भर्खरै :

श्रमिक महिला दिवसको शुभकामना

संसारका श्रमिक महिलाहरूले मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउन थालेको एक शताब्दीभन्दा धेरै समय बितिसकेको छ । पुँजीवादी व्यवस्थाले जन्माएको मजदुर वर्गभित्र पनि महिला मजदुरमाथिको चरम शोषणको विरोधमा भएका महिला आन्दोलनको गौरवपूर्ण इतिहासको जगमा श्रमिक महिला दिवसको आरम्भ भएको थियो । पुँजीवादी व्यवस्थाले महिलालाई उत्पादनमूलक शक्ति नै नमान्ने सामन्तवादी चिन्तनको चिरफार ग¥यो । पुँजीवादले महिलालाई घरको चार पर्खाल बाहिर उत्पादन क्षेत्रमा उता¥यो । पुँजीवादी उत्पादन प्रक्रियामा महिलालाई पनि सहभागी बनाएर पुँजीपतिले आफ्नो मुनाफालाई अझ विस्तार ग¥यो अर्थात् पुँजीवादी शोषणको शिकार अब पुरुषमात्र होइन, महिला पनि हुनुप¥यो ।
पुँजीवादले महिलालाई उत्पादन प्रक्रियामा सहभागी बनाए तापनि महिलामाथि हिजोदेखिको विभेदलाई पुँजीपति वर्गले उनीहरूलाई दिनुपर्ने ज्यालामा चालू राख्यो । पुरुषलाई भन्दा महिलालाई समान काम गरेबापत कम ज्याला दिइयो । घरेलु कामभन्दा बाहिर खुला परिवेशमा पुरुषसरह उत्पादनमूलक काममा सहभागी बन्नु महिला मुक्तिको एक पाइला थियो । तर, ज्यालामा गरिएको विभेद भने आगामी सङ्घर्षको अर्को मुद्दा बन्यो ।
महिला एकातिर पुरुषसरह उत्पादन कार्यमा सहभागी बन्दै गए । तर, विगतदेखि महिलाले बोक्दै आएको घरेलु श्रमबाट भने उनीहरू अझै मुक्त भएनन् । साथै, मानव समाजको विकासक्रमका विभिन्न चरणमा महिलामाथि थोपरिएको सामाजिक र सांस्कृतिक सिक्रीबाट महिलाहरू मुक्त हुनसकेनन् । त्यसकारण पुँजीवादी शोषणविरुद्धको सङ्घर्षमा पुरुष श्रमिकको तुलनामा महिला श्रमिकले अझ लामो समय लड्नुपर्ने अवस्था बन्यो ।
संसारका कुनै पनि साम्राज्यवादी युद्ध र हिंसाले सबभन्दा बढी पीडा महिला र बालबालिकाले नै भोग्ने गरेका छन् । पुँजीवादले भोग्ने आर्थिक सङ्कटको सबभन्दा कमजोर शिकार महिला नै हुने गर्दछ । पुँजीवादी व्यवस्थाले नै महिलालाई नैतिकता र मानवताको पर्दा च्यातेर वस्तुको रुपमा व्यवहार गर्ने गर्दछ । महिला सशक्तीकरणको नाममा पुँजीवादी व्यवस्थाले देखावटी वस्तुमा बदलिदिएको हुन्छ ।
निःसन्देह कामदार महिलाले कामदार पुरुषले भन्दा बढी मुक्तिको लागि लामो सङ्घर्ष गर्नुपर्ने हुन्छ । पुँजीवादी व्यवस्थाको अन्त्यपछि पनि महिलाले समानताको निम्ति कुनै न कुनै रुपमा सङ्घर्षलाई चालू राख्नुपर्ने हुन्छ । तर, पुँजीवादको अन्त्य नै महिला मुक्तिको बाटो हो । पुँजीवादी व्यवस्था रहेसम्म महिलाको मुक्ति सम्भव छैन ।
पुँजीवादका पक्षपातीहरू पनि महिला मुक्ति र सशक्तिकरणको कुरा गर्छन् । उनीहरू महिलाले नाङ्गिन पाउनु, विकृत बनी पर पुरुषसरह हिंड्न पाउनुलाई नै महिला मुक्तिको रुपमा परिभाषित गर्छन् । उनीहरू महिलामाथिको शोषणको कारण पुँजीवाद नभई पुरुषलाई नै कारण बनाउँछन् । पुरुष सत्ताको अर्थ कुनै पुरुष होइन । पुरुष सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सत्ता हो । यसको जरा भने पुँजीवादी व्यवस्था नै हो ।
श्रमिक महिला मुक्तिको प्रश्न वर्गीय प्रश्न हो । वर्गीय विभेद र शोषण रहेसम्म महिलामाथिको शोषण पनि कायम रहनेछ । तर, आज यो यथार्थलाई छोप्न पुँजीवाद पक्षधर महिलाहरूले मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा भन्दा पनि महिला दिवसको रुपमा चर्चा गर्न जोड दिन्छन् । महिला दिवसको नाममा महिलाको निरपेक्ष स्वतन्त्रताको कुरा गर्नु शोषणको मूल जरालाई ज्यूँका त्यूँ राखी पातमात्र झार्नुजस्तै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *