भर्खरै :

‘समवेदना’ को ठाउँमा ‘बधाई’ !

बुधबार परराष्ट्र मन्त्रालयबाट जारी वक्तव्यले खैलाबैला मच्चायो । इन्डोनेसियामा ज्वालामुखी विस्फोटनसँगै उठेको सुनामीको कारण जनजीवनमा परेको प्रतिकूल प्रभावप्रति दुःख व्यक्त गर्दै नेपालका राष्ट्रपतिले इन्डोनेसियाका राष्ट्रपतिलाई समवेदना प्रकट गरेको खबर सम्प्रेषण गर्न सो वक्तव्य जारी भएको देखिन्छ । तर वक्तव्यमा समवेदनाको लागि अङ्ग्रेजी शब्द ‘Condolenlences’ को सट्टा ठीक विपरीतार्थक शब्द ‘Congratulations’ (नेपाली अर्थ ‘बधाई’) प्रयोग भएको देख्दा धेरै नेपालीले लज्जाबोध गरे । दुःख व्यक्त गर्नुपर्ने ठाउँमा बधाई दिंदा नेपालको कर्मचारीतन्त्रप्रति धेरैले आक्रोश पनि पोखे । यसबाट देशकै बेइज्जत भएको छ ।
कूटनीतिक क्षेत्र मूलतः शब्द र भाषामै खेलिने क्षेत्र हो । यो क्षेत्रमा शब्दको प्रयोग र हाउभाउबाट धेरै अर्थ बुझ्नुपर्ने र निकाल्नुपर्ने हुन्छ । ठीक ठीक आशयका ठीक ठीक शब्द प्रयोगमा कमजोरी हुँदा अर्थको अनर्थ हुने गर्दछ । सामान्य जीवनमा शब्द प्रयोगमा हुने कमजोरीले कसैको मनसम्म दुख्न सक्ला, केही विवाद वा झगडा होला । तर जब कूटनीतिक क्षेत्रमा गलत शब्दको प्रयोग हुन्छ, त्यसले देशको दिशा र इतिहास पनि परिवर्तन हुनसक्छ । प्रथम विश्वयुद्धपश्चात् विजेता देशहरूले जर्मनीमाथि प्रयोग गरेका अपशब्दले नै दोस्रो विश्वयुद्धको गर्भाधान भयो । मानव समाजले ठूलो क्षति भोग्नुप¥यो । संसारको इतिहासको गति बदलियो ।
केही समयअघि भारतमा आयोजित एउटा अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा एक जना कर्मचारीले चिनियाँ राष्ट्रपति सी जिनपिङको नाम लिने क्रममा ‘एलाभेन जिनपिङ’ भनेछन् । अङ्ग्रेजीमा सीलाई ‘ह्ष्’ लेखिन्छ । कर्मचारीले त्यही ‘ह्ष्’ लाई रोमन अङ्क ‘एघार’ बुझेछन् । त्यसैकारण उनले सी जिनपिङलाई ‘एलाभेन जिनपिङ’ भनेछन् । उनले यो गल्तीको सजायस्वरुप आफ्नो जागिरबाट हात धुनुपरेको थियो ।
के बुधबारको वक्तव्यमा भएको लापबाहीको लागि परराष्ट्र मन्त्रालयका सम्बन्धित कर्मचारीमाथि कारबाही होला ? सरकार साँच्चै कूटनीतिक मामिलामा संवेदनशील र गम्भीर हुने हो भने सरकारले गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्छ ।
परराष्ट्र मन्त्रालयका कर्मचारी विषयविज्ञ हुनुका साथै अन्तर्राष्ट्रिय भाषामा पारङ्गत पनि हुन जरुरी छ । भाषामा पारङ्गत नहुँदा विषयवस्तुमा अल्पज्ञानमात्र नभई आत्मविश्वासको समेत कमी हुने गर्दछ । राजनीतिक नेतृत्वमा यस्ता सबै निपुणता नहुनसक्छ । त्यसकारण कर्मचारी अझ योग्य हुनुपर्ने हो । तर भनसुन, जातभात, निकटवर्ती भएको भरमा जागिर खाने–खुवाउने गलत प्रचलनका कारण यस्ता कमजोरी हुने गरेका छन् । यो नै पहिलो घटना भने होइन ।
अङ्ग्रेजीमा मात्र नभई मन्त्रालय र सरकारी कार्यालयबाट सार्वजनिक हुने अन्य नेपाली भाषाका वक्तव्यमा समेत हिज्जे र व्याकरणिक गल्ती हुने गरेका छन् । यसले हाम्रो कर्मचारीतन्त्रको जुम्सोपना र अयोग्यता परावर्तन भइरहेको देखिएको छ ।
भारतमा एउटा भनाइ छ – “बेलायतीहरूले भारत त छोडेर गए, तर आफूले बनाएको कर्मचारीतन्त्र भनेसँगै जान बिर्सेछन् ।” भारतको पछौटेपनाका धेरै कारणमध्ये आज पनि भारतीय कर्मचारीतन्त्रलाई लिने गरिएको छ । आज यो भनाई नेपालकै सन्दर्भमा पनि समान रुपमा लागू भइरहेको छ । विदेशीसामु लघुताभासबाट पीडित हुने अनि आफ्नै देशभित्रका जनतासामू शासकजस्तो व्यवहार गर्ने कर्मचारीतन्त्र नै विकासका बाधक हुन् ।
कर्मचारी सङ्गठनको नाममा कर्मचारीले गलत काम गरे पनि संरक्षण गर्ने, अझ गलत काम गर्नेलाई राजनीतिक संरक्षणका आधारमा प्रोत्साहन दिने अवस्थाले कर्मचारीतन्त्रभित्रको यो अयोग्यता र अल्पज्ञानताको समस्या कदापि हट्नेछैन । यसले जुनसुकै सरकारलाई बदनाम गर्नेछ र सत्ता भएसम्म नेताहरूलाई नाङ्गो बादशाहको प्रशंसा गरेजस्तै प्रशंसा गरिरहनेछ ।
कर्मचारीलाई उसको योग्यताअनुसारको काम जिम्मा लगाउनुपर्छ । अयोग्य मानिसलाई पनि बुइँ चढाउनु वा गलत काम गर्नेलाई संरक्षण गर्नु अर्को गल्ती हो । कर्मचारीबाट हुने यस्ता लापरबाहीमाथि सरकारले कारबाही गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *