भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः कसले मनाउने ?

 जयती घोष
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै समय बितिसकेको छ । तर, महिला आन्दोलनबारे केही प्रकाशन र वेभसाइटबाहेक मूलधार भनिएका सञ्चारमाध्यमले यो दिवसलाई त्यत्ति प्राथमिकता दिएका छैनन् । (अथवा यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा नभई महिला दिवसको रुपमा चर्चा गर्ने गरेका छन् ।) ८ मार्च संसारका श्रमिक महिलाहरूको दिवस हो भन्नेबारे अझै पनि धेरै सर्वसाधारणलाई जानकारी छैन ।
बीसौं शताब्दीको पहिलो दसकमा भएको समाजवादी आन्दोलनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवधारणा जन्माएको थियो । महिलाहरूको सामाजिक योगदानप्रति सम्मान गर्न र कामदार महिलाका मागलाई लिएर थालनी भएका आन्दोलनलाई अझ उचाइमा पु¥याउन समाजवादी नेतृ तथा जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टीको महिला विभागकी प्रमुख क्लारा जेटकिनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । जेटकिनले आफूलाई कहिल्यै पनि महिलावादी भनिनन् । तर, एक जना समाजवादीको नाताले उनले यो दिवसलाई पुँजीवादविरोधी सङ्घर्षको रुपमा अघि सारिन् । श्रमिक महिला दिवसको अवसर पारेर मजदुर सङ्गठनभित्र महिलाहरू, महिला सङ्गठनहरू र समाजवादी पार्टीहरूबीच एकता र सहकार्य विस्तार गर्न सकिने र त्यही शक्तिले प्रगतिशील समाज निर्माणको लागि वर्गसङ्घर्षलाई अघि बढाउन सकिने तत्कालीन नेतृत्वको विश्वास थियो ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको श्रमिक महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले श्रमिक महिला दिवस मनाउने प्रस्ताव एकमतले पारित ग¥यो । तर, सो सम्मेलनबाट कुन दिन मनाउने भनी दिन किटान गरेको थिएन । कोपनहेगन सम्मेलनमा १७ देशका एक सत्न्दा बढी महिला प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । उनीहरू विभिन्न मजदुर सङ्गठन, समाजवादी पार्टी, श्रमिक महिला क्लवको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी बनेका थिए । श्रमिक महिला सम्मेलनमा फिनल्याण्डको संसदमा पहिलो पटक निर्वाचित बनेका तीन जना महिलाहरू पनि सहभागी थिए ।
सन् १९११ को मार्च १७ का दिन युरोपका केही देशहरू अस्ट्रिया, डेनमार्क र स्वीट्जरल्याण्डले पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय ग¥यो । सो अवसरमा आयोजित ¥यालीमा दसौं लाख मानिस सहभागी थिए । ¥यालीमा सहभागी बन्नेहरूमा महिला मात्र थिएनन्, कामदार वर्गका पुरुष पनि थिए । महिलाले काम गर्न पाउने अधिकार, समान ज्याला, मताधिकार, सार्वजनिक पद धारण गर्न पाउने अधिकार र सबै थरीका पक्षपात अन्त्य गर्नुपर्ने माग गरेका थिए । रुसी क्रान्तिकारी अलेक्सान्द्र कोलोन्ताईले महिला दिवसको अवसरमा आयोजित एक जुलुसको व्याख्या गर्दै भनेकी थिइन्,“खँदिलो आक्रोशले भरिएको महिलाहरूको हिलहिलाउँदो समुद्र…श्रमिक महिलाले युरोपमा पहिलोपटक प्रदर्शन गरेको जुझारुपना ।” त्यत्तिबेला उठेका मागहरू आजको महिला आन्दोलनमा पनि त्यत्तिकै प्रतिध्वनित भइरहेको छ । आजका महिलाहरूले पनि माग गरिरहेका छन्, साम्राज्यवादी युद्ध अन्त्य गर, महिला र केटाकेटीलाई उत्तम सामाजिक र आर्थिक बन्दोबस्त गर र खानाको मूल्यमा भइरहेको अचाक्ली वृद्धि नियन्त्रण गर ।
संरा अमेरिकामा सन् १९०८ को ८ मार्चमा समाजवादी महिला र कपडा कारखानामा काम गर्ने महिला मजदुरले आठ घण्टा कार्यदिनको माग गर्दै ठूलो प्रदर्शन र सभा आयोजना गरे । उनीहरूले महिलामाथि भइरहेको दासताको पनि विरोध गरे । सन् १९११ मा युरोपका विभिन्न देशमा पहिलोपटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको एक साता पनि नबित्दै मार्च २५ मा संरा अमेरिकाको न्यु योर्क सहरमा ‘त्याङ्गल सर्टवेस्ट कारखाना’ मा आगलागी हुँदा १४० भन्दा बढी महिला मजदुरहरूको मृत्यु भयो । तीमध्ये अधिकांश महिला केही समयअघि मात्र संरा अमेरिकामा आएका आप्रवासी महिला मजदुरहरू थिए । सो घटनाले संरा अमेरिका र अन्य विकसित देशहरूमा महिला मजदुरको काम गर्ने भयावह अवस्था अझ प्रकाशमा ल्याइदियो । त्यसपछिका वर्षमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उठेका मागहरूको सान्दर्भिकता अझै उकासियो ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चकै दिन किन मनाइन थाल्यो भन्ने प्रश्नको उत्तर संसारकै महिला आन्दोलनको निम्ति ठूलो महत्वको विषय हो । सन् १९१७ को जारकालीन रुसमा रुसी महिलाहरू ‘रोटी र शान्ति’ को माग गर्दै हडतालमा उत्रे । साम्राज्यवादी र उपनिवेशवादी देशहरूबीच भएको पहिलो विश्वयुद्धका कारण बीसौं लाख रुसी सेनाले ज्यान गुमाइसकेका थिए । रुस अभाव र अशान्तिको चपेटामा परेको थियो । महिला र केटाकेटी युद्ध र अभावको समस्यामा नराम्ररी फसेका थिए । त्यसको विरोधमा महिलाहरू सङ्घर्षमा उत्रेका थिए । फेब्रुअरी महिनाको अन्तिम आइतबार (२३ फेब्रुअरी) को दिनबाट महिलाहरूले हड्तालको थालनी गरेका थिए । रुसी पात्रोअनुसार त्यो दिन २३ फेब्रुअरीमा परे पनि संसारभर चल्ने ईस्वी संवत्को पात्रोअनुसार त्यो दिन ८ मार्चको दिन थियो । राज्यले महिलाहरूको सो आन्दोलनमाथि दमन ग¥यो । आन्दोलनकारी महिलाहरूले हजारौं अन्य समस्याको सामना गर्नुप¥यो । तर, हडताल रोकिएन । वास्तवमा रुसी क्रान्तिको निम्ति महिलाहरूको त्यो आन्दोलन जग बन्यो । चार दिनमै जारशाही महिला आन्दोलनसामु झुक्न बाध्य भयो । अन्तरिम सरकारले महिलालाई मताधिकार दिने घोषणा गर्नुप¥यो । त्यत्तिबेला देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालिएको हो । लैङ्गिक समानताको लागि दबाब दिनमात्र नभई महिलाहरू सङ्गठित हुँदा उत्सर्जन हुने शक्तिको सम्मानमा पनि सो दिवस मनाउन थालिएको हो ।
संसारका श्रमिक जनताको सङ्घर्ष र आन्दोलनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भूमिका वास्तवमा निकै महत्वपूर्ण रहँदै आएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा प्रायशः लगाइने नारा भनेको “वर्गसङ्घर्ष नै महिला सङ्घर्ष हो, महिला सङ्घर्ष नै वर्गसङ्घर्ष हो ।” त्यसैकारण श्रमिक वर्ग शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र महिलाको मुक्ति सम्भव छैन अथवा महिला शक्तिशाली नभएको सामाजिक र आर्थिक व्यवस्थाभित्र श्रमिक मुक्ति हुन सम्भव छैन भन्ने विचार बोकेका मजदुर सङ्गठन र श्रमिक पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरेका छन् ।
बीसौं शताब्दीको उत्तर्राद्र्धतिर संयुक्त राष्ट्र सङ्घले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दियो । ८ मार्च एक प्रकारले संसारभरि नै औपचारिक दिवसजस्तै बन्दै गयो । तर, महिला सशक्तीकरण र यसभित्र निहीत आर्थिक र सामाजिक सशक्तीकरणको विषय भने क्रमशः ओझेलमा पारिन खोजिएको छ । यसले महिलावादी र अन्य प्रगतिशील वामपन्थी आन्दोलनबीच अन्तर्विरोध बाँकी रहेको देखाएको छ । यस्तो अन्तर्विरोध वामपन्थी आन्दोलनमा अझ बढी देखिन्छ किनभने वामपन्थी आन्दोलन नै महिला मुक्तिका पक्षधरहरूको प्राकृतिक र अनिवार्य घर हो ।
पुँजीवादको सुरुवातदेखि नै महिलाहरू श्रमिक वर्गको हिस्सा बन्दै आएका छन् । महिलाहरूलाई श्रम शक्तिको रुपमा नस्वीकारिएको अवस्थामा महिलाहरू मजदुर वर्गका हिस्सा थिए । उनीहरूले श्रम शक्तिको मान्यता आफ्नै बलबुत्तामा हासिल गरे । उनीहरूले ज्यालादारी मजदुरको मान्यता नपाए पनि, सामाजिक पुनःउत्पादनमा उनीहरूको योगदानको कदर नभए पनि र पुँजीवादी व्यवस्थाको सञ्चालनको निम्ति अत्यावश्यक आर्थिक गतिविधिमा महिलाहरूको भूमिका उपेक्षा गर्न नसकिने अवस्था भएर पनि महिलाहरू श्रमिक वर्गको हिस्सा बन्दै आएका छन् ।
तर, महिला सङ्घर्षलाई उत्तम समाज निर्माणमा मजदुर आन्दोलनको अन्योन्यास्रित हिस्साको रुपमा स्वीकार्न लगाउन भने निकै लामो समय कुर्नुप¥यो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा महिलाका मागलाई प्राथमिकताका साथ अघि बढाएको धेरै समय बितिसक्दा पनि मजदुर सङ्गठन र अन्य श्रमिक सङ्गठनमा पुरुषप्रधान सोच र अभ्यास रहिरह्यो । जसरी समाजमा बुबा वा श्रीमान् घर चलाउन अर्थोपार्जनमा लाग्ने र आमा वा श्रीमती घरकै कामधन्दामा लाग्ने अवस्था छ, त्यसको प्रभाव मजदुर सङ्गठनमा पनि परेको छ ।
महिलालाई ज्यालादारी मजदुरको सामाजिक मान्यता प्राप्त गर्न पनि लामो समय सङ्घर्ष गर्नुप¥यो र धेरै प्रतिबद्ध आन्दोलन उठाउनुप¥यो । महिलाले ज्याला नपाउने घरेलु श्रम र महिलाले गर्ने समुदायमा आधारित कामको आर्थिक महत्वलाई मान्यता दिलाउन पनि निकै लामो सङ्घर्षको खाँचो प¥यो । तथापि धेरै महिला सामाजिक कार्यकर्ताको लागि प्रमुख समस्या भनेको महिलावाद र समाजवादबीच एकताको मूलभूत असमानता हो । डोनाल्ड सासूनले लेखेको युरोपमा वामपन्थी आन्दोलनको इतिहास ‘द हन्ड्रेड एअर्स अफ सोसेलिज्म’ मा यसबारे चर्चा गरिएको छ ।
पुँजीवादी महिलावादले वर्गसङ्घर्षका गम्भीर प्रश्नलाई छायाँमा पार्ने प्रयास गर्छ । त्यसकारण क्लारा जेटकिनले समाजवादी महिलाहरूले अन्य महिलावादीहरूसँग सहकार्य गर्न हुन्न भन्नेमा जोड दिएका छन् । तर, बीसौं शताब्दीमा समाजवादी देशहरूको सामाजिक वास्तविकताले सर्वहारा वर्गको अधिनायकत्व मात्रले समाजमा जरा गाडेर बसेको पुरातन सोचाइ र घरको श्रम विभाजनमा परिवर्तन नल्याउने कुरा देखाएको छ । त्यसकारण लैङ्गिक समानताको निम्ति अर्को फड्को मार्नुपर्ने देखाएको छ ।
यसको अर्थ समाजवादी महिलावादीको लागि सङ्घर्ष अझ जटिल र दोहोरो हुने देखिन्छ । उनीहरूले एकातिर वर्गीय समाजमा विद्यमान अन्यायपूर्ण आर्थिक व्यवस्थाविरुद्ध लड्ने र अर्कोतिर सँगसँगै लैङ्गिक असमानताको लगातार पुनरोदय भइरहने संरचनाविरुद्ध सङ्घर्ष अघि बढाउनुपर्ने हुन्छ । आर्थिक समानताको लडाइँसँगै सामाजिक, सांस्कृतिक र राजनीतिक सङ्घर्ष पनि लड्नुपर्ने दोहोरो जिम्मेवारी समाजवादी महिलावादीहरूको काँधमा हुन्छ । अघिल्लो प्रकारको सङ्घर्षको तुलनामा दोस्रो प्रकारको सङ्घर्ष अझ बढी जटिल हुने गर्छ । पहिलो थरीको सङ्घर्ष कोसँग लड्नुपर्ने हो प्रस्ट छ भने दोस्रो थरी सङ्घर्ष आफ्नै पार्टी, मजदुर सङ्गठन र वामपन्थी पाटीभित्रै चलाउनुपर्ने हुन्छ ।
पहिलो थरी सङ्घर्षभन्दा दोस्रो थरी सङ्घर्ष अझ पेचिलो बन्ने गर्दछ । तर, यो सङ्घर्षको निकै ठूलो महत्व हुन्छ । वास्तविक मुक्ति भित्री वा बाहिरी पुरुषत्व त्यागेको राजनीतिबाट मात्र सम्भव हुनेछ जसले पुरुष र महिलालाई समान व्यवहार गर्ने समाजवादी व्यवस्थाको बाटो कोर्नेछ । त्यसै कारण अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस महिलाले मात्र होइन, समाजवादी पुरुषले पनि यो दिवस मनाउन जरुरी छ ।
जयन्ती घोष जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक र अन्तर्राष्ट्रिय विकास अर्थतन्त्र सङ्गठनका कार्यकारी सचिव हुन् । उनी मन्थ्ली रिभ्युमा विभिन्न विषयमा कलम चलाइरहन्छिन् ।
– मन्थ्ली रिभ्यु
नेपाली अनुुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *