भर्खरै :

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन

–रमेश लम्साल
काठमाडौं, २४ मंसिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई सोमबार बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले आज रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउनुभएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ पक्षले अध्ययन प्रतिवेदन बुझाएको जानकारी दिंदै आगामी दिनमा के कसरी रेलमार्ग अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।
नेपाल–चीन रेल्वे को–अपरेशन समितिको सोमबारदेखि बैठक सुरु भएको जानकारी दिंदै प्रवक्ता चित्रकारले आधिकारिक प्रतिवेदन प्राप्त भएको र त्यसलाई थप प्रक्रियामा लैजानसमेत मार्गप्रशस्त भएको बताउनुभयो । सो समितिको बैठकका नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरू, विभागका महानिर्देशक बलराम मिश्र र अन्य प्राविधिक कर्मचारीको समेत सहभागिता रहेको थियो ।
बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनमा आधारित भएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको मार्गदिशा तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको थियो । चिनियाँ प्राविधिकसहितको टोलीले रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्नेसमेत कार्यक्रम तय गरेको छ । चिनियाँ प्राविधिक टोली मङ्गलबार रसुवाको स्थलगत भ्रमणमा जानेछ भने बुधबार काठमाडौं–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ ।
केरुङ–काठमाडौं रेलमार्गको दूरी करीब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करीब रु. तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । लगानी र निर्माण ढाँचालगायतका विषयमा छलफलका लागि मार्गप्रशस्त भएको जानकारी दिंदै प्रवक्ता चित्रकारले भन्नुभयो, “प्रक्रियामा प्रवेश गरेको छ । कुन प्रक्रिया र ढाँचामा अगाडि जाने भन्ने विषय पनि निकट भविष्यमा निक्र्योल हुन्छ ।”
यस्तै काठमाडौं–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ । आजको बैठकमा केरुङ–काठमाडौं रेलमार्गलाई विशेष प्राथमिकतामा राखी विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा घनिभूत छलफल भएको र चीनमा हुने आगामी बैठकमा सो विषयमा उपयुक्त निर्णय गर्ने सहमति भएको बताइएको छ ।
काठमाडौंबाट नुवाकोटको त्रिशुली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहितको सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेटिएको छ । यस्तै सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *