अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
(आज फागुन ८ । तत्कालीन पञ्चायती निरङ्कुश शासन व्यवस्थाविरुद्ध २०४६ सालमा जनआन्दोलनको शङ्खघोष भएको दिन । तीस वर्ष लामो पञ्चायती निरङ्कुशले उकुसमुकुस भएका नेपाली जनताले प्रजातन्त्रको लागि निर्णायक सङ्घर्ष थालनी गरेको दिन । हरेक न्यायपूर्ण आन्दोलनमा जस्तै २०४६ सालको फागुन ८ को दिन पनि भक्तपुरमा पञ्चायती शासनविरुद्धको जनसङ्घर्ष सुरु भयो । २०४५ सालको भक्तपुर काण्डमा फसाइएका तत्कालीन नेमकिसंका अधिकांश नेता कार्यकर्ता या त जेलजीवन बिताइरहेका थिए अथवा भूमिगत जीवन बिताइरहेका थिए । जनताका आँखाका नानी सरहका नेता–कार्यकर्तालाई पञ्चायती व्यवस्थाले झूटा मुद्दामा फसाएर दुःख दिइरहेको जनतालाई थाहा थियो । पञ्चायती व्यवस्थाको अवसान नहुँदासम्म आफ्ना प्रिय नेता कार्यकर्ताको रिहाइ सम्भव नभएको निष्कर्षका साथ लामो समयदेखि कुण्ठित आक्रोशलाई अभिव्यक्ति गर्ने माध्यम बनेको थियो–फागुन ८ को जुलुस । तर गोलीकै भरमा जनतालाई दबाउन सकिने मानसिकता बोकेका पञ्चहरूले जनताको आन्दोलन दबाउने दुष्प्रयास गरे । भक्तपुरमा आन्दोलनकारी दबाउन चलाएको गोली लागी दुई योद्धाले सहादत प्राप्त गर्नुका साथै सयौं योद्धा घाइते भए । पञ्चायती व्यवस्था ढाल्न भएको आन्दोलनकै क्रममा भक्तपुरका अरु चार जना युवाहरूले पनि सहादत्त प्राप्त गरे । त्यो बलिदानकै कारण आन्दोलनको रापमा तीस वर्ष जरा गाडेर बसेको पञ्चायत ढल्यो । जनआन्दोलन सफल भयो । आफ्नो जीवन होमेका योद्धाहरूको सम्मानमा हरेक फागुन ८ लाई जनताले सहिद दिवसको रुपमा मनाउँदै आएका छन् ।
समय बदलियो । हिजो आन्दोलन दबाउन गोली चलाउन र जनतालाई दबाउन षड्यन्त्र गर्नेहरू आज सत्तासीन पार्टीभित्रै ओत लागेर आफ्नो पाप पखाल्ने प्रयास गरिरहेका छन् । हिजो पञ्चायतको पक्षपोषण गर्ने शक्ति नै आज शासक दलमा बसेर फेरि पनि परिवर्तनकामी जनतालाई दबाउन उद्यत्त छन् । उनीहरूका पार्टीका नाम फेरिए, तर जनता दबाउने हिजोको सामन्ती चिन्तनमा अझै कुनै परिवर्तन भएको छैन ।
सहिद दिवसको अवसरमा प्रस्तुत छ, पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा आफ्नो जीवन बलिदान गरी समाज र जनतालाई आदर्शको बाटो देखाउने अमर सहिदहरूको सङ्क्षिप्त जीवनी–सं)
अमर सहिद कृष्णराम दुवाल
अमर सहिद कृष्णराम दुवालको जन्म विसं २०२३ असार ७ गते गोल्मढी टोलको एक किसान परिवारमा भएको थियो । पिता स्व. पूर्णबहादुर र माता कृष्णमायाका कान्छा छोरा स्व. दुवालका दुई दाजु, एक भाइ र एक बहिनी छन् । उहाँको पिताको २०४७ असारमा निधन भएको थियो ।
स्व. दुवाल विवाहित हुनुहुन्थ्यो । उहाँको धर्मपत्नी मैयाँ दुवाल हुनुहुन्छ ।
घरको नाजुक अवस्थाको कारण ९–१० वर्षको उमेरमा अध्ययन सुरु गर्नुभएका स्व. दुवालले आफ्नो अध्ययन ४ कक्षाभन्दा माथि लान सक्नुभएन । अध्ययन गर्न ठूलो अभिलाषा गरिबीको कारण छोड्नु परे पनि पछि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले सञ्चालन गरेको रात्री कक्षाहरूमा अध्ययन गर्नुभयो । यसरी उहाँ २०४० सालतिर नेक्राविसङ्घ भक्तपुर नगरको ८ वडाको प्रारम्भिक सदस्य बन्नुभएको थियो ।
स्व. दुवाल छरछिमेकलाई कुनै समस्या आईपर्दा सहयोग गर्न अघि सर्ने गर्नुहुन्थ्यो । कुनै बिरामीलाई अस्पताल लैजान होस् या सभा, सम्मेलन हुँदा पानी पिलाउने अथवा छरछिमेक आफन्तलाई खेती काममा सहयोग गर्न उहाँ पछि नपर्ने स्वभावको हुनुहुन्थ्यो ।
२०४५ भदौ ५ गतेको भूकम्पमा उहाँको घर पनि भत्केको थियो । त्यसबेला उहाँ आफ्नो घरको सामान तह लागिहाल्यो भनेर बस्नुभएन, अन्य पीडितहरूलाई मद्दत गर्न पुग्नुभयो ।
नेपाल मजदुर किसान सङ्गठनका विभिन्न जनवर्गीय सङ्गठनहरूबाट आयोजना गरिने सभा जुलुसमा उहाँको उपस्थिति नियमितझैं रहन्थ्यो । त्यस्तै चोटा बैठकहरू राख्न उहाँ घरैपिच्छे सर्कुलर गर्न जाने गर्नुहुन्थ्यो ।
२०४६ फागुन ८ गते उहाँलाई खेतमा जाने आवश्यक काम थियो । त्यसैले खेतमा लैजानुपर्ने आवश्यक सामान खर्पनमा ठीक पारिरहँदा उहाँ जुलुस आएको खबर पाउनासाथ जुलुसमा भाग लिन जानुभयो । तर, त्यो खर्पन बोक्न उहाँ फर्कन पाउनु भएन । जनहत्यारा पञ्चायती सरकारले विषालु डमडम गोलीद्वारा साकोठानिर उहाँको निर्मम हत्या ग¥यो ।
फुर्सदको बेला क्यारेम खेल्न मनपराउनुहुने स्व. दुवाल परम्परागत नाचगानमा भाग लिने गर्नुहुन्थ्यो । देवीनाचमा उहाँ धेरै पटक नाच्नुभएको थियो । यसबाहेक उहाँ साथीभाइसँग देश विदेशका घटनाहरूबारे कुराकानी गर्न रुचाउनुहुन्थ्यो ।
देशमा जनआन्दोलनको तयारी हुनथाल्दा आफ्ना आमालाई र ससुराली (पनौती) मा प्रजातन्त्र आएपछि यो हुनेछ, त्यो हुनेछ भनी आफ्नै ढङ्गले प्रचार कार्यमा लाग्नु भएका स्व. दुवालले प्रजातन्त्र हाम्रो लागि छोडेर जानुभयो, उहाँले देख्न पाउनुभएन । तर, जनहत्याराहरूलाई कारबाही गर्नुको साटो संरक्षण र सम्मान दिइएबाट अमर सहिदले देखेको प्रजातन्त्रको सपना सायद यस्तो थिएन ।
अमर सहिद राजकुमार सुवाल
अमर सहिद राजकुमार सुवालको जन्म विसं २०२५ माघ १० गते भक्तपुर व्यासी टोलको एक किसान परिवारमा भएको थियो । पिता रत्नकुमार र माता राजमायाका जेठो छोरा स्व. सुवाल विवाहित हुनुहुन्थ्यो । उहाँ धर्मपत्नी र ८ महिनाकी छोरीलाई छोडेर जानुभएको थियो । उहाँका ५ बहिनी र एक भाइ छन् ।
स्व. सुवालले ७ वर्षको उमेरमा अर्थात् २०३२ सालमा आफ्नो प्राथमिक शिक्षा बासु निमाविबाट सुरु गर्नुभएको थियो । २०३९ माघ ५ देखि प्रभात माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा ग्रहण गरी २०४२ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यही वर्ष उहाँले नवदुर्गा बहुमुखी क्याम्पसमा कानुन अध्ययन निम्ति प्रवेश लिनुभयो र पछि २०४५ सालमा भक्तपुर बहुमुखी क्याम्पसमा प्रवेश लिई मानविकी सङ्कायको प्रथम वर्षको परीक्षा पनि समाप्त गरिसक्नुभएको थियो । तर, परीक्षाफल सुन्न पाउनुभएन ।
विसं २०४२ सालदेखि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घमा सक्रिय सदस्य रहनुभएका स्व. सुवाल विद्यार्थी गतिविधिमा र नेपाल मजदुर किसान सङ्गठनको आह्वानमा भएका विभिन्न कार्यक्रम र सङ्घर्षहरूमा निष्ठापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्थ्यो । पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ षड्यन्त्र अन्तर्गत गुण्डाराजको समयमा पनि उहाँ पार्टीको नीति निर्देशनअनुसार सङ्घर्षका गतिविधिमा निडरताका साथ लाग्नुभयो । राजनीतिक काम भएसम्म घरको काममा ध्यान दिन नजान्ने उहाँको स्वभाव थियो । ठूलोलाई आदर र सानालाई माया गर्ने स्व. सुवाल मिलनसार हुनुहुन्थ्यो तर सैद्धान्तिक वादविवादमा भने अडान लिने प्रवृत्तिको हुनुहुन्थ्यो ।
जनआन्दोलनको तयारीमा सक्रियतापूर्वक लाग्नुभएका स्व. सुवालले शत्रुको अगाडि झुकेर होइन हाँक दिएर वीरगति प्राप्त गर्नुभएको थियो । फागुन ८ गतेको शान्तिपूर्ण एवं निहत्था जुलुसमाथि टौमढीमा गोली वर्षाएपछि पीठ फर्काएर भाग्नुभएन, बरु छाती फर्काएर पञ्चायती शासकहरूलाई उहाँले चुनौती दिनुभएको थियो । बायाँ छातीमा गोली लागेका घाइते राजकुमारलाई बिहान १० बजेतिर भक्तपुर अस्पतालबाट वीर अस्पताल चलान गरिएको थियो । तर, साँझ साढे पाँच बजेतिर मात्र अपरेसन गरियो । समयमै उपचारको बन्दोबस्त भएको भए सायद उहाँ बच्नुहुन्थ्यो । राति २ बजेतिर उहाँले वीरगति प्राप्त गर्नुभयो । वीरगति प्राप्त गर्ने बेलामा उहाँको गोजीमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घसम्बन्धी कागजात र नेपाल मानव अधिकार सङ्गठनका साधारण सदस्यताको पाय्ड थियो ।
घाइते भई अस्पतालको खाटमा सुतिरहँदा पनि उहाँले आप्mना आफन्तलाई आफू फेरि जुलुसमा जानुपर्छ, त्यसैले छिटो उपचार गरी निको पारिदिन आग्रह गर्दै हुनुहुन्थ्यो । हो, अमर सहिद राजकुमारको आन्दोलनको सपना पूरा भएको छैन, त्यो आन्दोलनको जिम्मा आजका युवाहरूको काँधमा सरेको छ ।
अमर सहिद हरिकृष्ण भुजू
अमर सहिद हरिकृष्ण भुजूको जन्म भक्तपुरको वंशगोपाल टोलमा २०२७ फागुन २८ गते भएको थियो । पिता हरिभक्त भुजू र माता अमर सहिद हरिकृष्ण भुजूको जन्म भक्तपुरको वंशगोपाल टोलमा २०२७ फागुन २८ गते भएको थियो । पिता हरिभक्त भुजू र माता कृष्णमाया भुजूले आ–आफ्नो नामको अगाडिका शब्दहरू हरि र कृष्णको समासले नामकरण गरिएका हरिकृष्णका एक भाइ र एक बहिनी हुनुहुन्छ । हाल उहाँहरू ट्रलिबस पार्क, कटुञ्जेमा बस्नुहुन्छ । उहाँको प्राथमिक शिक्षा काभ्रेको दाप्चास्थित कृष्ण माध्यमिक विद्यालयबाट सुरु भएको थियो । माध्यमिक शिक्षा उहाँले भक्तपुरको विद्यार्थी निकेतन माविमा हासिल गर्नुभयो र एसएलसी उत्तीर्ण गर्नुभयो ।
माध्यमिक शिक्षा उत्तीर्ण भएपछि उहाँ व्यापार पेशामा लाग्नुभयो । फागुन ८ गते वीरगति प्राप्त गर्नुभएको दिन उहाँको गोजीमा ७०–८० हजार रकम भएको कुरा उहाँका परिवारबाट थाहा भएको छ ।
राजनैतिक रुपले उहाँ नेपाली काङ्ग्रेसका समर्थक हुनुहुन्थ्यो ।
बगैँचा सफा गर्न निकै रुचाउनुहुने अविवाहित स्व. भुजू परिवारमा प्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई कुकुर पाल्नमा पनि सोख थियो । उहाँ खेलहरूमा भलिबल खेल्नुहुन्थ्यो र विद्यार्थी जीवनमा विभिन्न प्रतियोगितामा भाग लिनुभएको थियो ।
फागुन ८ गते शान्तिपूर्ण जुलुसमाथि टौमढीमा वर्षाएको डमडम गोलीद्वारा उहाँले वीरगति प्राप्त गर्नुभएको थियो ।
अमर सहिद निर्मलकुमार शाक्य
अमर सहिद निर्मलकुमार शाक्यको जन्म २०२२ असार १५ गते भक्तपुरको बेखाल, क्वाठडांै टोलमा भएको थियो । (त्यही घरमा सहिद पुष्परत्न शाक्यको पनि जन्म भएको थियो ।) पिता ज्योतिबज्र शाक्य र माता असलमाया शाक्यका एक्लो छोरो स्व. शाक्यका एक बहिनी हुनुहुन्छ । उहाँहरू भक्तपुर सुकुलढोकामा बस्नुहुन्छ ।
उहाँले श्री पद्म हाइस्कूलबाट माध्यमिक शिक्षा पूरा गर्नुभएपछि भक्तपुर क्याम्पसमा दोस्रो वर्षको परीक्षा दिइसक्नुभएको थियो ।
केही वर्षअघिदेखि राजनैतिक विषयतर्फ बढी रुची लिन थाल्नुभएका स्व. शाक्य साथीभाइले भनेको कुरामा हार्न नसक्ने स्वभावको हुनुहुन्थ्यो ।
जिम्नाष्टिक खेलका राष्ट्रिय खेलाडी भई थुप्रै प्रमाणपत्रहरू प्राप्त गरिसक्नुभएका स्व. शाक्यलाई पन्छीमा विशेषगरी परेवा पाल्ने सोख थियो । उहाँले आफ्नो युवा मनलाई शब्दमा पोखेर केही गीतहरू पनि रचना गर्नुभएको थियो ।
काठमाडौं उपत्यकामा हुने विविध सभा सम्मेलनमा बरोबर स्रोता बन्न पुग्ने स्व. शाक्यलाई जनआन्दोलनको बेला जुलुस आदिमा भाग नलिन पिताले सम्झाउने गरेको तर फागुन ८ गते बिहानको खाना खाएपछि उहाँ सुपारी किन्न जाने भनी हत्यारा पञ्चायती सरकारसँग सङ्घर्ष गरिरहेका जनतालाई साथ दिन पुग्नुभयो । त्यसदिन बिहानको शान्तिपूर्ण जुलुसमाथि पञ्चायती सरकारले डमडम गोली वर्षाएर आन्दोलनकारीहरूको निर्मम हत्या र घाइते बनाएपछि जनता र प्रहरी–सेना माझ मुठभेड भइरहेको थियो । पञ्चायती व्यवस्थाप्रतिको आफ्नो आक्रोशलाई ढुङ्गा इँटामा समाहित गर्दै प्रशासनसँग सङ्घर्ष गर्दै रहँदा कायरतापूर्वक लुकेर हानेको गोलीबाट उहाँले खिछेँमा वीरगति प्राप्त गर्नुभयो ।
भारतको दिल्ली, कलकत्ता आदि सहरहरूको भ्रमण गर्नुभएका स्व. शाक्य अविवाहित हुनुहुन्थ्यो ।
अमर सहिद महेश श्रेष्ठ
जनआन्दोलनको सुरुदेखि नै विभिन्न कार्यक्रममा भाग लिंदै आउनुभएका महेश श्रेष्ठलाई चैत २४ गते गोली लाग्यो । उहाँले उक्त दिन कीर्तिपुरबाट आएको विशाल जुलुसलाई नेतृत्व गरिरहनुभएको थियो । जुलुस लिई रत्नपार्कतिर पस्नु थियो । तर, प्रहरीसँग रानीपोखरी र राष्ट्रिय नाचघरको बीच कमलाक्षीमा भिडन्त सुरु हुनथाल्यो । त्यही समयमा प्रहरीले गोली चलाए । त्यसमध्येको एउटा गोलीले महेश श्रेष्ठलाई लडायो ।
त्यसको एक महिना ६ दिनपछि वीर अस्पतालमा उपचार गर्दागर्दै उहाँले वीरगति प्राप्त गर्नुभयो । टाउकोको बायाँपट्टि लागेको गोलीको पीडा कष्टपूर्वक सहन गर्नुपरेको थियो । उहाँले अस्पतालमा नै वीरगति प्राप्त गर्नुभएको थियो । २०२४ फागुन ५ गते भक्तपुर बोलाछेँमा जन्मनुभएका सहिद महेश श्रेष्ठको आमाको नाम गंगादेवी हो । उहाँको पिताको नाम वर्णगोपाल श्रेष्ठ हो । उहाँका दुई दाजुहरू हुनुहुन्छ ।
एसएलसीसम्मको अध्ययनपछि उहाँ एउटा साधारण इलेक्ट्रीसियनको रुपमा काम गर्दै रहनुभएको थियो । २०४६ मा रचना श्रेष्ठसँग उहाँको विवाह भएको थियो । महेश श्रेष्ठ २०४७ साल वैशाख ३० गते यस धर्तीबाट बिदा लिनुभयो ।
लगभग २० हजार जनताले उहाँको अन्त्येष्टीमा श्रद्धाञ्जली अर्पण गरे । वैशाख ३० गते बेलुकी ५ बजेबाट सुरु भएको उक्त शवयात्रामा तत्कालीन अन्तरिम सरकारका गृहमन्त्रीलगायत विभिन्न राजनीतिक व्यक्तिको उपस्थिति रहेको थियो । यसरी एक वीर सहिद महेश श्रेष्ठले आफ्नो अमूल्य जीवन प्रजातन्त्रको बहालीको लागि अर्पण गर्नुभयो ।
अमर सहिद पुष्परत्न शाक्य
अमर सहिद पुष्परत्न शाक्यको जन्म २०१९ भदौ १ गते भक्तपुरको क्वाठडौं बेखाल टोलमा भएको थियो । (त्यही घरमा अमर सहिद निर्मलकुमार शाक्यको पनि जन्म भएको थियो ।) पिता मुक्तिरत्न शाक्य र माता न्हुछेमाया शाक्यका एक्लो छोरा स्व. पुष्परत्न विवाहित हुनुहुन्थ्यो । उहाँको धर्मपत्नी विजयलक्ष्मी शाक्य र छोरा पुजनरत्न शाक्य छन् ।
उहाँले आफ्नो १० कक्षासम्मको शिक्षा भक्तपुरको श्री पद्म हाइस्कूलमा अध्ययन गर्नुभएको थियो । एसएलसीको परीक्षा दिँदै हुनुहुन्थ्यो ।
उहाँले आफ्नो जीविकोपार्जनको माध्यम सुनार पेशाबाट सुरु गर्नुभएको थियो । तर, पछि सिलाइमा लाग्नुभयो र नयाँ नयाँ डिजाइनका ज्याकेटहरू तयार गर्नमा ध्यान दिनुभयो ।
नेपाल मजदुर किसान सङ्गठनसँग विधिवत आबद्ध नरहे पनि उहाँ सङ्गठनको क्रियाकलापमा सहानुभूति राख्नुहुन्थ्यो । स्व. शाक्यले स्थानीय पुस्तकालय स्थापनामा योगदान दिनुभएको थियो । पत्रपत्रिका र कथाकहानी पढ्न रुचाउनुहुने उहाँ आफू काम गर्ने काठमाडौं नयाँ सडकस्थित न्यू ह्यूमेन फिट टेलरका सहकर्मीहरूसँग नेमकिसं सम्बन्धी बढी कुराकानी गर्ने गर्नुहुन्थ्यो ।
फुर्सदको बेला चेस खेल्न मनपराउनु हुने स्व. शाक्य साथीभाइबीच हाँसोठट्टा गर्ने केन्द्रविन्दुको रुपमा रहनुहुन्थ्यो ।
जनआन्दोलन सुरु भएपछि पसलहरू बन्द गराउनमा, बत्ती निभाउनमा, आन्दोलनबारे चर्चा परिचर्चा चलाएर सघाउने र आन्दोलनसम्बन्धी पर्चाहरू घरका परिवारहरूलाई समेत पढेर सुनाउनुहुने स्व. शाक्य आफ्नी धर्मपत्नीलाई पाठपूजा गर्दा पञ्चायती व्यवस्थाको अन्त्यको पनि कामना गर्नुपर्छ भनी पञ्चायती शासनप्रतिको आफ्नो आक्रोश व्यक्त गर्नुहुन्थ्यो ।
काठमाडौंमा कफ्र्यु घोषणा भएपछि उहाँ घर फर्कन पाउनुभएन । चैत २६ गते राति निर्दलको अन्त्य भएको घोषणा हुनासाथ निकै प्रफुल्लित भएर ‘बहुदल जिन्दावाद’ को नाराले पञ्चायती कालरात्रीलाई च्यात्न निस्कनुभएका स्व. शाक्यलाई शाही सेनाको गोलीद्वारा दिउँल (भेडासिंह) मा हत्या गरिएको थियो । यसरी बहुदल व्यवस्था पुनः बहालीपछि वीरगति प्राप्त गर्नेहरूमा स्व. शाक्य पनि अग्रणी हुनुहुन्छ ।
Leave a Reply