भर्खरै :

पनौती सङ्ग्रहालय सङ्कटमा

– जमुना धमला
काठमाडौं, २६ मंसिर । ऐतिहासिक महत्व बोकेको तथा नेवार संस्कृति र पहिचानसँग जोडिएर स्थापना भएको पनौती सङ्ग्रहालय अहिले प्रविधि र ज्ञानको अभावमा सङ्कटमा परेको छ ।
प्राविधिक ज्ञान र प्रविधिको कमीले पुरानो अभिलेख ‘ठ्याःसफू’ हस्तलिखित पुस्तकको उचित संरक्षण हुन नसकेको सङ्ग्रहालयका सचिव राजेन्द्र महाजुले बताउनुभयो । पुस्तकमा किरा लाग्न थालेकाले लोप हुने हो कि भन्ने डर सिर्जना हुन थालेको छ । उहाँले भन्नुभयो, “अहिले चार पुस्तक सङ्ग्रहायलमा छन् तर सुरक्षाको लागि उपयुक्त विषादी नभएका कारण दिनानुदिन यी पुस्तकलाई जोगाउनै गा¥हो भइरहेको छ ।”
सङ्ग्रहालय सर्वसाधारणका लागि २०६६÷६७ सालबाट खुला गरिएको थियो । प्रवेश शुल्क विदेशी नागरिकका लागि प्रतिव्यक्ति रु. ३००, सार्क राष्ट्रका नागरिकका लागि रु. १०० र नेपाली विद्यार्थीको लागि रु. १० शुल्क कायम गरिएको महाजुले बताउनुभयो । सङ्ग्रहालयमा विभिन्न लिच्छविकालीन, मल्लकालीन मूर्ति रहेका छन् । विशेषगरी मल्लकालीन समयमा लेखिएको २० औं शताब्दीका पुस्तक यस सङ्ग्रहालयमा रहेको छ । विशेषगरी नेवारी संस्कृति देख्न पाइने सङ्ग्रहालय संस्कृति प्रचार–प्रसारको अभावले ओझेलमा परेको छ । अहिले यसलाई प्रचार–प्रसार गर्ने माध्यम सामाजिक सञ्जाल मात्र बन्न पुगेको छ । यसका लागि राज्य पक्षबाट कुनै सहयोग नभएको सचिव महाजु बताउनुभयो ।
सङ्ग्रहालय अवलोकनका लागि दैनिक स्वदेशी तथा विदेशी पर्यटक गरी एक सयसम्म आउने गर्छन् । आर्थिक वर्ष २०६८÷६९ मा मात्रै २ हजार ९३३ पर्यटकले अवलोकन गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०६९÷७० मा ३ हजार ८१ ले, २०७०÷७१ मा ४ हजार ५२४ र ०७१÷७२ मा ४ हजार ७१४ ले सो सङ्ग्रहालयको अवलोकन गरेको महाजुले जानकारी दिनुभयो ।
त्यस्तै २०७२÷७३ मा २ हजार ८०९ ले, ०७३÷७४ मा ४ हजार ५३२ र ०७४÷७५ मा ५ हजार ८६४ अवलोकनर्ताले अवलोकन गरेका थिए । सबैभन्दा बढी विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेको पाइन्छ ।
सङ्ग्रहालयले पनौतीमा भएका पुरातात्विक सम्पदाको प्रचार–प्रसार गरेको छ । साथै स्थानीयलाई नेवारी संस्कृति र कलाका बारेमा बुझ्ने अवसरसमेत मिलेको छ । सङ्ग्रहालयमा धातुका विभिन्न मूर्ति तथा काष्ठकलाका १५ औँ शताब्दीको मूर्तिसमेत रहेको छ । विशेषगरी खुँडा, भाला, देवी नाचको मुकुन्डो सङ्ग्रहालयमा रहेका छन् । यसका साथै नेवारी समुदायले प्रयोग गर्ने विभिन्न प्रकारका पूजाका भाँडाकुँडा, नेवारी जनजीवनमा प्रयोग हुने भान्छाका भाँडा सङ्ग्रहालयमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *