भर्खरै :

अमेरिका–चीन वार्तामा अझै अन्यौल

वासिङ्टन, २५ फागुन (एएफपी) । संयुक्त राज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरूले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा असर परेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरू सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । राष्ट्रपतिका एकजना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिनुभयो ।
गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ । यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ ।
“मलाई सम्झौता हुनेमा पूर्ण विश्वास छ तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,” आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददातालाई राष्ट्रपति ट्रम्पले बताउनुभयो ।
अमेरिकी र चिनियाँ अधिकारीले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कूटनीतिज्ञले शुक्रबार तत्कालै दुबै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताउनुभएको छ ।
अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गरिआएको छ । विदेशी लगानीकर्ता र आफ्नो स्वामित्वका उद्यममाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । अमेरिकाले चिनियाँ मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रुपमा उठाएको छ ।
ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुनसक्ने बताउनुभयो । दुबै देशका अधिकारीले यसअघि शिखर वार्ता यसै महिना अर्थात् मार्चको अन्त्यतिर हुनसक्ने बताएका थिए ।
कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिल्यै भन्न सकिन्न ।”
अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तर कार्य गरिरहनुभएको छ । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै भन्नुभयो, “फ्लोरिडामा बैठक हुनसक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको सुरुमा हुन सक्दछ ।”
अमेरिकासँगको व्यापार वार्ताप्रति आशावादी छौँ – चिनियाँ अधिकारी
चीन र अमेरिकाबीचको व्यापार वार्तामा सकारात्मक प्रगति हुनेमा चीन आशावादी रहेको चिनियाँ अधिकारीले बताएका छन् । चीनका बाणिज्य उपमन्त्रीले दुबै देशका वार्ताकारले अहोरात्र खटिएर व्यापारमा देखिएका असमझदारी हटाउन प्रयास गरिरहेको बताउनुभयो ।
दुबै देशका मध्यस्थकर्ताले यसअघि तीनपटक वार्ता गरिसकेका छन् । अर्को साता हुने छलफलमा सम्झौतालाई अन्तिम स्वरुप दिने प्रयास गरिने बताइएको छ ।
“चीन–अमेरिकाबीच जारी व्यापार परामर्श बैठकले कुनै निचोड निकाल्नेमा म ज्यादै आशावादी छु,” उपमन्त्री वाङ शाउवेनले बताउनुभयो ।
वाणिज्य अधिकारीले चीनले प्रस्ताव गरेको विदेशी लगानीसम्बन्धी कानुनले सरकारी टेन्डरमा विदेशी कम्पनीले पनि भाग लिन पाउने व्यवस्था गरेको जानकारी दिए । चिनीया जनकङ्ग्रेसमा प्रस्तुत गरिएको उक्त कानुन अर्को शुक्रबार पारित हुने अपेक्षा गरिएको छ ।
उपमन्त्री वाङले प्रस्तावित कानुनमा ४८ वटा क्षेत्रलाई “संरक्षित सूची”मा राखिएको छ जहाँ विदेशी लगानीलाई या त निषेध गरिएको छ वा विशेष अनुमति आवश्यक पर्नेछ । “सम्पूर्ण प्रक्रिया खुला छ र विदेशी लगानीकर्ताका लागि कानुनी संरक्षणको व्यवस्था छ ।”
विदेशी फर्मका लागि चीनको व्यवसायिक वातावरणका बारेमा उत्पन्न चासोलाई सम्बोधन गर्ने लक्ष्य लिइएको यो कानुन पारित भएमा विदेशी लगानी अझ बढी आकर्षित हुने चीनको विश्वास छ ।
यो कानुनले प्रविधिको गैरकानुनी हस्तान्तरणलाई प्रतिबन्ध लगाएको छ भने विदेशी व्यवसायमा अवैध सरकारी हस्तक्षेपलाई पनि रोक्नेछ । यी दुई विषयलाई अमेरिकी सरकारले विगतदेखि नै उठाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *