यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुनिता गाइसी
नेपाल बहुजाति र बहुभाषीको साझा बसोबास स्थल हो । विभिन्न जातिको बासस्थानको रूपमा रहेको नेपाल प्राकृतिकरूपमा सुन्दर र शान्त रहेको छ । नेपालका विभिन्न जातजातिमध्ये आर्थिकरूपमा विपन्न जनजातिमा माझी पनि एक हो । माझीहरू नेपालका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धनकुटामा छरिएर रहेका छन् । तीमध्ये यहाँ कोशीपारिका माझीहरूको बारेमा चर्चा गरिन्छ । यस समुदायका मानिसहरू आफूलाई माझीकी पुत्री मत्स्यगन्धाका सन्तान मान्दछन् । वि.सं. २०४८ को जनगणनामा यिनीहरूको जनसङ्ख्या ५५,०५० रहेकोमा वि.स २०५८ को जनगणनामा ७२,६१४ पुगेको छ । आर्थिकरूपमा विपन्न रहे पनि यिनीहरू आफ्नो भाषा संस्कृतिको जगेर्नामा विशेष जागरुक रहेको देखिन्छ । भूकम्प अगाडि परम्परागत शैलीमा रहेको सुन्दर बस्ती हाल अस्तव्यस्त रहेको छ । तिनका साना—साना छाप्राहरू पुनःनिर्माणको प्रतिक्षामा देखिन्छ । पैसाको जोहो गर्नसक्नेहरूले बिस्तारै घर निर्माण गर्न थालेको पाइन्छ ।
माझी समुदायका मानिसहरू खोलाका छेउछाउमा बस्दछन् । यिनीहरूको मुख्य पेशा खोलामा जाल हालेर, बल्छी लगाएर माछा मार्ने हो ।
तर, कोशीतिरका माझीहरूमा जाल हाल्नेभन्दा बल्छी लगाएर माछा मार्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ । यिनीहरू डुङ्गा खियाएर मानिसलाई घाट तार्ने (खोला तार्ने) काम पनि गर्दछन् । एकपल्ट वारपार गर्दा रु. ५० रुपैयाँ र केही बढी समय पानीमा रम्दा रु.१०० रुपैयाँ लिइन्छ । यिनीहरू खोलाको बालुवामा सुन खोज्ने काम पनि गर्छन् । सुन खोज्ने काममा बढी बच्चाहरू संलग्न रहेको पाइन्छ । बच्चाहरूको आँखा तेजिलो हुने हुनाले सजिलै सुनका टुक्राहरू बटुल्छ । माछा मार्नेसँगै कतिपय माझीहरू कृषि पेशामा संलग्न रहेको पाइन्छ । यस क्षेत्रका माझीहरू प्रायः हिन्दू धर्म मान्दछन् । यिनीहरू कुलपूजा बडो धुमधामसँग मनाउँछन् । कुलपूजालाई यिनीहरूको भाषामा भुइँबाबा (कुलपूजा) को पूजा भनिन्छ । यस पूजामा यिनीहरूले सुँगुर काट्छन् । यिनीहरूले घाट पूजा पनि गर्छन् । यिनीहरूले दसंै पनि रमाइलो गरेर मनाउँछन् । यीबाहेक फागुपूर्णिमा, माघे सङ्क्रान्ति, पितृऔंसी इत्यादि पर्व पनि मनाइन्छ । यी विभिन्न चाडपर्वमा यस समुदायका मानिसहरू नाचगान गर्ने, रक्सी खाने र रमाइलो गर्ने गर्दछन् ।
यस समुदायमा कोही बिरामी भएमा वायु, सूर्य र देउरालीको पूजा गर्ने गरिन्छ । बोलीचालीको रूपमा नेपाली भाषा बोले पनि कतिपय माझीहरूले मैथिली र भोजपुरी पनि बोलेको पाइन्छ । माझी समुदायका मानिसले बोल्ने भाषा र थारु जातिले बोल्ने भाषामा केही समानता रहेको कुरा स्थानीय पाका मानिसहरू बताउँदछन् । यस समुदायका मानिसहरू शैक्षिक क्षेत्रमा त्यति अग्रसर भएको देखिंदैन । जीविका चलाउन धौधौ पर्ने हुनाले पढाइप्रति ध्यान दिन नसकेको उनीहरू गुनासो गर्छन् । शिक्षा क्षेत्रमा पछाडि परेकोले समाजका उच्च तहमा पुग्न नसकेको देखिन्छ ।
माझी समुदायमा सानै उमेरमा विवाह गरिदिने चलन छ । विवाहको मामिलामा यस समुदायमा केही उदारता रहेको पाइन्छ । मागी विवाहको प्रचलन रहेसँगै प्रेम विवाह पनि समाजमा प्रचलित रहेको पाइन्छ । मागी विवाहमा बाहुन पुरोहित राखेर गरिन्छ । माझी समुदायमा मानिसको मुत्युपछि गाड्ने चलन रहेको छ । यस समुदायमा पनि आधुनिकीकरणको प्रभाव बढ्दै गएको देखिन्छ । परम्परागत पेशालाई छोडी अन्य पेशाजस्तै वैदेशिक, व्यापार इत्यादीतिर लाग्ने क्रम बढदो छ ।
(कोशीपारिका माझी बस्तीमा गरिएको सर्वेक्षणमा आधारित)
Leave a Reply