यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सरोजराज गोसाई
बासु माविको ५६ औं र बासु कलेजको १० औं वार्षिकोत्सव समारोहमा उपस्थित यहाँहरू सबैलाई विद्यालय र कलेज व्यवस्थापन समितिको तर्फबाट हार्दिक स्वागत गर्दछु । यसै अवरमा यहाँहरू सबैलाई शुभकामना पनि व्यक्त गर्दछु । साथै विभिन्न प्रतिस्पर्धामा पुरस्कृत हुने सबै विद्यार्थीलाई बधाईज्ञापन गर्दछु ।
स्थापनाको ५६ वर्षमा बासु माविले एउटा ऐतिहासिक काम सम्पन्न गर्दैछ । आज हामी बासु माविको भवन उद्घाटन गर्दैछौँ । हामीले बासु माविका तीन वटा महत्वपूर्ण भवनहरू निर्माणमा सहयोग गर्ने सबैको नाम ससम्मान शिलापत्रमा उल्लेख गरेका छौँ । यो पारदर्शिताको उदाहरण पनि हो, सबै दाताहरूको योगदानको कदर पनि हो । इतिहासको सम्मान गर्नुको अर्थ नयाँ पुस्तालाई त्यस्तो इतिहास कोर्न उत्साहित गर्नु पनि हो । हाम्रा यी धरोहरहरू निर्माणमा आर्थिक तथा प्राविधिक सहयोगका साथै विभिन्न खालका आडभरोसा दिने सबैमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
किसान र मजदुरको निम्ति किसान र मजदुरले नै स्थापना गरेको एउटा विद्यालयले शिक्षाको विकासमा छुट्टै योगदान पु¥याउन सक्छ भन्ने उदाहरण बासु माविले प्रस्तुत गरेको छ । देशैभरिका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको भन्ने बुझाइ र प्रचार भइरहेको परिवेशमा भक्तपुर फरक रूपमा प्रस्तुत भइरहेको घामजतिकै छर्लङ्ग छ । भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने हाम्रो साझा लक्ष्य एवम् अभियानमा बासु मावि एक सक्रिय अभियन्ता बन्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित पनि छौँ । अनेक बाधा–व्यवधानबीच बासु माविलाई हुर्काउँदै आजको स्थानमा पु¥याउने आदरणीय व्यक्तित्वहरूलाई हामी हार्दिक सम्मानका साथ स्मरण गर्दछौं । हाम्रो दृढ विश्वास छ, हाम्रो लिखित तथा अलिखित इतिहासमा उहाँहरू सदा जिउँदै रहनुहुनेछ ।
आजको कार्यक्रम विद्यार्थी, अभिभावक, शिक्षक, शुभचिन्तक सबैको निम्ति हो, तर मूलतः यो कार्यक्रम हाम्रा भावी पुस्ताप्रति समर्पित छ । भावी पुस्तालाई असल काम गर्न हौसला दिने हाम्रो एकमात्र लक्ष्य हो । हामी स्पष्ट छौँ, हाम्रो समाजको भविष्य पनि यही पुस्ताको सक्रियता, सुझबुझ, त्याग र समर्पणमा अन्तरनिहीत छ । भोलिको समाजको चित्र कस्तो हुने भन्ने कुरा आजका विद्यार्थीको आनीबानी, बोली व्यवहार, सोच तथा दृष्टिकोणमा भरपर्छ । हामी आगामी १०० वर्षको सोचेर आजका केटाकेटीमा शिक्षाको बीउ हाल्दैछौँ, शिक्षामा लगानी गर्दैछौँ । हाम्रो सत्प्रयास अनन्त कालसम्म पुस्तान्तरण हुँदै जानेछ र हाम्रो समाजले सदा समृद्धिको उकालो चढिरहनेछ । यही हाम्रो आशा र विश्वास हो ।
हाम्रो विद्यालय र कलेजबाट दीक्षित हुने प्रत्येक विद्यार्थीले एक न एक विषयमा विशेषज्ञता हासिल गरुन् भन्ने हाम्रो भित्री मनदेखिको कामना हो । शैक्षिक योग्यता बौद्धिक विलासिताको निम्ति होइन । हाम्रो आशा छ, प्रत्येक दीक्षित विद्यार्थी देश र जनताको सेवामा समर्पित होस् । हाम्रो उद्देश्य हो, समाजलाई अझ अगाडि बढाउन इमानदार र निःस्वार्थ भावनाबाट सेवा गर्ने असल नागरिक तयार पार्नेे । हाम्रो प्रत्येक विद्यार्थी देश र जनताप्रति उत्तरदायी होस् । पुराना पुस्ताबाट हामीले प्रशस्त ज्ञान, सीप र प्रविधि पाएका छौँ । आगामी पुस्ताको निम्ति हामी अझ सुन्दर उपहार दिन सकौँ । हामी यही कामना गर्छौँ ।
हामी चाहन्छौँ, हाम्रा विद्यार्थीले समाज विकासको वैज्ञानिक सिद्धान्तको अध्ययन गरोस् र समाजको आमूल परिवर्तनको निम्ति आफू पनि समर्पित होस् । समाजको रूपान्तरणको आकाङ्क्षा राख्ने स्वयम् परिवर्तनको उदाहरण हुनु जरुरी छ । पोखरीको डिलमा उभिएर पोखरी धमिलो भयो भनी गुनासो नगरी पोखरी सफाइमा आफै लाग्ने युवा पुस्ता हामीलाई चाहिएको छ । समाजका हरेक विकृति र विसङ्गति हटाउन आजका युवा पुस्ताको सक्रिय भूमिका अनिवार्य छ । हाम्रा विद्यार्थीले टोल–छिमेकमा हुने सफाइ गतिविधि, सांस्कृतिक एवम् सामाजिक गतिविधिमा सहभागी हुनु जरुरी छ । हाम्रो कामना छ, हाम्रा विद्यार्थी समाजमा वैज्ञानिक चिन्तनको विकासको निम्ति कथा, कविता, गीत, नाटक, प्रहसन लिएर जनताको घरदैलो पुगून्, सर्वसाधारण नागरिकको नागरिक भावना अभिवृद्धिमा टेवा पु¥याउन सकून् । जनताको राजनीतिक चेतनास्तर उकास्न काम गर्न सकून् । हाम्रो संस्कृतिमा रहेका अँध्यारा पक्षहरूलाई चिरेर फाल्न सकून् । हाम्रा प्रत्येक विद्यार्थीको सांस्कृतिक स्तर सदा प्रगतिउन्मुख होस्, यही हाम्रो हृदयदेखिको शुभकामना ¤
हाम्रो प्रत्येक शिक्षक विद्यार्थीका निम्ति ‘रोल मोडल’ हुनुपर्छ । प्रत्येक विद्यार्थीले आफ्ना शिक्षकको अनुकरण गरिरहेका हुन्छन् । हाम्रा शिक्षकहरू कति नयाँ पुस्तक अध्ययन गर्नुहुन्छ ? कति लेख र साहित्य लेख्नुहुन्छ ? कति अनुसन्धान गर्नुहुन्छ ? कति अनुशासनमा बस्नुहुन्छ ? सामाजिक गतिविधिमा कति सक्रिय सहभागी हुनुहुन्छ ? कति वैज्ञानिक चिन्तन राख्नुहुन्छ ? निःसन्देह त्यसको प्रभाव विद्यार्थीमा परेकै हुन्छ । शिक्षकका प्रत्येक सकारात्मक एवम् नकारात्मक गतिविधि र व्यवहारको प्रत्यक्ष र परोक्ष प्रभाव विद्यार्थीमा परेकै हुन्छ । आफ्नो जागीर, थोरै सुविधा र सहुलियतको निम्ति आफ्नो आस्था, इमान र नैतिकतालाई बन्धकमा राख्ने मानिस कदापि शिक्षक बन्न योग्य हुनसक्दैन । सामाजिक इन्जिनियरको रूपमा रहेका शिक्षकहरूको त्याग र समर्पणमै हाम्रो सुन्दर भविष्यको बाटो अरु फराकिलो हुन्छ । देशभक्त योग्य एवम् जिम्मेवार नागरिक तयार पार्ने साझा सपना साकार होस्, हृदत्रिको हाम्रो कामना छ ।
बासुले सीपमूलक, व्यावसायिक एवम् प्राविधिक शिक्षाको विस्तार गर्दैछ । श्रमप्रति आदरभाव जगाउने शिक्षा दिने हाम्रो प्रयास हो । ‘सिक र कमाऊ’ को नीति लागू गर्न हामी प्रयाशरत छौँ । श्रमिकको पसिनाको उचित मूल्य तिर्न कहिल्यै नभुल्ने नयाँ पुस्ता बनाउने हाम्रो अभिलासा हो । शिक्षालाई उत्पादनमुखी बनाउने हाम्रो प्रयासमा साथ दिने सबैमा हार्दिक धन्यवाद ।
अन्तमा, हामी कामना गर्छौं, हाम्रो विद्यालय र कलेजबाट उत्तीर्ण हुने हरेक विद्यार्थी समाजको परिवर्तनको निम्ति उपयोगी होस् । यो संसारलाई अझ सुन्दर बनाउन हामी पनि योगदान पु¥याउन सकौँ ।
(बासु मावि र कलेजको वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोसाईबाट व्यक्त मन्तव्य – सम्पादक)
Leave a Reply