नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
– बीजी कुसी
दोलखा पनि भक्तपुरजस्तै ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको प्राचीन सहर हो । पहिले स्वतन्त्र राज्यको रुपमा रहेको दोलखाको नेवार बस्तीमाझ अहिले पनि विभिन्न परम्परागत नाचगान तथा पर्वहरू चालू छन् । दोलखामा खो पूजा, करुणामाई रथ यात्रा, काली भगवती रथ यात्रा, घण्टाकर्ण, गाईजात्रा, भैरव कुमारी जात्रा, इन्द्र जात्रा, खड्ग जात्रा, शिवरात्रि, माघे सङ्क्रान्ति, फागु पूर्णिमा आदि जात्रा तथा पर्व मनाइन्छ ।
दोलखा (द्वाल्खा) मा मनाइने विभिन्न जात्रामध्ये पहिलो या सुरुको जात्रा घण्टाकर्ण हो । श्रावण कृष्णपक्ष चतुर्दशीको दिन मनाइने सो जात्रालाई स्थानीय नेवारहरू गाठामा भन्छन् । उक्त जात्रा तलेजु भवानी मन्दिरको अगाडिको बाटोबाट सुरु गरी नेवार बस्तीको सहरभन्दा बाहिर छेरप्वाले भन्ने स्थानमा लगी जलाइन्छ । यसै दिन विश्वकर्माले घर–घरमा फलामको करुवा र औंठी ल्याई करुवा मूलढोकामा ठोकिदिने र औंलामा औंठी लगाउँछन् ।
भक्तपुर र दोलखामा बनाइने घण्टाकर्णको स्वरुप एउटै भए पनि घण्टाकर्ण बनाउने सामान फरक छन् । घण्टाकर्णको शरीर गाजाको बोटले बनाउँछ । नाङलोमा राक्षसको अनुहार बनाइन्छ । घण्टाकर्ण राक्षसको प्रतिमामा तलेजु मन्दिरमा विशेष पूजाआजापछि घाँटीमा खुकुरीले तीनपल्ट काटिन्छ र तानेर घिसार्दै सहरभन्दा बाहिर लगिन्छ । घण्टाकर्ण पर्वमा बाजा बजाउने र गाठामा घिसार्नेहरूलाई तलेजु भवानीको पुजारीले भवानीको प्रसाद दिन्छन् ।
घण्टाकर्ण पर्वलाई नियमित रुपमा सञ्चालन गर्न सरकारले गुठीको व्यवस्था गरेको थियो । त्यसबेलाका राजाले कालिञ्चोक खर्क, गैरी, मेहले, कुरी, टुटान, थामी, देउरालीमा गोठ राखेबापत उठाइएको करबाट सो घण्टाकर्ण जात्रा चलाउने गरिएको थियो । यस जात्रालाई विस १८८६ वैशाख १४ गते बिहीबार नेपालका तत्कालीन राजा राजेन्द्रविक्रम शाहले लालमोहर गरेको इतिहासमा उल्लेख गरिएको छ । गुठी सञ्चालनका लागि डोकुलुङ, डोकछेँ, कोरछेँ, बिहारछेँ, गुर्कोट, पिङ्गलका स्थानीय जनतालाई गुठियार नियुक्ति गरिएको थियो । हाल गुठी सञ्चालनका लागि तोकिएको स्थानबाट आयस्ता र आवश्यक सामान नजुटेपछि भीमेश्वर नपा, स्थानीय जनता, सङ्घ संस्था र गुठियारकै सहयोगमा सो जात्रा वर्षैपिच्छे चलिरहेको छ ।
घण्टाकर्ण गुठी सञ्चालन गर्न भीमेश्वर देवता स्थानमा दुई बोका, त्रिपुरासुन्दरीमा एउटा बोका र एउटा राँगो तलेजु भवानी मन्दिरमा एउटा बोकाको बलि चढाइन्छ । जात्राकै सिलसिलामा बाजागाजासहित भीमेश्वर मन्दिरमा देवीकोट (त्रिपुरासुन्दरी) मा पूजापछि बेलुकीपख घण्टाकर्ण तान्ने चलन दोलखाको रहेको छ ।
दोलखाको लाखे निकाल्ने नाच बडो मनोरञ्जनात्मक हुन्छ । जोङ राकस (लाखे) लाई बीचमा राखेर दायाँबायाँ दुईतिर लाखेको दुई जनाले दुई हात समातेर बाजाको तालमा नाच्दै मानिसलाई लखे्टने र कुट्ने अभिनय गरिन्छ । दिनभर शिकार गरेर राक्षसहरू रमाइलो गर्ने अभिनयमा बल्नीय राकस (रातमा नाच्ने लाखे) बाजाको तालमा नाचिन्छ । त्यस्तै अन्य राक्षसहरूको भेषमा दाउरेहरू पनि नाच्छन् ।
भाद्र कृष्ण प्रतिपदाको दिन गाईजात्रा मनाइन्छ । गाईजात्रालाई स्थानीयहरू सा प्याखन भन्छन् । यो जात्रा तल्लो टोल र माथिल्लो टोलबाट निकालिन्छ । यस जात्रामा गाईको रुपमा छाला ओढाई दुईजनालाई गाई बनाएर गोठाला दुईजनाले डोकोमा ठेकी, दूध दुहुने भाँडो आदि बोकेर नाचिन्छ । त्यससँगै मृत्यु भएको सम्झनामा जोगी या अनेक भेषमा मृदङ्ग, सहनाई र झ्यालीको तालमा दोलखाका सबै देवस्थलहरूमा परिक्रमा गर्छन् । सोही दिन धान नाच, व्यङ्ग्यात्मक प्रहसन र लाखे नाच टोल–टोलमा देखाइन्छ ।
भाद्र कृष्ण प्रतिपदाको दिन राति ट्वाकल प्याखन (१६ सय गोपिनी कृष्ण नाच) देखाइन्छ । यस जात्रामा एकातिर गोपिनी र अर्कोतिर कृष्णको भेषमा कलाकार हातमा लट्ठी लिएर नाच्छन् । यो जात्रा पिङ्गल टोलबाट सुरु भएर सहरका देवस्थल र चैत्य घुमेर सोही ठाउँमा पुगी अन्त्य गरिन्छ । भाद्र कृष्ण द्वितीयाको दिनदेखि षष्ठीसम्म दोलखामा रातभर भैरव–कुमारी नाच हुन्छ । यो जात्रा दोलखा सहरभित्रका देवस्थल नगर परिक्रमापछि सुरु हुने स्थानमै पुगेर अन्त्य गरिन्छ । उक्त जात्रा टसिचा टोलबाट निकाल्ने परम्परा छ । पहिले पिङ्गल टोलबाट ३ वर्ष र टसिचा टोलबाट दुई वर्ष पालैपालो निकाल्ने गरिन्थ्यो । यसरी नै माझिया राकस र खट प्याखन नाच पनि हुन्छ । जात्रामा बालकदेखि वृद्धहरूले प्रहसन र नृत्य आदि प्रदर्शन गरेका हुन्छन् ।
नाचगानलाई निरन्तरता दिने उद्देश्यले वाद्यवादनको संरक्षणमात्र होइन विकास गर्न बाजा संरक्षण समिति बनाइएको छ । यसरी अनेक नाचगान र जात्रा पर्व भएको दोलखा पुरानो बस्तीभित्र रहेका मन्दिर र चैत्यहरूको स्थिति भने नाजुक देखिन्छ । पुरानो बस्तीमा रहेका अनेक मन्दिर, पाटी र चैत्यहरू कुनै जीर्ण छन् त कुनैको अवशेषमात्र देखिन्छ । हाल तलेजु भवानी मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । भीमेश्वर मन्दिर र एक दुई वटा चैत्यबाहेक अन्य सबै मन्दिर र चैत्यहरूको पुनःनिर्माण गर्नुपर्ने देखिन्छ । भीमेश्वर मन्दिर जाने बाटोबाहेक अन्य बाटाहरू अव्यवस्थित छन् । नेवारहरूको बस्ती पनि भताभुङ्गको अवस्थामा छ । अन्य सम्पदाहरूको स्थिति हेर्दा सम्पदा संरक्षण गर्ने या पुरातात्विक विभाग कतै हराएको आभास हुन्छ ।
बस्ती सफा देखिँदैन । भूकम्प पीडित गरिब नेवारहरू अझै टहरामै छन् । अधिकांशले घर बनाउन सकेका छैनन् । केही धनी नेवारहरू बस्ती नै छोडेर कोही काठमाडौंमा त कोही अन्य क्षेत्रमा गएर जीवन निर्वाह गरिरहेको स्थानीहरूको भनाइ छ । भत्किएका घरहरूको पुनः निर्माण, सम्पदाको पुनःनिर्माण र मर्मत सम्भार गर्ने, बाटो व्यवस्थित गर्ने, सफा गर्ने काम तत्काल गर्नुपर्ने देखिन्छ । यस कार्यमा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
Leave a Reply