भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा रोजगारीको लागि कोरिया जान चाहने युवाहरू रातभर लाइन बसेका तस्बीरहरूले वर्तमान सरकारको विकास र समृद्धिको नाराप्रति नेपाली युवाको रतिभर पनि विश्वास नभएको पुष्टि गरेको छ । कोरिया जान लाइन बसेका अधिकांश युवाहरू त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी भएको खबरले त देशको अवस्थाप्रति नेपाली युवाहरूमा व्याप्त निराशामात्र प्रतिविम्बित गरेको छैन, बरु देशको शिक्षा नीति र अवस्थाप्रति समेत प्रश्न उठाउनुपर्ने बनाएको छ । विश्वविद्यालय पढिरहेका विद्यार्थी कोरियामा शारीरिक श्रमिक बन्न जान रातभर लाइन बस्न तयार हुनुले देशको उच्च शिक्षाको सार्थकताबारे बहस गर्नुपर्ने भएको छ ।
बिहीबार राति कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको छेउमै सयौं विद्यार्थी विदेशिन लाइन बस्दाका तस्वीरले देशका शासक वर्गलाई पिरोल्नुपर्ने हो । देशलाई विकासको बाटोमा अगुवाइ गर्ने र समृद्ध नेपालको नेतृत्व गर्ने भनिएका युवाहरू यसरी विदेश जान किन आतुर छन् ? देश विकास गर्ने सरकारी योजनामा हातेमालो गर्न शैक्षिक रुपमा अब्बल मानिएको जनशक्ति किन तयार छैनन् ? एकातिर शैक्षिक रुपमा ‘क्रिम’ मानिएका युवा विदेश गएर फर्कन मानिरहेका छैनन्, फर्केका पनि यहाँको अवस्थाले निराश छन् अनि अर्कोतिर देशकै सबभन्दा अनुभवी विश्वविद्यालयमा पढेका युवाहरू सस्तो ज्यामी बन्न कोरिया जान हतारिएका छन् ।
चुनावी सफलताको लागि शासक दलले दिएका नाराले युवालाई देशमै बसेर केही गर्न प्रतिबद्ध बनाउन नसकेको देखियो । राजनीतिक अड्ढगणितमा शक्तिशाली मानिएको सरकारले पनि देशमा केही गर्ने कुरामा उनीहरूलाई विश्वास भएको देखिएन ।
चुनावी घोषणामा सबै युवालाई स्वदेशमै रोजगारी दिने शासक दलको प्रतिबद्धताको कन्तबिजोग कीर्तिपुरमा अनिंदो लाइनका तस्वीरमा देखियो । पढेलेखेका युवालाई समेत कज्याएर देश विकासमा लगाउन नसक्ने सरकारले विकासका ठूलठूला कुरा गर्नु अनैतिक कुरा हो । विकास त्यत्तिबेला दिगो हुन्छ, जब त्यो आफ्नै खुट्टामा उभिएर गरिएको हुन्छ । विदेशमा कचौरा थपेर बटुलेको पैसाले गरेको विकासले देशलाई कहिल्यै पनि वास्तविक समृद्धिमा पु¥याउँदैन । नेपालको भूराजनीतिक विशिष्टताको फाइदा उठाएर दुवै छिमेकीसँग हात थापेर गरेको विकासले केही समय त लोकप्रियता कमाउन सकिएला, तर दीर्घकालमा त्यस्तो समृद्धि केही क्षणको सपना बनेर तुहिनेछ ।
स्वाधीन विकासको आधार भनेका देशका युवाहरू नै हुन् । विकास निर्माणका युवा परिचालनले विकासप्रति युवा पुस्ताको स्वामित्व पनि रहन्छ भने त्यसबाट सिकेको सिपले देशको दीर्घकालीन विकासको जग बन्छ । विश्वविद्यालय पढेका विद्यार्थी त प्रक्रियाको नेतृत्व हुन् । तर, आज सरकारले ती युवाहरूलाई नै देशमा रोक्न सक्दैन भने विकासको कुरा सबै अर्को चुनावको तयारी सिवाय केही होइन ।
झण्डै बीसौं वर्षको मेहनतले एकजना विद्यार्थी स्नातकोत्तर तह पढ्ने अवस्थामा पुगेको हुन्छ । तर, तिनै युवाले आफ्ना बीसौं वर्षको सङ्घर्षका उपलब्धिलाई बिनानिष्कर्ष मिल्काएर मजदुरी काम गर्न विदेशिन तयार हुँदा विश्वविद्यालय शिक्षाकै के मूल्य भयो र ? विश्वविद्यालय शिक्षाको नाममा प्रमाणपत्र भिराउने काम त भयो । तर, शिक्षाले दिनुपर्ने गौरव र विश्वास दिन नसकेको देखियो ।
वास्तवमै जनताको सरकार भए यो विषयलाई गम्भीरतापूर्वक छलफल र बहसको विषय बनाएर प्रभावकारी र दीर्घकालीन सोचसहितको नीति बनाउन जरुरी छ । नत्र यो सरकार पनि विदेशी श्रम बजारमा सस्तो ज्यामी पठाउने गल्लावालमात्र भएको पुष्टि हुनेछ ।
Leave a Reply