भर्खरै :

कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुन्छन्

कम्युनिष्टहरू देशभक्तमात्र होइन अन्तर्राष्ट्रावादी हुन्छन् । विश्वको कुनै पनि मुलुकमा शोषित पीडित जनताको पक्षमा हुने आन्दोलन र सङ्घर्षमा उनीहरू समर्थन गर्छन् र ऐक्यबद्धता जनाउँछन् । कम्युनिष्टहरू एउटा देशले अर्को देशमाथि गर्ने आक्रमण, हस्तक्षेप र दबाबको विरोध गर्छन् । साम्राज्यवादी अमेरिका र उसका पिछलग्गूहरूले भेनेजुयलामा निर्वाचित राष्ट्रपतिलाई समर्थन गर्नुको सट्टा स्वघोषित राष्ट्रपतिलाई समर्थन गरे । साम्राज्यवादी देशहरूको यो हस्तक्षेप निन्दनीय छ । साम्राज्यवादी देशहरूको यो हस्तक्षेपको नेमकिपाले निन्दा गर्नु स्वाभाविक छ । यो हरेक सच्चा कम्युनिष्ट दलहरूको कर्तव्य हो र कर्तव्य पालना गर्नुपर्छ ।
कुनै देशमा घटेको घटनाबारे कुनै शासकले समर्थन गर्न पाउँछ भने अर्को शासकले किन विरोध गर्न पाउँदैन ? स्वघोषित राष्ट्रपतिलाई समर्थन गर्ने कि निर्वाचित राष्ट्रपतिलाई ! निर्वाचित राष्ट्रपतिलाई विचारको आधारमा समर्थन नगरे पनि स्वघोषित राष्ट्रपतिलाई साम्राज्यवादी देशहरूले समर्थन गर्न नहुने हो ! स्वघोषित राष्ट्रपतिलाई ठूला शक्ति राष्ट्रहरूले समर्थन गर्नुको अर्थ भेनेजुयलामा द्वन्द्व निम्त्याएर हिंसात्मक गतिविधि बढाउने षड्यन्त्र हो । शक्ति राष्ट्रहरूले जे पनि गर्न पाउने अनि अरु साना देशका शासकहरूले बोल्न पनि नपाउने ।
आफूले आफैलाई राष्ट्रपति घोषणा गर्नु ठीक होइन, त्यसमा कुनै सच्चाइ छैन । त्यो गलत कार्य हो । गलत कार्यको विरोध गर्नुपर्छ । सही कदमको समर्थन गर्नुपर्छ र ऐक्यबद्धता जनाउनुपर्छ । अतः संसारका कुनै पनि देशभक्त र सच्चा कम्युनिष्टहरूले भेनेजुयलाका निर्वाचित राष्ट्रपतिको पक्षमा समर्थन र ऐक्यबद्धता जनाउनुपर्छ । समर्थन र ऐक्यबद्धता जनाइँदैन भने कम्युनिष्टहरूको आफ्नो जिम्मेवारी पूरा भएको मानिँदैन ।
कम्युनिष्टहरू कुनै पनि देशको साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने कुनै दल कम्युनिष्ट पार्टी हुनेछैन । गलत कार्यको विरोध गर्न कम्युनिष्टहरू पछि हट्नु हुँदैन । ठूला शक्ति राष्ट्रको दबाब खेप्नुपर्ला भनेर गलत कार्यको विरोध गरिएन भने सही या सच्चाइले ठाउँ पाउँदैन । सहीले निकास पाउँदैन भने भोलि यो संसारको संरचना के होला ? तब के देशमा न्याय, स्वतन्त्रता र स्वाभिमानको अस्तित्व धरापमा पर्दैन ?
मेरिना शाक्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *