भर्खरै :

मौलिक शैलीमा सम्पदा संरक्षण गर्नु जरुरी

मौलिक शैलीमा सम्पदा संरक्षण गर्नु जरुरी

कुनै पनि स्थानको सम्पदा संरक्षण गरेर जीवन्तता दिनुपर्छ । सम्पदा संरक्षण गर्नुको अर्थ उहिलेको संरचना जोगाउनुमात्र होइन त्यसको मौलिकता कायम गर्नु हो । मौलिकता आफ्नोपन हो, पहिचान हो । सम्पदा संरक्षण गरिएन भने आफ्नो भन्ने कुरा केही हुँदैन । संरक्षणको नाउँमा मौलिक सम्पदा म्हास्दै आधुनिक संरचना निर्माण गर्दै गयो भने भोलि आफ्नो मौलिकता र आफ्नो पहिचानको कुनै नाम निसाना हुनेछैन । आफ्नो स्थानको मौलिकता जोगाएर नयाँ पुस्तालाई सुसूचित गर्न नसके पछिल्लो पुस्ताले देशको ऐतिहासिकता र सांस्कृतिक महत्वको सम्पदा कसरी चिन्छ ? अचेल मौलिक सम्पदा संरक्षणको नाउँमा आधुनिक सामग्री या कङ्क्रिटको अधिक प्रयोग भइरहेको विज्ञहरूको भनाइ रहेको छ ।
कुनै मौलिक सम्पदा मठ, मन्दिर, सत्तल, पार्टी, चैत्य, स्तुप, विहार भूकम्प, जीर्ण भएर या जुनसुकै कारणले भत्केर पुनःनिर्माण गर्दा आधुनिक ढङ्गले पनि पुनःनिर्माण गरिएको हामीले देखेका छौँ । त्यो समयमा सम्पदा पुनःनिर्माण गर्नु राम्रो पक्ष मानिएला । तर, आधुनिक शैलीको कारण त्यसले सम्पदा स्थललाई गिज्याइरहेको हुन्छ । कुनै मन्दिरको आकार र शैली नै फरक गरी बनाइएको सम्पदाको फोटो, चित्र वा अरु सङ्केत छ भने त्यसको आधारमा मौलिक शैलीमा सम्पदा पुनःनिर्माण गर्नुपर्छ । विश्व सम्पदा स्थल टौमढीनेर रहेको लक्ष्मीसिंह मन्दिर पुनःनिर्माण गर्नुभन्दा अघि सानो मन्दिरजस्तो पनि होइन, बनाइएको थियो । त्यो सय वर्ष पुरानो भयो, त्यो नै सम्पदा भयो भनेर वास्तविक मन्दिरको आकार नदिई बनाइयो भने त्यो कसरी मौलिक सम्पदा हुन्छ ?
लाय्कु दरबार सँगै रहेको फर्सी आकारको ‘फसिदेग’ मन्दिर अर्कै शैलीको थियो । फसिदेग भनिएको त्यो मन्दिर यथार्थमा सिलु महाद्यो हो । पहिलेको त्यो फसिदेग सय वर्षभन्दा पुरानो भयो भनेर मौलिक शैलीको नबनाई अर्कै शैलीमा बनाइयो भने त्यो मौलिक सम्पदा कसरी हुन्छ ? विश्वकै सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रमा रहेको न्हेखं झ्यो दरबार आधी आधुनिक र आधी मौलिक शैलीमा रहेको छ । आधुनिक शैलीको त्यो दरबार यथावतै पुनःनिर्माण गरियो भने सय वर्ष पुरानो भए पनि त्यो मौलिक हुँदैन । भनपा वडा नं. ९ मा रहेको ब्रह्मायणी मन्दिर पनि अर्कै शैलीमा पुनः निर्माण गरिएको थियो । हालको ब्रह्मायणी मन्दिर मौलिक शैलीको कदापि होइन । त्यो मन्दिर पनि सय वर्षभन्दा बढी हुन लाग्यो भनेर मौलिक शैलीमा पुनःनिर्माण नगरी आधुनिक या अर्कै शैलीमा पुनःनिर्माण गरेर त्यो कसरी मौलिक हुन्छ ?
सम्पदालाई जीवन्तता दिन मौलिक शैलीमा निर्माण गर्नुपर्छ । मौलिक शैलीमा पुनःनिर्माण गर्न आर्थिक समस्या भयो भने केही समयको लागि मर्मत सम्भार गर्नु अर्को पाटो हो । यस विषयमा पुरातत्व विभाग सचेत र जिम्मेवार हुनुपर्ने हो । सम्पदा संरक्षणको जिम्मा बोकेको पुरातत्व विभाग या विभागका उच्चपदस्थ व्यक्तिहरू नै जुनसुकै आधुनिक भवन, मन्दिर, घर, सत्तल, चैत्य या अन्य वस्तुलाई सय वर्षभन्दा बढी भयो भनेर आधुनिक शैलीमा पुनःनिर्माण गर्नुपर्छ भनेर अडानमा बस्यो भने मौलिकता कसरी कायम हुन्छ ? विश्व सम्पदा सूचीमा सूचिकृत विभिन्न सम्पदाहरू नेपालको मात्र होइन विश्वकै सम्पत्ति हुन् । विश्व सम्पदामा सूचिकृत मौलिक सम्पदालाई आधुनिक शैलीमा स्वरूप परिवर्तन गर्नु पुरातत्वविद्हरूलाई सुहाउँदैन । पुरातत्व विभाग र सम्पदाप्रेमीहरूबिच विवाद भएरै कति आधुनिक शैलीका सम्पदाहरू पुनःनिर्माण नभएर त्यसै थन्किरहेको पाइन्छ । सम्पदा संरक्षण गर्ने काम पुरातत्व विभागको हो । तर, त्यस निकायकै ध्यान गएको छैन । त्यस निकाय या अरु कनै देशी या विदेशी सङ्घ संस्थाबाट अवरोध सिर्जना गर्नु, दबाब दिनु या रोक्नु असल नियत होइन । ती सम्पदाहरू जतिसुकै वर्ष भए पनि मौलिक शैलीमा पुनःनिर्माण गर्दा के बिग्रिन्छ र !
आधुनिक सम्पदालाई मौलिक शैली कायम गर्दा के त्यो सम्पदा हुँदैन ? यदि कुनै मौलिक सम्पदा कारणबस क्षति भएर कुनै बेला आधुनिक शैलीमा निर्माण गरिएको छ भने त्यो फेरि त्यस्तै पुनःनिर्माण गर्नुपर्छ भनी जोड दिनु बुद्धिमानी हुनेछैन । अन्यथा, संरक्षणको नाममा हुने पुनः निर्माणले ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको सम्पदा संरक्षित हुनेछैन† पहिलेको सम्पदा स्थल, जीवित सङ्ग्रहालय क्रङ्क्रिट या आधुनिक सम्पदा स्थल हुनेछ । यसले पछि नयाँ पुस्तामा मौलिक शैलीको घर, भवन, मन्दिर, मठ, चैत्य, स्तुप, विहारको जानकारी हुनेछैन । जेठ २८ गतेको ‘अन्नपूर्ण’ पोस्ट दैनिकमा लेखियो, ‘मासिँदै सम्पदा, नासिँदै पहिचान’ शीर्षकको समाचार । पुरातत्व विभागको यस्तै अदूरदर्शिता र अपरिपक्व बुद्धिको कारण उपत्यकाका सम्पदा स्थलहरू बेलाबखत खतराको सूचीमा परेको हो । अतः विश्व सम्पदा स्थललाई जीवित सङ्ग्रहालयकै रूपमा कायम गर्न आधुनिक होइन मौलिक शैलीमै सम्पदाको मर्मत सम्भार, जीर्णोद्धार र पुनःनिर्माण गर्नुपर्छ । नत्र मौलिक सम्पदा नासिँदै जानेछ र कालान्तरमा यहाँ मौलिक सम्पदा भन्ने हुनेछैन । मौलिक शैलीमा सम्पदा संरक्षण गर्न पहिलेको निर्णय पनि संशोधन गर्न सम्बन्धित निकाय अग्रसर हुनुपर्छ । नत्र, सांस्कृतिक सम्पदा सङ्कटमा पर्छ र मौलिकता हराउँदै जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *