भर्खरै :

विश्व मातृभाषालाई व्यवहारमा ल्याइनुपर्छ

दियान कर्माचार्य
मानिसले आफ्नो भावनालाई सजिलै पोख्नसक्ने माध्यमको रुपमा भाषालाई लिइन्छ । मौलिक मातृभाषाले हाम्रो जीवनलाई जीवन्त र सभ्य बनाएको छ । त्यसैले आज विश्वका विभिन्न देशहरूमा आफ्नै भाषाको संरक्षण, संवद्र्धन र विकासको लागि विश्व मातृभाषा दिवस मनाइँदै छ । विश्व मातृभाषा दिवस हरेक वर्ष फेब्रुअरी २१ का दिन मनाइँदै आएको छ ।
सबै मानिसले आ–आफ्नो मातृभाषाप्रति सम्मान र गर्व गर्छन् । सानै उमेरदेखि मानिसले कुराकानी मातृभाषाबाट बोल्ने र बोलेको सुन्ने गर्दै आएकोले सबैलाई आफ्नो मातृभाषाप्रति माया हुन्छ । सबैलाई आफ्नो भावनाका कुराहरूलाई सहज तरिकाबाट आफ्नो मातृभाषाको माध्यमबाट व्याख्या र वर्णन गर्नसक्छन् । मातृभाषाबाट बोल्न, लेख्न सहज हुने भएकोले नै विश्वका विकसित देशहरूमा मातृभाषाबाट नै पढाइ हुने गरेको देखिन्छ । जापानमा जापानीज भाषा, चीनमा चिनियाँ भाषा, अमेरिकामा अङ्ग्रेजी भाषा र बेलायतमा ब्रिटिस भाषाबाट नै उच्च शिक्षा दिने गर्दछ । यसरी आफ्नै मातृभाषाबाट शिक्षा दिँदा विद्यार्थीहरूले सहजै बुझ्न, लेख्न, बोल्न र सिक्न सक्ने हुन्छ । जसले गर्दा त्यहाँ उच्च शिक्षा प्राप्त गर्ने र दक्ष जनशक्तिको सङ्ख्यामा कमी छैन ।
तर, नेपालमा प्राथमिक र माध्यमिक शिक्षा नेपाली भाषामा पढाइ हुन्छ भने उच्च शिक्षाको लागि अङ्ग्रेजी भाषाका महँगा पुस्तक पढ्नुपर्ने, अङ्ग्रेजी भाषामा लेख्नुपर्ने र परीक्षा पनि अङ्ग्रेजीमा नै दिनुपर्ने व्यवस्था रहेको छ । उच्च शिक्षाको लागि चाहिने सम्पूर्ण पाठ्यपुस्तकहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । जसले दैनिक रुपमा नेपाली मुद्रा विदेशतिर गइरहेको छ । विद्यार्थीहरूमा धेरैवटा भाषाहरूको चाप बढ्नाले पढाइमा गोलमाल र असहजता सृजना हुने र क्रमशः उच्च शिक्षाप्रति चासो कम हुँदै जाने गरेको पाइन्छ । यस प्रकारको शिक्षा पद्धतिले गर्दा नेपालमा धेरै विद्यार्थीहरूले उच्च शिक्षा नपढेको र पढे पनि उत्तीर्ण हुने सङ्ख्या न्यूनमात्र भएको कुरा अघिल्ला परीक्षा नतिजाहरूबाट पनि प्रस्ट पारेको छ ।
तसर्थ, विश्व मातृभाषा दिवस एक दिन देखावती रुपमा मात्र मनाएर हुँदैन । मातृभाषाको विकास, संरक्षण र संवद्र्धनका साथै विद्यार्थीहरूलाई पढाइमा निरन्तरता दिलाई उच्च शिक्षा दिनुपर्छ । सरकारले पनि मातृभाषाको विकास र संरक्षणका साथै विद्यार्थीको भावनालाई ध्यानमा राखेर मातृभाषामा पाठ्यपुस्तकहरू तयार गरी मातृभाषामा नै शिक्षा दिने व्यवस्था मिलाउनुपर्छ । यसो गरेमा लोप हुन लागेको भाषा र लिपिको संरक्षण हुनुका साथै नेपालको सभ्यता पनि जीवित रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *