भर्खरै :

क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ

  • जेष्ठ २८, २०८३
  • चे ग्वेभारा
  • विचार
क्रान्तिकारी चेतना र उत्पादनको मोर्चा : क्युवाली अनुभवको सन्दर्भ

समाजवाद निर्माणका चुनौती र श्रमिकहरूको भूमिका
साथीहरू ! हामी अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा हाम्रो देशको उत्पादनको सेवामा र समाजवाद निर्माणको महान् उद्देश्यको सेवामा आफ्नो प्रयासद्वारा हाम्रो मन्त्रालयअन्तर्गतका विभिन्न प्रतिष्ठानहरूमा आफूलाई अग्रदस्ता श्रमिकका रूपमा स्थापित गरेका ती साथीहरूलाई सम्मान गर्न पुनः एकपटक भेला भएका छौँ ।
गत वर्षका बा¥ह महिनामा, हामीले ती साथीहरूसँग समय–समयमा कुराकानी गरेका छौँ, जसले कामप्रतिको आफ्नो समर्पणद्वारा महिनैपिच्छे हाम्रा प्रतिष्ठानका सम्पूर्ण श्रमिकहरूको बिचमा आफूलाई उत्कृष्ट साबित गरे ।
हामीले बारम्बार भन्दै आएका छौँ– अग्रदस्ता श्रमिकहरूको हकमा अत्यधिक नम्रता सद्गुण नभएर एउटा दोष हो† अग्रदस्ता श्रमिकले आफ्नो उदाहरण प्रस्तुत गर्नुपर्छ, यसलाई जीवन्त र स्पष्ट बनाउनुपर्छ, यसको सञ्चार गर्नुपर्छ र यसलाई टाढा–टाढासम्म फैलाउनुपर्छ । उसले आफ्नो उत्साह अन्य सबै साथीहरूमा सञ्चार गराउनुपर्छ र आफ्नो व्यक्तिगत प्रयासलाई सबै श्रमिकहरूको एउटा विशाल, एकीकृत र सामूहिक प्रयासमा रूपान्तरण भएको सुनिश्चित गर्नुपर्छ । उसले अग्रदस्ता कारखानाहरूको प्रयासलाई देशका सम्पूर्ण कारखाना र उत्पादनका सबै केन्द्रहरूको ठुलो सामूहिक प्रयासमा बदल्न मद्दत गर्नुपर्छ । उसले समाजवाद निर्माणका लागि आवश्यक भौतिक प्रचुरता र कठिन क्षणहरूमा देशको रक्षाका लागि आवश्यक यसका छोराछोरीहरूको चेतनाको अविनाशी शक्ति दुवै प्राप्त गर्नका लागि कार्यदक्षता र हाम्रा जनताको चेतना दुवैलाई एकसाथ गहिरो बनाउँदै लैजानुपर्छ ।
पूरा एक वर्षभरि यी दुई कार्यहरू पूर्ण रूपमा सम्पन्न भएका छन् ।
त्रुटिबिना होइन, थोरै वा धेरै गम्भीर गल्तीबिना होइन, अनि फेरि सही बाटोमा फर्कनका लागि भएका भूल, ठक्कर र पछाडि हटेका कदमबिना पनि होइन । तर, अदम्य उत्साह र सन् १९६२ को हाम्रो कार्यप्रतिको पूर्ण समर्पणका साथ हामीले हाम्रो समाजको जगलाई अझ मजबुत बनायौँ । हामीले सम्पूर्ण विश्वमा क्रान्तिकारी चेतनाको विकासमा पनि योगदान पु¥यायौँ, जब याङ्की (अमेरिकी) आक्रमणकारीको आणविक धम्कीको सामना गर्दै हाम्रा सम्पूर्ण जनता गत अक्टोबर र नोभेम्बरमा जुर्मुराए र यस्तो जवाफ दिए जुन निःसन्देह इतिहासमा लेखिनेछ ।
यो एउटा उदाहरण थियो– कसरी क्रान्तिमा होमिएका जनताले ठुलाभन्दा ठुला खतराहरू, यहाँसम्म कि स्वयम् आणविक विनाशको धम्कीको समेत सामना गर्न सक्छन् – जुन धम्की विश्व इतिहासका अन्य समाजका लागि अज्ञात थियो । यो एउटा उदाहरण थियो– कसरी क्रान्तिकारी चेतना र विजय प्राप्त गर्ने दृढ सङ्कल्प, अनि समाजवादी कित्ताका सबै देशहरू र विश्वभरका तमाम स्वतन्त्र मानिसहरूको जुझारु ऐक्यबद्धताका साथ, पृथ्वीको सबैभन्दा आक्रामक र शक्तिशाली साम्राज्यवादी शक्तिको ढोकामै बसिरहेको एउटा सानो राष्ट्रले विजय हासिल गर्न सक्छ, आफ्नो सार्वभौमसत्ता कायम राख्न सक्छ र सबैभन्दा महत्वपूर्ण कुरा, आफ्नो समाजको निर्माण कार्यलाई निरन्तर अगाडि बढाउन सक्छ ।
साथीहरू ¤ उत्पादनको मोर्चामा हामीलाई सुम्पिएको केन्द्रीय कार्य भनेको जस्तोसुकै खतराको धम्की भए पनि वा जस्तोसुकै कठिनाइहरू पार गर्नुपरे पनि निरन्तर निर्माण कार्यलाई अगाडि बढाउनु हो । यो त्यही कार्य हो जसलाई हामीले विकास र परिष्कृत गर्दै लगिरहेका छौँ ।
प्रत्येक बित्दो वर्षसँगै हामीले कम्तीमा पनि कम गल्तीहरू गरिरहेका छौँ† प्रत्येक वर्ष हामी आफ्नै त्रुटी र अन्य देशका जनताका अनुभवबाट सिकिरहेका छौँ । यसरी हामीले यस देशमा भविष्यको एक शक्तिशाली, स्वायत्त र आत्मनिर्भर उद्योगको आधार निर्माण गरिरहेका छौँ– एउटा यस्तो देश जसले आफ्नो माटोको उर्वरता, अनुकूल जलवायु र तुलनात्मक रूपमा न्यून जनघनत्वमा आधारित आफ्नो विशाल कृषि सम्पदामा भर पर्नुपर्नेछ ।
तपाईँहरू सबैलाई थाहा छ– क्युवामा कति ठुलो सङ्ख्यामा निरक्षरहरू थिए । हामी सबै त्यस लडाइँका साक्षी र कुनै न कुनै रूपमा सहभागी हौँ, जुन हामीले अज्ञानता– यस अवस्थामा निरक्षरताविरुद्ध लडेका थियौँ र यो अन्य कुनै पनि लडाइँ जत्तिकै वीरतापूर्ण थियो ।
तर, निरक्षरता त जनताको सांस्कृतिक शून्यताको एउटा चरम रूपमात्र हो । जसले पढ्न र लेख्नमात्र सिक्छ, उसले संस्कृतितर्फको पहिलो पाइलामात्र चालेको हुन्छ तर अझै यसमा केही योगदान दिन भने सक्दैन ।
आधुनिक प्रविधि विशाल फड्को मार्दै अगाडि बढिरहेको छ । यस देशमा एक योग्य प्राविधिक बन्नका लागि अब छिट्टै नै एकभन्दा बढी भाषा बोल्न सक्ने ज्ञान हुनु आवश्यक हुनेछ† प्राविधिक पुस्तकहरू पढ्नका लागि एकभन्दा बढी भाषाको ज्ञान आवश्यक हुनेछ, ताकि जुनसुकै भाषामा लेखिएका प्राविधिक विशिष्टता (Specifications) र निर्देशनहरू पढ्न सकियोस् – किनकि पुँजीवादीहरूले पनि प्रविधिको क्षेत्रमा धेरै कुरा उत्पादन गरेका छन् र ती निकै राम्ररी उत्पादन गरेका छन् – ती सबै अनुभवबाट कसरी फाइदा लिने भन्ने जान्नु आवश्यक छ ।
त्यसैले, सीपको स्तर वृद्धि गर्नु सरकार र सम्पूर्ण जनताको एक प्रमुख कार्य हो र यसलाई कदापि छोड्नु हुँदैन । पुरुष र महिलाहरूले कामको थकानका बाबजुद पनि अध्ययनका लागि अपरिहार्य प्रयास गर्नुपर्छ, चाहे दिनको एक घण्टा वा आधा घण्टा नै किन नहोस् र यसरी आफ्नो ज्ञानलाई निरन्तर बढाउँदै लैजाने प्रयास गर्नुपर्छ ।
केही हप्ता वा महिनामा तय गरिएको दूरी सानो देखिनु ठुलो कुरा होइन । यो वर्षौँको कार्य हो र यस्तो कार्य हो जुन कहिल्यै समाप्त हुनु हुँदैन । यो एकजना प्रारम्भिक सिकारुको लागि; अर्थात्, जेनतेन पढ्न र लेख्न जान्ने एउटा निश्चित उमेरको श्रमिकका लागि निकै कठिन कार्य पनि हो । तर, जति–जति नयाँ ज्ञान हासिल हुँदै जान्छ, संस्कृति अब क्रान्तिकारी कर्तव्य वा क्रान्तिकारी दायित्व पूरा गर्नका लागि गरिने कम वा बढी कष्टप्रद कार्य मात्र रहने छैन, बरु यो एउटा मानवीय आवश्यकता बन्नेछ । त्यसपछि, सिक्ने कार्यलाई निरन्तरता दिनु कुनै अतिरिक्त बोझ वा प्रयास हुनेछैन ।
यस कार्यमा समाजका ठुलो मात्रामा स्रोत–साधन र अथाह प्रयासहरू खर्च भएका छन् र भइरहनेछन् । हामी यो विश्वास गर्छौँ– संस्कृति र जनस्वास्थ्य यस्ता सेवाहरू हुन्, जसमा हामीले आफ्ना जनताका लागि जति खर्च गरे पनि त्यो पर्याप्त हुँदैन । हामीले जति धेरै दिन सक्छौँ, त्यो सबैका लागि त्यति नै राम्रो हुनेछ । त्यसैले हामीले सकेसम्म धेरै प्रदान गरिरहनेछौँ ।
तर याद राख्नुहोस्† विभिन्न तहमा श्रमिक–विद्यार्थीहरूलाई शिक्षा दिइरहेका शिक्षकहरू उत्पादनको कार्यबाट बाहिर छन् । त्यसैले, उनीहरू राज्यका लागि एक खर्च हुन्, जसको शोधभर्ना समाजलाई दोब्बर प्रयासद्वारा गरिनुपर्छ ।
हामीले अर्को एउटा जल्दोबल्दो प्रश्नमाथि पनि विचार गर्नुपर्छ : नयाँ तलबमान र कार्य मापदण्डहरू । यी दुई निकट सम्बन्ध भएका बुँदाहरू हुन् जसबारे हामी एक वर्षभन्दा बढी समयदेखि छलफल गरिरहेका छौँ ।
मलाई सम्झना छ, गत मे दिवसको पूर्वसन्ध्यामा यही हलमा मैले यो कार्य सम्पन्न गर्न नसकेकोमा क्षमायाचना गरेको थिएँ । आज पनि, एक अर्थमा, मैले फेरि क्षमायाचना गर्नुपर्छ, यद्यपि, तलबमान र कार्य मापदण्डहरू व्यवस्थित गर्ने काम धेरै अगाडि बढिसकेको छ । अर्को महिनाको मध्यतिरबाट हाम्रो मन्त्रालयमा मात्र नभई अर्थतन्त्रका सबै शाखाहरूका विभिन्न प्रतिष्ठानहरूमा यसको परीक्षण (Pilot tests) सुरु हुनेछ ।
हामीले पूरै देशमा सीपको स्तरअनुसार एउटै तलबमान र अझ बढी न्यायोचित पारिश्रमिक दिने विधिहरू सम्पन्न गर्न सक्नेछौँ । तर, हामीले एउटा यस्तो कुरामा जोड दिनुपर्छ जसमा अझै अन्योल छ । नयाँ तलबमान र सोहीअनुसार लागू गरिने कार्य मापदण्डहरूको अर्थ अनिवार्य रूपमा तलब वृद्धि भन्ने होइन, यो त्यसभन्दा निकै फरक कुरा हो ।
यो व्यवस्था पहिलोपटक लागू गरिएको खानी क्षेत्रमा – केही खानीहरूमा मात्र – अपेक्षाकृत न्यून पारिश्रमिकका कारण, कार्य मापदण्ड र तलबमानले त्यहाँका साथीहरूको पारिश्रमिकमा उल्लेख्य वृद्धि ल्याएको थियो । तर, सबै शाखामा यो समान रूपमा हुनेछैन ।
अहिले श्रमिकका केही यस्ता समूहहरू छन् जसलाई हालको पर्याप्त मानिएको स्तरअनुसार नै भुक्तानी भइरहेको छ । केही अरू यस्ता पनि छन् जसले त्यो स्तरभन्दा बढी पाइरहेका छन् ।
हामीले यो पनि स्पष्ट पारेका छौँ कि ती सबै श्रमिकहरू, जसको औसत पारिश्रमिक तोकिएको नयाँ औसत तलबभन्दा बढी छ, उनीहरूले पाइरहेकै पूर्ण तलब पाइरहनेछन् तर त्यसलाई दुई भागमा विभाजन गरिनेछ : एउटा उनको वास्तविक कामअनुसारको भाग र अर्को हालको तलबलाई प्रतिबिम्बित गर्ने अतिरिक्त बचत (Surplus) भाग । पुँजीवादी प्रक्रियाको विकास र त्यससँगैका अराजक उत्पादन सम्बन्धहरूका दौरान विभिन्न परिस्थितिमा वर्षौँ लगाएर यो उच्च तलब आर्जन गरेका ती साथीहरूको पारिवारिक बजेटमा असर नपरोस् भनेर यसो गरिएको हो ।
यद्यपि, उत्पादनका ती शाखाहरूमा प्रवेश गर्ने सबै नयाँ श्रमिकहरू नयाँ तलबमानअन्तर्गत रहनेछन् र सो तलबमानअनुसार तलब वृद्धि मापन गरिने मुख्य बुँदाहरूमध्ये एक श्रमिकको योग्यता (Qualifications) हुनेछ । यसको अर्थ यो हो कि, ती सबै श्रमिकहरू जसले निश्चित अवधिमा गुणस्तर र परिमाणको मापदण्ड सफलतापूर्वक पूरा गरिरहेका छन् । तर, फरक तलब स्तर भएको नयाँ समूहमा नपरेका कारण स्वतः तलबमानमा माथि उक्लिन सक्दैनन्, उनीहरूले आफ्नो योग्यता बढाउने र उच्च आय समूहमा प्रवेश गर्ने अवसर पाउनेछन् र यसरी आफ्नो तलब वृद्धि गर्न सक्नेछन् ।
त्यसैले, प्रत्येक व्यक्तिको तलब निर्धारण गर्दा उसको व्यक्तिगत योग्यतालाई सधैँ ध्यानमा राखिनेछ ।
यी सबै कुराहरू श्रममन्त्रीद्वारा स्पष्ट पारिनेछन् । यसमा प्रारम्भिक छलफल र स्पष्टीकरणको एउटा पूरै प्रक्रिया हुनेछ । किनकि, यो एक अत्यन्तै जटिल कार्य हो जसमा देशको सम्पूर्ण अर्थतन्त्र जोडिएको छ । तर, नयाँ तलबमानको अर्थ अनिवार्य रूपमा तलब वृद्धि होइन भन्ने कुरा बुझियोस् भन्ने म सुनिश्चित गर्न चाहन्थेँ ।
कतिपय अवस्थामा, निकै कम तलबलाई सच्याउनका लागि यसले वृद्धि ल्याउनेछ† अन्यमा, नयाँ अध्ययनबाट अपनाइएका मापदण्डअनुसार तलब उही रहनेछ । अझ केही अन्यको हकमा पनि तलब उही रहनेछ– तर ती साथीहरूको तलब विभाजित हुनेछ, यद्यपि आधारभूत रकममा भने कुनै कटौती गरिने छैन ।
यसो गर्नुको मुख्य कारण यो हो कि उनले पाइरहेको तलबको एउटा अंश– मानौँ, ऐतिहासिक कारणले गर्दा– उनको आफ्नै हो भन्ने स्पष्ट रूपमा स्थापित होस्, तर त्यो उनको व्यक्तिगत तलब मात्रै हो । जब ती श्रमिकले आफ्नो पद छोड्नेछन्, सो पदको तलब घटेर पुनः मापदण्डअनुसारको निर्धारित आधारभूत तलबमा कायम हुनेछ न कि ती काल्पनिक श्रमिकले पाइरहेको वास्तविक तलबमा… ।
यो अलि लामो र केही पट्यारलाग्दो भाषण टुङ्ग्याउनका लागि म तपाईँहरूलाई, साथीहरू, हामी सबैको – बिना कुनै अपवाद – काँधमा रहेको जिम्मेवारीको सम्झना गराउन चाहन्छु ।
आज हामी यहाँ हाम्रा उत्कृष्ट श्रमिकहरू, अर्थात् अग्रदस्ता श्रमिकहरूलाई अभिवादन गर्न भेला भएका छौँ । हामी विश्वभरबाट हामीलाई भेट्न आउनुभएका श्रमिकका प्रतिनिधिमण्डलहरूलाई पनि अभिवादन गरिरहेका छौँ ।
हामी एउटा प्रदर्शनी हौँ, एउटा यस्तो ऐना हौँ जसमा अमेरिकी महादेशका सम्पूर्ण जनताले आफूलाई हेर्न सक्छन्† त्यसैले हामीले हाम्रा सफलतालाई दिनप्रतिदिन अझ ठुलो बनाउन र हाम्रा विफलताहरूलाई कम गर्न मिहिनेत गर्नुपर्छ ।
हामीले आफ्ना कमजोरीहरू नदेखिऊन् भनेर तिनलाई लुकाउने पुरानो अभ्यासमा फर्कनु हुँदैन । त्यसो गर्नु न त इमानदारी हुनेछ न त क्रान्तिकारी नै । उनीहरूले हाम्रा गल्तीहरूबाट पनि सिक्नेछन् । ल्याटिन अमेरिका र आज आफ्नो स्वतन्त्रताका लागि लडिरहेका एसिया र अफ्रिकाका अन्य देशका साथीहरूले पनि हाम्रा त्रुटिहरूबाट सिक्नेछन् । हामीले हाम्रा गल्तीहरूमध्ये एउटा पनि लुकाउनु हुँदैन– न त विगतका ती विकृतिहरू जसलाई हामीले अहिलेसम्म सुल्झाउन सकेका छैनौँ, न त यो समाजवादी वर्तमानमा हामीबाट भएका गल्तीहरू नै ।
हामी खुला हुनुपर्छ किनकि त्यो हाम्रो कर्तव्य हो, जुन यस घडीमा अत्यन्तै उचाइमा पुगेको छ । क्युवाली क्रान्तिले जे गर्छ र भविष्यमा जे गर्नेछ, त्यसका लागि हामी प्रत्येक विश्वका जनताप्रति जिम्मेवार छौँ ।
हाम्रो बाटो सहज छैन† यो खतरा र कठिनाइहरूले भरिएको छ । साम्राज्यवाद बाटोको प्रत्येक मोडमा ढुकेर बसेको छ र हामीमाथि जाइलाग्नका लागि हाम्रो कमजोरीको कुनै क्षण पर्खिरहेको छ । सम्पूर्ण ल्याटिन अमेरिकाका प्रतिक्रियावादीहरू हाम्रा गल्तीहरूको हाम्रो आफ्नै आधिकारिक स्वीकारोक्तिलाई समेत खुसीका साथ प्रकाशित गर्न पर्खिरहेका छन् ।
आधारभूत रूपमा उनीहरू ल्याटिन अमेरिका र सम्पूर्ण विश्वलाई यो देखाउन खोजिरहेका छन् कि यदि हाम्रोजस्तो सानो देश, जहाँ उद्योगहरू छैनन्, जहाँ प्राविधिक विकास छैन, उसले क्रान्ति गर्ने प्रयास गर्छ भने त्यो असफल हुन निश्चित छ । उनीहरूले हाम्रो विकासलाई रोक्नका लागि तथ्याङ्क र चालबाजीहरू प्रयोग गर्छन् – उनीहरूले विध्वंसकारी तथा विभाजनकारीहरू पनि प्रयोग गर्छन् ।
हामीले कमजोरीको एउटा क्षण पनि स्वीकार गर्न सक्दैनौँ ।
अहिले त झन् सक्दैनौँ, जब हामी प्रत्यक्ष रूपमा हाम्रा पाहुनाहरूको निगरानीमा छौँ न त अन्य कुनै समयमा नै† किनकि हाम्रो देशको जीवनको प्रत्येक मिनेटमा हामी ल्याटिन अमेरिकाका ती सम्पूर्ण जनताको उत्सुक निगरानीमा छौँ, जसले हामीमा मुक्तिको एउटा नयाँ आशा र आफ्ना जञ्जिरहरूबाट छुटकारा पाउने एउटा नयाँ भरोसा देखेका छन् ।
त्यसैले साथीहरू, हामीले रोजेको बाटोका यथार्थहरू देखाऔँ ! उनीहरूलाई देखाऔँ कि हामी कुनै समय लगभग निःशस्त्र रहेर पनि कुलीनतन्त्रका सशस्त्र बलहरूको सामना गर्ने वीरतापूर्ण कार्य गर्न मात्र सक्षम छैनौँ† बरु शत्रुबाट हतियार खोसेर आफ्ना जनसेनाहरू विकास गर्न, युद्धको मैदानमा उनीहरूको सामना गर्न, सम्पूर्ण क्युवाली जनताको चेतनालाई उत्प्रेरित गरी उनीहरूलाई एउटा विशाल अग्रदस्ता सेनामा बदल्न र तानाशाहीलाई ध्वस्त पार्न पनि उत्तिकै सक्षम छौँ !
हामीले यो देखाऔँ कि हामी हाम्रा सम्पूर्ण जनतालाई एकढिक्का बनाउन र हामी सबैलाई थाहा भएको त्यो युद्धघोष तथा चुनौतीको गर्जन गर्न मात्र सक्षम छैनौँ । साथीहरू, हामीले यो पनि देखाऔँ कि साम्राज्यवादी नाकाबन्दीका बिचमा समाजवाद निर्माण गरिरहेको यो लामो, थकाइलाग्दो र भयानक सङ्घर्षबाट हामी विजयी भएर निस्कन सक्षम छौँ ।
तमाम खतराहरू, धम्की र आक्रमणहरू, नाकाबन्दीहरू, तोडफोड, सबै विभाजनकारीहरू र हामीलाई रोक्न खोज्ने ती सबै शक्तिहरूका सामु हामीले आफ्नै इतिहास निर्माण गर्ने हाम्रा जनताको सामथ्र्यलाई पुनः एकपटक प्रमाणित गर्नुपर्छ ।
हामी सबै एकजुट हुनुपर्छ । साथीहरू, हाम्रो विश्वासमा अडिग रहनुपर्छ – आज पहिलेभन्दा अझ बढी दृढ, यद्यपि भोलि जति दृढ हुनुपर्नेछ त्यति नभए पनि– सधैँ भविष्यमा आँखा राखेर र भुइँमा पाइला टेकेर अगाडि बढ्नका लागि, प्रत्येक पाइलामा जे हाम्रो हो त्यसलाई निर्माण गर्दै र चालेका प्रत्येक पाइलाहरू सुनिश्चित गर्दै, ताकि हामीले जितेको, हामीले बनाएको र जे हाम्रो हो, अर्थात् – समाजवाद – त्यसको एक इन्च पनि कहिल्यै नछोडौँ !
देश वा मृत्यु ! [Patria o muerte !] हामी विजयी हुनेछौँ ! [Venceremos !]
(मई दिवसका अवसरमा दिइएको विख्यात क्रान्तिकारी चे ग्वेभाराको यो भाषण मननीय र सान्दर्भिक छ । यो भाषण उनले सन् १९६३ को अप्रिल ३० मा दिएका थिए । – दायित्वबोध)
स्रोत : Che Guevara Speaks
(छनोट गरिएका भाषण र रचनाहरू), प्रकाशन : पाथफाइन्डर, २००५

Leave a Reply

Your email address will not be published. Required fields are marked *