भर्खरै :

आक्रमणकारी ट्रम्प विश्वभरमै बदनाम

– वस्तुराज ‘सीतल’
संयुक्त राज्य अमेरिकाका साम्राज्यवादी राष्ट्रपति ट्रम्प प्रजातन्त्र र मानव अधिकारको हवाला दिएर विश्वमा आतङ्क मच्चाउँदै छन् । आफूलाई शक्तिशाली देशको शक्तिशाली राष्ट्रपति ठान्ने ट्रम्पले विवेक छोडेर, न्याय, निसाफ, स्वतन्त्रता र सार्वभौम देशमाथि कुल्चेर दादागिरी देखाइरहेका छन् । ट्रम्प विश्वका शासक होइनन् । अनि किन उनी भेनेजुयलाका सेनालाई त्यहाँको निर्वाचित राष्ट्रपति निकोलास माडुरोप्रतिको समर्थन फिर्ता लिन आदेश जारी गर्छन् ? राष्ट्रपति माडुरोमाथि भइरहेको सेनाको समर्थन फिर्ता लिन आदेश जारी गर्ने ट्रम्प भेनेजुयलाको को ? शक्तिशाली र बलियोको खोल ओढेर के अरु स्वतन्त्र देशमा हस्तक्षेप गर्न पाइन्छ ? त्यस्तो हस्तक्षेप भेनेजुयाली सरकार, जनता र सेनालाई मात्र होइन विश्वका कुनै पनि राष्ट्र प्रमुख र न्यायप्रेमी जनतालाई स्वीकार्य छैन ।
ट्रम्प सरकारको कार्यशैलीप्रति अमेरिकी जनता नै सन्तुष्ट छैनन् । अमेरिकी जनता र अमेरिकी राज्यका न्यायाधीशहरू नै ट्रम्प सरकारको विरोधमा छन् । न्याय र स्वतन्त्रता चाहने अमेरिकी जनता र विश्वका राजनीतिक विश्लेषकहरू राष्ट्रपति ट्रम्पलाई मनस्थिति ठीक नभएको, मनपरी बोल्ने वक्ता, विचारको ठेगान नभएको नेताको रुपमा विश्लेषण गर्छन् । आफ्नै देशको संसदीय मूल्य र मान्यता नाघेर उनले देशको रकम आफूअनुकूल प्रयोग गर्न सङ्कटकाल घोषणा गरे । उनको सो निर्णयको विरोधमा अमेरिकाको १६ राज्य सङ्कटकालको विपक्षमा उभे र उनीविरुद्ध अदालतमा मुद्दा हाले । उनले जबरजस्ती गरेको निर्णयलाई विपक्षी दलले असफल पार्ने प्रयास गरिरहेका छन् । यसरी आफ्नै देशका जनता र राज्यको व्यापक विरोध भइरहेको बेला उनी अरु देशमा पनि हस्तक्षेप गरेर, दबाब दिएर विश्वकै बदनाम पात्र बनिरहेका छन् ।
अमेरिकी शासकहरूकै शक्ति उन्मादको कारण अरु देशमा आक्रमण, हस्तक्षेप र नाकाबन्दी गरेर राष्ट्रपति ट्रम्प संसारभर बदनाम भएका हुन् । कति राजनीतिक विश्लेषकहरू ट्रम्प अहिलेसम्मकै अमेरिकाका आतङ्ककारी, दादागिरी र असन्तुलित मनस्थितिका शासक भएको बताउँछन् । उनले राष्ट्रपति पदको दुरुपयोग गरेका छन् । उनको यो कदम अत्यन्त निन्दनीय छ । विश्वका मुलुकले उनको आतङ्कित क्रियाकलापको विरोध गर्नुपर्छ, एकजुट भएर ट्रम्पको धम्की र दबाबको विरोधमा फेरि एकचोटि भनेजुयाली सरकार, जनता र सेनाको साथ र सहयोग गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *