपछि अरु प्रमाण सार्वजनिक भइरहेका छन् । तर सरकार अपराधीलाई अझै अपराधी भन्न सकिरहेको छैन । एमबीएसलाई दोषी भन्न संरा अमेरिकी प्रशासनले अनकनाइरहेझैं सरकार दोषीलाई दोषी भन्न अनकनाइरहेको छ । दुईतिहाइ बहुमत प्राप्त सरकारभन्दा बलियो त्यो दोषी को हो, आज सबैले सोधिरहेको प्रश्न यही हो ।
निर्मला हत्याकाण्ड अब कसैले छोप्न खोजेर पनि छोप्न सकिने घटना रहेन । यसलाई सत्तासीन दलका केही नेता कार्यकर्ताले सरकारविरुद्ध प्रतिपक्षले उछालेको घटनाको रुपमा व्याख्या गर्न खोजे पनि खासमा यो घटनाको व्यापकता राजनीतिक जोडघटाउमा मात्र सीमित रहेन । सबै मानिसले राजनीतिक दलको कोणबाट मात्र कुनै पनि विषयलाई हेर्ने गर्दैनन् । सत्ताको बागडोर जसले सम्हालेको भए पनि घटनाको पर्यवेक्षकको रुपमा उनीहरूले ठीक वा बेठीक भन्ने गर्छन् । यज्ञराजको मानसिक विक्षिप्ततासँगै जागृत संवदेनशीलताले अब मानिसले देशमा न्याय हराएको आभास गर्न थालेका छन् । मानिसले जब देशमा न्याय हराएको महसुस गर्न थाल्छन्, सरकारका सकारात्मक उपलब्धिलाई पनि विरोधाभासको आँखामा हेर्ने गर्दछन् । नार्सिसस बनेको सरकारमा जनताले डाक्टर फोस्टसको आकृति देख्न थाल्छन् ।
निर्मलाको काण्डलाई धेरै मानिसले पञ्चायतकालमा भएको नमिता–सुमिता काण्ड स्मरण गरायो । यो आजको अर्को विडम्बना हो । निर्वाचित जनप्रतिनिधिले बनाएको पहिलो संविधानमा उभिएर बनेको पहिलो सरकारमा पञ्चायतकै झझल्को दिने घटना घट्नु र पञ्चायतले जस्तै यतिबेला पनि सरकारले दोषी देखाउन नसक्नु विडम्बना नभए के ? पञ्चायतकालमा त राजदरबार दोषी थियो, अब दोषी को ? राजदरबार भत्किसकेको परिस्थितिमा अब औंला स्वभावतः नयाँ गणतान्त्रिक दरबारतिर तेर्सिएका छन् । सत्ताको संरक्षण नभए निर्मलाको हत्यारा नभेटिनुपर्ने अरु कुनै कारण छैन ।
सरकारको लागि घाँटीमा अड्केको तातो आलु बनेको निर्मला हत्याकाण्डलाई सके सामसुम पार्ने शासकको मनसाय हो भने प्रष्टतः यो उसको आत्मघाती गोलजस्तै हुनेछ । प्रश्न, अब सत्ताले केही अपराधीलाई कानुनको दायराभित्र ल्याउने वा तिनीहरूको सती आफू बन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *