अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
विगोल
क्युवा बहादुरहरूको देश र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शिक्षाको देश मानिन्छ । दसकौंदेखि साम्राज्यवादी संयुक्त राज्य अमेरिकाबाट आर्थिक नाकाबन्दी भए पनि क्युवा ठूलो राष्ट्रि शक्तिसामु कहिले झुकेन । प्रजग कोरियामा पनि साम्राज्यवादी देश अमेरिकाले नाकाबन्दीमात्र होइन देश ध्वस्त पार्ने चेतावनी दियो । तर, प्रजग कोरिया अमेरिकासामु झुकेन । बरु अझ दृढ भएर साम्राज्यवादी नीतिविरुद्ध ती दुवै देश लडिरहेका छन् । प्रजग कोरियाले त आफ्नो स्वाधीन र सार्वभौम देश रक्षार्थ आणविक परीक्षण गरेर शक्तिशाली अमेरिकालाई झस्कायो । यसरी स–साना देशले पनि शक्ति राष्ट्रको अहङ्कारविरुद्ध बडो साहसका साथ लडे । तर, नेपाल सरकार भारतीय विस्तारवादी नीतिविरुद्ध लडेन, बरु भारतीय उठबसमा नेपाल सरकार लागिरह्यो, भारतनिर्भर देश बनिरह्यो । नेपाल स्वाधीन र सार्वभौम देश भनिए पनि कुनै न कुनै देशको दास मानसिकतामा टेकेर अघि बढिरह्यो । फलतः नेपाल परनिर्भर देश बनिरह्यो । यो स्वाभिमानी नेपाली जनताको लागि विडम्बनाको विषय रह्यो ।
नेपाल बुद्ध र सगरमाथाको देश भएकोमा नेपालीलाई गर्व छ । अन्नको भण्डार रहेको तराई, जडीबुटी र खानीको भण्डार रहेको पहाड र जलस्रोतको मुहान हिमाल भएकोमा नेपाली जनता खुसी छन् । तर, नेपाली जनता शोषित र उत्पीडित छन् । आफूलाई ठूला, शक्तिशाली, प्रजातन्त्रवादी, जनवादी र क्रान्तिकारी भन्ने दलले पटक–पटक शासन गरे । कहिले संयुक्त सरकार, कहिले अल्पमतको सरकार त कहिले बहुमत प्राप्त सरकार पनि बन्यो । सरकार गठन गर्नुअघि कहिले भागवण्डा त कहिले पद बाँडफाँटमा नेताहरूबीच तँछाडमछाड भयो । पद बाँडफाँट नमिलेरै कतिले पार्टी छोडे, अलग्ग पार्टी बनाए त कति पैसामा बिके । मन्त्री बन्ने लालसामा एकले अर्काको आन्द्राभुँडीको चिरफार गरे । देशको जिम्मेवारी बोक्ने नेताहरूको अधिकांश समय यसरी नै पद र पैसामा व्यतित गरे । विकासमा ध्यान दिइएन । फलतः नेपाल विकासमा पछि प¥यो । देश गरिबको गरिब भइरह्यो । सरकारले बहुमत जनताको हितमा कुनै उल्लेख्य काम भएन । सरकारको बेवास्ता, गैरजिम्मेवारीपूर्ण कार्यले नेपाल शोषक, सामन्त, जमिनदार, पुँजीपतिजस्ता अल्पमत वर्गले बहुमत जनतामाथि रजाइँ गर्ने थलो बनिरह्यो, बन्दैछ ।
धेरैपटक नेकाको नेतृत्वमा सरकार बन्यो । नेकाको सरकारले भारतसँग अनेक सन्धि सम्झौता ग¥यो । हरेक सन्धि सम्झौता नेपाल र नेपाली जनताको हितभन्दा भारत र भारतीय जनताको हितमा भयो । नेपाल–भारतबीच भएको असमान
सन्धि र सम्झौताले नेपाली भूमि डुवानमा प¥यो । नेपालको जलस्रोत भारतको नियन्त्रणमा गयो । सीमा अतिक्रमण भए पनि, सीमा स्तम्भ उखेलेर नेपाली भूमिमा भारतीय पक्षले खनजोत गरे पनि नेपाल सरकार मौन रह्यो । जनताका आधारभूत आवश्यकता आपूर्ति गर्ने खालका उद्योगधन्धा, कलकारखाना खोल्नेतर्फ सरकारले चासो राखेन । नेपाल–भारतको खुला सीमा नियमन गर्नेतर्फ कुनै योजना ल्याइएन । कृषिप्रधान देशमा मल कारखाना खोल्नेतर्फ ध्यान नै दिइएन । यी र यस्ता राष्ट्रिय र जनजीविकासित सम्बन्धित सवालमा आजसम्मका कुनै पनि सरकारले चासो राखेन, योजना बनाएर अघि बढेन । विधि र सुशासनको कुरा कागज र मुखमा सीमित रह्यो । भनाइ र गराइमा फरक रह्यो । के यो सरकारले नेपाली जनतामाथि गरेको विश्वासघात होइन ?
अहिले मुलुकमा बहुमत प्राप्त कम्युनिष्ट भनिने पार्टीको सरकार छ । विश्वलाई छक्क पार्ने खालको काम गरिरहेको सरकारको दाबी छ । कुनै योजनाको उद्घाटनसँगै सरकारले कहिले देशमा नयाँ नयाँ युगको सुुरुवात भएको त कहिले नयाँ नयाँ अभियान सुरु भएको ध्वाङ फुकेको छ । कम्युनिष्टको सरकारले बहुमत जनताको होइन अल्पमत वर्गको सेवा गरिरहेको छ । लोकतान्त्रिक दाबी गर्ने सरकारले कुनै निश्चित स्थानमा मात्र जुलुस प्रदर्शन र घेराउ गर्न पाउने नियम बनाएर प्रजातन्त्र र स्वतन्त्रतामा बन्देज लगाएको छ । सर्वसाधारण जनतामा खुसी छाउने र सुखानुभूति हुने खालको काम सरकारले गरिरहेको छैन । माक्र्सवादी र लेनिनवादी दाबी गर्ने दलले आफ्नो दलको सिद्धान्त र विचारको तोडमरोड गरेर श्रमजीवी वर्गको पक्षमा होइन पुँजीपति वर्गकै पक्षमा राजनीति ग¥यो कम्युनिष्टको सरकार आफ्नो दलको सिद्धान्तबाट चिप्लिएको छ । यो जनतामाथि गरिएको विश्वासघात हो । यसरी कम्युनिष्टको सरकार झूटको खेती गर्न खप्पिस छ । यो नेपाल र नेपालीको लागि दुर्भाग्यको विषय बनेको छ ।
हो, सच्चा कम्युनिष्टहरू या सच्चा समाजवादीहरू सुखी नेपाली र समृद्ध नेपाल चाहन्छन् । तर, ‘सुखी नेपाली र समृद्ध नेपाल’ नारा घन्काएरमात्र हुँदैन । सुखी नेपाली र समृद्ध नेपालका लागि पूर्वाधार तय गरिनुपर्छ । विनापूर्वाधार र विनायोजना सुखी नेपाली र समृद्ध नेपालको नारा कसरी सार्थक हुन्छ ? दलको सिद्धान्त र विचार एक र व्यवहार अर्को भयो भने कसरी समाजवादउन्मुख देश बन्छ ? कसरी देशमा समाजवादी व्यवस्था आउँछ ? सरकारले न त देश र जनताको सेवामा जुट्न आफ्ना मातहतका नेता तथा कार्यकर्तालाई उत्प्रेरित गरिरहेको छ न त निःस्वार्थ र इमानदारीपूर्वक काम गर्न र गराउन उत्साहित गरिरहेको छ । सिद्धान्त र विचारलाई बन्धक राखेर देशमा कायापलटको कुरा गर्नु दरिद्र विचार हो, खोटपूर्ण विचारले देश समृद्ध बन्दैन । बरु, देशको अर्थतन्त्र खोक्रो बनेछ । देशको अर्थतन्त्र सुदृढ नभइकन सुखी नेपालीको नारा आकाशको फल बन्छ । दलगत र व्यक्तिगत स्वार्थ छोडेर बहुमत जनताको पक्षमा निःस्वार्थ र इमानदारीपूर्वक काम नगर्ने दलका नेता तथा कार्यकर्ताहरू कसरी सच्चा सच्चा कम्युनिष्ट हुन्छन्, त्यस्तो सरकार कसरी सच्चा कम्युनिष्टको सरकार हुन्छ ?
Leave a Reply