यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
खाना पकाउने ग्यास बिक्री वितरण गर्दै आएका व्यवसायी र उद्योगीले कमिसन वृद्धिको माग राख्दै आन्दोलन गरेका छन् । प्रजातन्त्रमा सबैले शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ । जायज माग राखेर आन्दोलन गर्नु स्वतन्त्रताकोे विषय हो । तर आन्दोलनको नाउँमा आ–आफ्नो पसल र स्टोरमा भएको ग्यास लुकाउन पाइँदैन, ग्यास लुकाएर उपभोक्तालाई दुःख दिइनुहुँदैन ।
सबै व्यापारमा उत्तिकै नाफा वा फाइदा हुँदैन । तैपनि मानिसले आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा पेशा व्यवसाय छनोट गर्ने गर्छन् । धनी र गरिब सबैको घरडेरामा खाना पकाउन प्रयोग भइरहेको ग्यासको मूल्य उद्योगी र बिक्रेतालाई कमिसन बढाउनकै लागि वृद्धि गर्नु उचित होइन । सर्वसाधारण उपभोक्तालाई मर्कामा पर्ने गरी ग्यासको मूल्यवृद्धि गर्नु जायज होइन । ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा दिने सरकारले वास्तवमै कम आय भएका जनतालाई सुखी बनाउने हो भने ग्यासमा सरकारले कर लगाउनु, अत्यधिक नाफा जोड्नुभन्दा अनुदान दिएर सुपथ मूल्य बनाउनुपर्छ । जनताका लागि नभई नहुने ग्यास, पेट्रोलियम पदार्थ आदि नियमितरूपमा बिक्री वितरण गर्न सकेको छैन । कहिले ग्यासको अभाव हुन्छ त कहिले पेट्रोलियम पदार्थको अभाव हुन्छ । सरकार देश र जनताप्रति समर्पित नभएको हुँदा देशमा एकपछि अर्काे समस्या देखिएको हो ।
ग्यासको मूल्य निर्धारण सरकारले गरेजस्तै मूल्यमा एकरुपता कायम गर्न पनि नियमित अनुगमन गर्नुपर्छ । बिक्री वितरण भइरहेको ग्यासको मूल्यमा एकरुपता छैन । बिक्रेताले आफुखुसी फरक–फरक मूल्य लिने गरेको देखिन्छ । ग्यासको फरक मूल्यले पनि उपभोक्ताहरू मर्कामा परेका छन् । सिलिन्डर बिक्रेताले सरकारले तोकेको मापदण्डभन्दा भारतबाट गुणस्तरहीन तथा असुरक्षित सिलिन्डर जोड्ने पाइप तथा रेगुलेटर बिक्री वितरण गरिरहेको जनगुनासो पनि छ । तौल नपुगेको गुनासोबारे सम्बन्धित निकायको ध्यान गएको देखिंदैन । खिइसकेका पुराना सिलिन्डरहरू पनि बिक्री वितरणमा छन् । कुन सिलिन्डर बिक्री गर्न मिल्छ मिल्दैन सोको लेखाजोखा गर्नुपर्छ । तर त्यसतर्फ न ग्यास उद्योगले ध्यान दिएको छ न त सरकारको नै ध्यान गएको छ ।
आन्दोलनको हवाला दिएर भएको ग्यास लुकाएर राखेका पसल र स्टोरमा प्रहरी प्रशासन कार्यालयले छापा मार्नुपर्छ । ग्यास हुँदाहुँदै बिक्री वितरणमा नल्याएका ती व्यवसायीहरूलाई कारबाही गर्नुपर्छ र भेटिएका ग्यास बिक्री वितरण गराउनमा सहयोग पु¥याउनुपर्छ । उद्योगी, व्यवसायीले देशभरका ग्यास उद्योग बन्द गरेका छैनन्, बन्द नहुँदै ग्यास लुकाएर उपभोक्तालाई दुःख दिने काम रोक्नुपर्छ ।
अहिले ग्यास उद्योगी र बिक्रेताहरूको आन्दोलन घोषणा हुनासाथै जुन ढङ्गले कृत्रिम अभाव सिर्जना गरिएको छ, त्यसले आन्दोलनको बेला जसले जे पनि गर्न पाइन्छ भन्ने गैरजिम्मेवार धारणालाई बल थपिन पुगेको छ । यसले आन्दोलन र आन्दोलनकारीहरूकै उद्देश्यलाई बदनाम गरेको छ । त्यसैले आन्दोलनकारी ग्यास उद्योगी र बिक्रेताहरूले आफूसित स्टक भएका ग्यास इमानदारीपूर्वक बिक्री वितरण गर्ने र आफ्नो आन्दोलनको माग किन जायज छ भन्नेबारे सरकारलाई मात्र होइन, उपभोक्ताहरूलाई पनि बुझाउन जरूरी छ ।
Leave a Reply