यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सरोजराज गोसाई
(१२५ औं माओ त्से तुङ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागको आयोजनमा बुधबार आयोजित कार्यक्रममा व्यक्त मन्तव्य)
का. माओ त्सेतुङको नाम लिनेबित्तिकै हाम्रोसामु एउटा विराट व्यक्तित्वको झझल्को आउँछ । फराकिलो निधार, तेजिला आँखा, चिउँडोमा एउटा कोठी । केटाकेटी बेला हामीले सन्तोष अध्ययनको शत्रु हो भन्ने भनाइबाट माओलाई चिन्यौं र अध्ययनको महत्वमात्र होइन, अध्ययन गर्न कहिल्यै थाक्नुहुन्न र जीवनपर्यन्त अध्ययनलाई जारी राख्नुपर्ने भावना आत्मसात गर्यौँ ।
हाम्रा आदरणीय नेता का. रोहितले भन्नुभएझैं का. माओबाट हामी निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावना सिक्दैछौँ ।
अमेरिकी लेखक एड्गर स्नोका ‘चिनियाँ आकाशका रातो तारा’, का. माओले संसार झलमल्ल पार्ने क्रान्तिकारी विचारमात्र दिनुभयो । का. माओ संसारको व्याख्याको साथै संसार बदल्ने एक सूत्रधार, एक अभियन्ता, एक लडाकू, एक कुशल नेतृत्वकर्ता, एक कुशल रणनीतिज्ञ, एक कुशल राजनीतिज्ञ, एक सिद्धहस्त लेखक तथा साहित्यकार, आदि विशेषणबाट विभूषित हुनुहुन्छ । का. माओलाई माक्र्सवादलाई चिनियाँ भूमिमा सही एवम् सफल प्रयोग गर्ने क्रान्तिकारी नेताको रूपमा विश्वले सम्झिरहेको छ ।
बाल्यकालमै माओ सामाजिक हुनुहुन्थ्यो, विद्रोही हुनुहुन्थ्यो । उहाँ वीर कथामा रुचि राख्नुहुन्थ्यो । देशलाई बचाउन वाचा गर्ने युवा माओको क्रान्ति चेत तत्कालीन परिवेश र पुस्तकले खोलेको भन्न सकिन्छ । उहाँको क्रान्तिकारी भावनामा धार लगाउने काम उहाँका कलेजका शिक्षकहरूले गर्नुभयो । देश बचाउनेबारे कलेज शिक्षकको भाषण, पेकिङ विश्वविद्यालयका पुस्तकालय अध्यक्षको पुस्तक पढ्नेबारे मार्गनिर्देशन का. माओका लागि ‘श्रीखण्ड’ भए । हुनानको एक गाउँमा जन्मिएर पनि पटक्कै हिनताबोध नगरी का. माओ आफ्नो क्रान्तिकारी व्यक्तित्व निर्माण गर्न दिनरात लाग्नुभयो । ‘देश ध्वस्त हुँदैछ’ भन्ने पुस्तकबाट चिन्तित युवा माओ ‘जनताको शक्ति’ पत्रिकाका आलेखहरूबाट उत्साहित हुनुहुन्थ्यो ।
मञ्चु सरकारविरुद्ध लड्न का. माओ क्रान्तिकारी फौजमा भर्ना हुनुभयो, जीत पनि हासिल भयो । पुँजीवादी विचारका डा. सन यात्सेन चीनको राष्ट्रपति हुनुभयो तर सन यात्सेनको सरकार टिकेन । सामन्ती सरकारको पुनःस्थापना भयो । सन यात्सेनले क्रान्तिलाई निरन्तरता दिन सक्नुभएन । का. माओ पल्टन छोडेर फेरि विद्यार्थी बन्नुभयो । व्यापारशास्त्र नपढ्दा घरबाट पैसा रोकियो । तर, क्रान्तिकारीलाई कुनै बन्देजले छेक्न सक्दैन । पुस्तकालयमा गई अध्ययनलाई निरन्तरता दिन थाल्नुभयो । विश्व ज्ञानको सागरमा डुबुल्की मार्ने एक सुनौलो अवसर बन्यो । झुसिल्किराले पात खाएझैं पुस्तकको ज्ञान आफ्नो दिमागमा समाहित गर्ने अध्ययनमा बितेका ती दिन का. माओको निम्ति अत्यन्तै महत्वपूर्ण प्रमाणित भयो ।
का. माओ शिक्षक तालिम दिने कलेजमा पनि भर्ना हुनुभयो तर पाठ्यपुस्तकमात्रले उहाँको ज्ञानको भोक मेट्नसक्ने कुरै भएन । विश्वको ज्ञानको खोजीमा उहाँ सदा निमग्न हुनुहुन्थ्यो । क्रान्तिकारी सिद्धान्तको ज्ञानले मात्र कोही क्रान्तिकारी हुन्न बरु उनले क्रान्तिकारी गतिविधिमा पनि संलग्न भएको हुनुपर्छ भनेझैं का. माओले आफूले पढेको कलेजमा विद्यार्थी सङ्गठन खोल्नुभयो र क्रान्तिकारी गतिविधिको नेतृत्व गर्नुभयो ।
चिनियाँ युवाहरू विदेश पलायन भइरहेको बेला का. माओ भने पेकिङ विश्वविद्यालयको पुस्तकालयका कारिन्दा बन्नुभयो, तर पुस्तकहरूमा घोत्लिइरहने नशाले उहाँलाई कहिल्यै छोडेन । उतिबेला पुस्तकालयका अध्यक्ष लि ताचाओ र प्राध्यापक याङ उहाँका प्रेरक हुनुहुन्थ्यो ।
सन् १९१९ मा साम्राज्यवादी देशहरूले विश्वको भागवण्डा गर्ने क्रममा चीनलाई टुक्रा टुक्रा पारी आफ्नो अधीनमा राख्ने जालसाझी गरे । पेकिङमा विद्यार्थीले आन्दोलन गरे । ४ मईमा सुरु भएको आन्दोलनको आगो देशभर डढेलोझैं फैलियो । का. माओले पत्रिकामार्फत आन्दोलनको समर्थनमा लाग्नुभयो ।
सन् १९१९ को जून २८ मा फ्रान्सको पेरिसमा हुन लागेको विभिन्न देशको भागवण्डाको सन्धिको विरोधमा चीनमा मजदुर आन्दोलन अगाडि बढ्यो । विदेशी सामान बहिष्कारको आन्दोलनको डरले चीन सरकार सन्धिमा हस्ताक्षर गर्न हच्कियो ।
का. माओ आफू जन्मिएको हुनान प्रान्तको क्रान्तिकारी गतिविधिमा हेलिनुभयो । सन् १९२१ को जुलाई २१ को दिन शाङ्घाइमा भएको क्रान्तिकारीहरूको भेलामा का. माओ हुनान प्रान्तको प्रतिनिधि हुनुहुन्थ्यो । त्यही भेलाले चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना ग¥यो । अब नयाँ जोश र जाँगरका साथ का.माओ आफ्नो जन्म र कर्म क्षेत्रमा लाग्नुभयो । सबभन्दा पहिले पार्टी तालिम कलेज सञ्चालन थाल्नुभयो । चेतनाको प्रवाह गर्न पत्रिका प्रकाशन थाल्नुभयो । मजदुर र किसानको सङ्गठनलाई तीव्रता दिनुभयो । मजदुरमाथिको शोषण बयान गरी साध्य थिएन । शोषित पीडित मजदुरहरूलाई माक्र्सवादको क्रान्तिकारी हतियारले लैस गर्न रात्री कक्षाहरू सञ्चालन गर्नुभयो । यसरी का. माओ एक सच्चा युवा कम्युनिष्ट बन्नुभयो ।
माओ त्सेतुङले अति पिछडिएका कृषिप्रधान देशमा क्रान्ति सम्पन्न गर्नुभयो । माक्र्स वा लेनिनभन्दा अगाडि बढेर चीनमा उहाँले किसान क्रान्ति सम्पन्न गर्नुभयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा स्वदेशी पुँजीपति वर्गलाई पनि समेटेर माओले क्रान्तिलाई अगाडि बढाउनुभयो । यसलाई का. माओले नौलो जनवादी क्रान्तिको नाम दिनुभयो । यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपछि समाजवादी निर्माण–कार्यको थालनी भयो । आजको चीनले चिनियाँ विशेषताको समाजवादी व्यवस्थाको अभ्यास गरिरहेको छ ।
तत्कालीन सोभियत संशोधनवादको विरुद्ध माक्र्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरूको रक्षा गर्न का. माओ उभिनुभयो । १९५३ मा स्तालिनको निधनपछि सोभियत सङ्घको कम्युनिष्ट पार्टीको नेतृत्व संशोधनवादी, विश्वासघाती खु्रश्चेवभले हत्यायो । त्यस नेतृत्वले महान स्तालिनको नाम र कामहरूलाई बद्नाम गर्ने प्रयत्न ग¥यो । साम्राज्यवाद र प्रतिक्रियावादको हितमा माक्र्सवाद–लेनिनवादका शिक्षाहरूलाई संशोधन र तोडमरोड ग¥यो । ती संशोधनवादीहरूले क्रान्तिकारी वर्ग–सङ्घर्ष, समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकत्वको माक्र्सवादी सिद्धान्तप्रति विश्वासघात गरेर कम्युनिष्ट आन्दोलनलाई संशोधनवादी बाटोमा लैजान खोजे । संशोधनवादविरुद्धको सङ्घर्षको अग्रमोर्चामा माओ त्सेतुङ हुनुहुन्थ्यो ।
पूर्वसोभियत सङ्घ सामाजिक साम्राज्यवादमा पतन भएपछि र विश्व प्रभुत्वको लागि दुई महाशक्तिहरूमाझ होडबाजी चलेको बेला का. माओले सर्वहारा अन्तर्राष्ट्रवादलाई दृढ रुपमा समर्थन गर्दै युद्ध र आक्रमणका नीतिहरू, महाशक्ति तथा क्षेत्रीय प्रभुत्ववाद र ठूलो–राष्ट्र अहङ्कारवादको दृढ रुपमा विरोध गर्नुभएको यहाँ उल्लेखनीय छ । का. माओले अमेरिकी साम्राज्यवादलाई कागजी बाघ भनी विश्वका न्यायप्रेमी जनतालाई ढाडस दिनुभयो । चीनले अन्य देशहरूसितको सम्बन्धमा कहिले पनि प्रभुत्व नखोज्ने कुराको घोषणा गर्नुभयो । विदेश मामिलाको सम्बन्धमा उहाँले विश्व शोषित–पीडित राष्ट्र तथा जनताहरूसित एकतालाई बलियो पार्ने, प्रभुत्ववादी तथा विस्तारवादी प्रयासहरूको विरोध गर्ने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको दृढ रुपमा अनुसरण गर्ने कार्यदिशा लिनुभयो ।
दर्शनको क्षेत्रमा पनि माओ त्सेतुङले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँले लेख्नुभएको व्यवहारबारेको लेख हाम्रो निम्ति पनि पठनीय छ । चीनको क्रान्तिकारी युद्धमा रणनैतिक समस्याहरू, दीर्घकालीन युद्धबारे, जापानविरोधी छापामार युद्धमा रणनैतिक समस्याजस्ता उहाँका सैनिक कृतिहरूले माक्र्सवादको सैनिक सिद्धान्तको भण्डारलाई निकै समृद्ध र विकसित गरेका छन् । यस्तै, नौलो जनवादबारेको पुस्तकले क्रान्तिसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तको क्षेत्रमा ठूलो योगदान दिएको छ । त्यतिमात्र होइन पार्टी निर्माण, समाजवादी क्रान्ति र निर्माण, विदेश सम्बन्ध आदिमा उहाँका सैद्धान्तिक योगदानहरू महत्वपूर्ण छन् ।
मानिसको चिन्तन, प्रवृत्ति, आचार, विचार र संस्कारमा क्रान्ति नभएसम्म आर्थिक र राजनीतिक क्रान्तिहरूको स्थायित्व हुँदैन भन्ने विचारसाथ सन् १९६६ मा सर्वहारा सांस्कृतिक क्रान्ति भयो । का. माओले अरुतिर चोर आंैला देखाउनुभन्दा पहिले आफूभित्रको शत्रुलाई चिन, पहिले आफ्नो पुरानो दिमागमा आगो सल्काऊ भन्नुभएको थियो । सांस्कृतिक क्रान्तिले सफलता नपाए पनि त्यसले एउटा युगान्तकारी प्रभाव जमाएको छ ।
सारमा भन्नुपर्दा का. माओ कुशल सङ्गठनकर्ता, माक्र्सवादी विचारक तथा सिद्धान्तकार, महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ र महान सर्वहारा योद्धा हुनुहुन्छ । सिद्धान्त तथा व्यवहारबीच एकताका चहकिलो प्रतीक हुनुहुन्छ । यही कुरा का. माओको जीवनबाट सिकौं ।
Leave a Reply