भर्खरै :

नेकाको साम्राज्यवादको दलाली

– प्रकाश
भेनेजुयलाको आन्तरिक राजनीतिक विवादलाई लिएर संरा अमेरिकाले त्यहाँ समानान्तर सरकार बनाउने जस्तो अन्तर्राष्ट्रिय कानुनविपरीतको गतिविधि गर्दैछ । विश्वभरका न्यायप्रेमी, साम्राज्यवाद, उपनिवेशवाद र युद्धविरोधी सरकारहरू र जनता संरा अमेरिकाको कदमको विरोधमा र भेनेजुयली सरकार र जनताको सार्वभौम अधिकारको पक्षमा छन् ।
प्रजातन्त्रको परिभाषा दिंदै सो¥हौं अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए– “प्रजातन्त्र भनेको जनताका लागि जनताद्वारा चुनिएको जनताको सरकार हो । तर, आज भेनेजुयाली जनताले प्रजातान्त्रिक निर्वाचनद्वारा निर्वाचित जनताको राष्ट्रपति र सरकार संरा अमेरिका र पश्चिमा देशका शासकहरूलाई स्वीकार्य भइरहेको छैन । राष्ट्रपति माडुरोमाथि पश्चिम राष्ट्रका शासकहरू र सञ्चारमाध्यमहरूले तानाशाही, भ्रष्ट, अक्षम आदि आरोप लगाइरहेका छन्, जुन वास्तविकता होइन । माडुरो सरकारले भेनेजुयलामा संरा अमेरिका र पश्चिमा देशहरूको स्वार्थअनुरूप र अमेरिकी एकाधिकार पुँजीको नाफाको पक्षका काम नगरेको हुनाले नै उनीमाथि नानाभाँतीको लेबल वा ट्याग लगाइदिएको हो । यो वास्तविकता अन्तर्राष्ट्रिय राजनीतिबारे थोरैमात्र पनि राख्ने सबैले बुझेका छन् र एउटा सार्वभौम देशमाथि अर्को शाक्तिशाली देशले हस्तक्षेप गर्नु गलत हो भन्नु संयुक्त राष्ट्र सङ्घको बडापत्रको पालना गर्नु हो । नेपाल सरकारले भेनेजुयलाको सार्वभौमसत्ता भेनेजुयाली जनताकै हातमा रहनुपर्छ भन्यो, जुन ठीक हो । त्यसैलाई लिएर नेपालको संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारको वक्तव्यको विरोध गर्नु र त्यसको विपरीत उभिनु उदेकलाग्दो कदम हो । सरकारले हस्तक्षेपको विरोध ग¥यो भन्दैमा प्रमुख प्रतिपक्षले विदेशी हस्तक्षेपको पक्ष लिनु ‘सौताको रिसले पोइको नाक काट्ने’ नेपाली उखान चरितार्थ गर्नु हो । अमेरिकी हस्तक्षेपको पक्ष लिएर नेपाली काङ्ग्रेसले आफूलाई पुनः एकपटक साम्राज्यवादको दलाल भएको पुष्टि गरेको छ । हुन त २०५७ मा अमेरिकी साम्राज्यवादले छिमेकी देश अफगानिस्तानमा बमबारी गर्दा तत्कालीन नेपाली काङ्ग्रेसको सरकारले अमेरिकी विमानहरूलाई काठमाडौँमा तेल भर्ने सुविधा दिएर अमेरिकी साम्राज्यवादप्रतिको आफ्नो बफादारी पुष्टि गरेको थियो । संरा अमेरिकासित कूटनीतिक सम्बन्ध कायम रहँदैमा त्यस देशले गरेको गलत कामको विरोध गर्नु हुँदैन भन्नु सही होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *