भर्खरै :

एकै धर्म विशेषको हुँदैन आतङ्ककारी

– समिना खातुन
न्युजिल्याण्डको क्राइष्टचर्चस्थित अल नुर मस्जिदमा नमाज पढिरहेकाहरूमाथि एक गोरा जातिवादीले तीन फरक फरक राइफलले गोली चलाउँदा ४९ जनाको घटनास्थलमै ज्यान गयो भने अरू दर्जनौँ घाइते भए । न्यूजिल्याण्डको प्रहरीले त्यहाँको एक अदालतमा २८ वर्षीय दक्षिणपन्थी अतिवादी युवकमाथि हत्याको अभियोगमा मुद्दा चलाएको छ । त्यस घटनामा मृत्यु भएकाहरू प्रायः सबै मुस्लिम धर्मावलम्बीहरू हुन् भने हत्यारा वा आतङ्ककारी क्रिश्चियन धर्मका हुन् ।
पहिले युरोपमा भएका केही आतङ्कवादी हमलाका घटनामा मुस्लिम अतिपन्थीहरू सामेल भएको देखिएपछि पश्चिमा सञ्चारमाध्यमहरूले इस्लाम धर्म स्वयम् नै आतङ्कवादको मूल जड भनी अनापसनाप प्रचार गरेका थिए । तर, अहिले न्युजिल्याण्डको घटनालाई लिएर ती सञ्चारमाध्यमहरूले कुनै टिप्पणी गरेका छैनन् । चुपचाप छन् ।
इस्लाम धर्मावलम्बी, कालो, पहेँलो वा मिश्रित रङ्गका छाला भएकाहरूमात्र आतङ्ककारी हुने होइन, गोरो छाला भएका मानिसहरू पनि आतङ्ककारी हुने पुनः छर्लङ्ग्याइदिएको छ । यथार्थ त आतङ्ककारी कुनै एकै धर्म विशेषको हुँदैन । अतिवादी धारणाले ग्रसित भई आतङ्क फैलाउने बाटो अख्तियार गरेपछि जो कोही पनि आतङ्ककारी हुने सत्य हो । पश्चिमा सञ्चारमाध्यमहरुले के सत्य प्रचार गर्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *