यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
बोगोटा, २६ अक्टोबर (एएफपी) । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पुनःनिर्वाचनमा जीत हासिल गरेपछि विश्वका विभिन्न देशका नेताहरूले उहाँलाई बधाई दिएका छन् ।
लुलाका प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोले हार स्वीकार गर्न अस्वीकार गरे पनि वामपन्थी र दक्षिणपन्थी दुवै धारका नेताहरूले लुलाको जीतलाई स्वागत गरेका छन् । लुलाले ५१ दशमलव आठ प्रतिशत मत पाउँदा बोल्सोनारोले ४८ दशमलव दुई प्रतिशत मत प्राप्त गरे ।
मेक्सिकोकी वामपन्थी राष्ट्रपति क्लाउडिया शिनबामले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै लुलाको जीतप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले लख्नुभयो, “लोकतन्त्र अमर रहोस्, ब्राजिलका जनताको जित भएको छ ।”
क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले लुलालाई उहाँको ‘ऐतिहासिक जीत’ का लागि बधाई दिँदै यसले शान्ति, सार्वभौमसत्ता र सामाजिक न्यायको मार्गलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
अर्जेन्टिनाकी पूर्वराष्ट्रपति क्रिस्टिना किर्चनरले लुलालाई आफ्ना देशवासीको समर्थन प्राप्त गर्ने भावना र चेतना जगाउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँ हाल भ्रष्टाचारको आरोपमा नजरबन्दमा हुनुहुन्छ ।
उरुग्वेका राष्ट्रपति यामान्डु ओर्सीले लुलासँग कुराकानी गरेको जानकारी दिँदै उहाँलाई चुनावी जित र निर्वाचन प्रक्रियामार्फत अभिव्यक्त लोकतान्त्रिक उत्सवका लागि बधाई दिनुभयो ।
‘लोकतान्त्रिक दिन’
लुलाको जीतले अर्जेन्टिना, चिली, कोलम्बिया र पेरुजस्ता देशमा देखिएको दक्षिणपन्थी राजनीतिक उभारबिच ब्राजिलमा वामपन्थी नेतृत्वलाई निरन्तरता दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएको रूढिवादी लहरका बिच लुलाको जितलाई महत्वपूर्ण मानिएको छ ।
पेरुकी दक्षिणपन्थी नेतृ केइको फुजिमोरीले ब्राजिलको निर्वाचनलाई ‘लोकतान्त्रिक दिन’ भन्दै लुलालाई बधाई दिनुभयो ।
उहाँले एक्समा लेख्नुभयो, “म हाम्रो रणनीतिक गठबन्धन, एकीकरण, सहयोग तथा दुवै देशको साझा सम्पत्ति अमेजन क्षेत्रको दिगो विकासलाई सुदृढ बनाउने प्रतिबद्धता दोहो¥याउँछु । यसबाट दुवै देशका जनता लाभान्वित हुनेछन् ।”
बोल्सोनारोका निकट सहयोगी मानिने चिलीका नेता होसे एन्टोनियो कास्तले पनि एक्समा लेख्दै चिली र ब्राजिलको भविष्य उज्ज्वल र साझा रहेको बताउनुभयो ।
इक्वेडरका रूढिवादी राष्ट्रपति ड्यानियल नोबोआले लुलाको चौथो कार्यकालमा उहाँसँग सहकार्य गर्न आह्वान गर्नुभयो । उहाँले एक्समा लेख्नुभयो, “हाम्रो क्षेत्रमा साझा शत्रु र चुनौती छन् । हामीले मिलेर काम गर्दा धेरै कुरा हासिल गर्न सक्छौँ” ।
‘प्रगतिशील पुनरागमन’
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले लुलाको जीतलाई लोकतन्त्र र बहुपक्षीयताको जीतका रूपमा स्वागत गर्नुभयो । उहाँले ब्राजिलसँग युरोपको साझेदारी थप सुदृढ हुँदै गएको बताउनुभयो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लुलाको जीतलाई ‘प्रगतिशील पुनरागमन’को सुरुवातका रूपमा व्याख्या गर्नुभयो । आफ्नै देशमा आगामी निर्वाचनअघि जनमत सर्वेक्षणमा पछाडि रहेका सान्चेजले भन्नुभयो, “ब्राजिलमा जे भएको छ, त्यो स्पेनमा पनि हुनेछ ।” फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले ब्राजिलसँगको रणनीतिक साझेदारी सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
ब्राजिल सदस्य रहेको ब्रिक्स समूहका वर्तमान अध्यक्षसमेत रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुलालाई हार्दिक बधाई दिनुभयो । उहाँले भारत र ब्राजिलबिचको बहुआयामिक रणनीतिक साझेदारीलाई थप गहिरो र विस्तार गर्न मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभयो ।
चीनले पनि लुलालाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले साझा भविष्य भएको चीन–ब्राजिल समुदाय निर्माणलाई अघि बढाउन ब्राजिलसँग सहकार्य गर्न चीन इच्छुक रहेको बताउनुभयो ।
अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले लुला ब्राजिलका श्रमिक र लोकतन्त्रको पक्षमा उभिएको उल्लेख गर्दै आगामी चार वर्ष पनि त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
Leave a Reply