भर्खरै :

भेनेजुयलाः माडुरो कसरी सत्तामा टिक्न सकेका छन् ?

फेडेरिको फ्युन्टेस, ग्रीन लेफ्ट विक्ली
धेरैका लागि देशको बढ्दो आर्थिक सङ्गट, संरा अमेरिकी नेतृत्वमा अन्तर्राष्ट्रिय दबाब र घरेलु विपक्षीहरूको चर्को विरोध हुँदाहुँदै भेनेजुयाली राष्ट्रपति निकोलस माडुरो कसरी सत्तामा टिकिरहन सकेका छन् भनी बुझ्न गा¥होमात्र होइन असम्भव नै देखिएको छ ।
यस प्रश्नको जवाफ चाभेजवादको सहनशक्तिमा लुकेको छ । चाभेजवाद भेनेजुयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजले त्यहाँका कामदार वर्गको साथमा अगाडि बढाएको एक राजनीतिक आन्दोलन हो । बोलिभारियालीवाद र बोलिभारियाली मिसन भनिएको सिद्धान्तलाई पछिल्लो समय धेरैजसोले चाभेजकै नामसित जोड्ने गरेका छन् ।
देशभित्र र बाहिरका माडुरोका विरोधीहरूले अस्वीकार र विरोध गर्दागर्दै सत्तामा रहन सक्नुको जानकारी पाउन भेनेजुयलाको विगत दुई दसकको राजनीतिको चर्चा नगरी सम्भव छैन ।
चाभेज
भेनेजुयलाको सिमान्त राज्य (प्रदेश) अपुरेको राजधानी सान फर्नाण्डोको मुख्य सडकको पेटीमा हिँड्दा हिँड्दै मैले त्यहाँको राजनीतिक उतारचढावबारे कुराकानी गर्ने मानिसहरू भेटाइहालेँ । केही मिनेटपछि नै कुराकानी सामूहिक छलफलमा बदलियो ।
मैले तिनीहरूसित चाभेजबारे सोधेँ । तिनीहरूमध्ये एकले जवाफ दिए ः “चाभेज उनी पदमा रहन चाहेकाले सत्तामा आएका थिएनन् । उनी सत्तामा आए किनभने हामी भोकमरीले मरिरहेका थियौँ । १९८० र ९० को दशकमा भेनेजुयालीहरू आर्थिक असमानता र भोकमरीले मरिरहेका थियौँ । त्यसैबाट मुक्ति दिलाउन चाभेज राजनीति र सत्तामा आएका थिए ।”
“सन् १९८९ मा पहाडका गरिबहरू काराकस र अरु सहरहरूमा झरे र पसलहरू लुट्नसमेत बाध्य भए” उनले थपे । उनी १९८९ फेब्रअरी २७ को काराकाजो विद्रोहको कुरा गर्दै थिए । जुन विद्रोहलाई तत्कालीन दक्षिणपन्थी सरकारले क्रुरतापूर्वक दबाएको थियो र हजारौँ गरिब जनताको ज्यान गएको थियो ।
अर्कोले भने ः “चाभेजको युग भेनेजुयलाको इतिहासमा सबभन्दा सुन्दर अवधि थियो । गरिबहरूमात्र होइन धनीहरूले समेत सबैले आफ्नो जीवनस्तर सुधार गर्ने अवसर पाएका थिए ।”
“चाभेजकै कारण हामीले लेखपढ गर्ने अवसर र निःशुल्क रूपमा स्नातकोत्तरसम्म अध्ययन गर्न पाएका हौँ” अर्कोले चर्चा गरे ।
त्यसअघि विश्वविद्यालयहरू प्रायःजसो निजीकरण गरिएका थिए । धनी नभएसम्म कोही पनि विश्वविद्यालय छिर्न सक्दैनथे ।
चाभेजले सबैका लागि शिक्षा क्षेत्र खुला गरे र विद्यालय तहमा त विद्यार्थीहरूलाई पोशाक, जुत्ता, खाना–खाजा, कम्प्युटर, ल्यापटप र ट्याब्लेटसहरूसमेत उपलब्ध गराए ।
एकजना युवाले बीचमै थपे ः “विश्वविद्यालयका प्रत्येक विद्यार्थीले एउटा ट्याब्लेट पाउँथे । मैले पनि एउटा पाएँ । त्यस्तो साधन त्यसअघि मैले कहिल्यै देखेको थिइनँ । त्यो साधन मेरो लागि ज्यादै उपयोगी भयो ।”
परिचय
कामदार वर्गका जनतामाझ चाभेजको लोकप्रियताको गहिराइलाई सामान्यतया राम्रो समय (आर्थिक हिसाबले) को काम र सम्बन्धसित मात्र जोडेर हेर्न मिल्दैन । चाभेजको जन्मस्थानसमेत रहेको ग्रामीण बारिनास राज्यस्थित बोलिभार र जामोरा क्रान्तिकारी आन्दोलनका एक स्थानीय कार्यकर्ता आन्डे«इना पिनो चाभेजवादको लोकप्रियता चाभेजले आफ्नो सिद्धान्तलाई जनताको भाग्यसित जोड्न सफल भएकोले हो भन्छिन् ।
“चाभेजले त्यस्तो गर्न सके किनभने उनी आफै कामदार वर्गबाट आएका थिए ।” – पिनोले स्पष्ट पारिन् ।
सामान्यतया भेनेजुयलाका राजनीतिज्ञहरू कुलीन र धनी परिवारबाट आएका हुन्थे, उनीहरूको सम्बन्ध कामदार जनतासित प्रायः हुँदैनथ्यो । चाभेजले भेनेजुयाली जनताको भावना, संस्कृति र व्यवहारलाई राजनीति र राज्यको व्यवहारसित जोडे । उनले भेनेजुयलाको सबै संस्कृतिको सार र सहिष्णुतालाई जोड्ने काम गरे ।
चाभेजले जनतालाई इतिहासबारे परिचितमात्र गराएनन् इतिहासै पढाए । उनले मुक्तिदाता सिमोन बोलिभार र भेनेजुयलाको स्वाधीनता सङ्ग्रामको सपनाबारे धेरै कुरा गरे । उनले जनतासित भएको आशालाई निर्माण गर्न सुरु गरे र हाम्रो आफ्नै इतिहास निर्माण गर्न सकिन्छ भनी सिद्ध गर्दै लगे । चाभेजले जनतामाझ र जनताभित्रै चेतना जगाए ।
राजनीतिक मुद्दा
काराकसमा रहेका अर्जेन्टिनी समाजशास्त्री मार्को तेरुगी विपक्षीहरूसित भेनेजुयाली जनता किन चाभेज र चाभेजवादीहरूसँग लागेका छन् भनी बुझ्ने र यथार्थलाई स्वीकार गर्ने क्षमता नै नभएकोमा विश्वास गर्छन् । त्यसैले विपक्षी विगत २० वर्षदेखि उही नै गल्ती दोहो¥याइरहेका छन् ।
“तिनीहरू (विपक्षीहरू) चाभेजवादलाई विश्लेषण गर्नुपर्ने एउटा राजनीतिक विषयका रूपमा नै लिँदैनन् ।” – तेरुगी भन्छन् ।
कामदार वर्गका जनताबाटै उत्पन्न भएको चाभेजवाद राजनीतिक पार्टीहरू, सामाजिक आन्दोलन र स·ठनहरूभित्र विस्तार भयो र गरिब जनसमुदाय र सैनिक व्यारेकभित्र पुग्यो  ।
“यदि हामीले चाभेजवादको जरा विस्तारको बारेमा बुझेनौँ भने भेनेजुयलाको स्थिति र उदाहरणको लागि यति ठूलो सङ्गटको स्थितिमा पनि किन जनआक्रोश विस्फोट भएन भनी बुझ्न सक्दैनौँ । चाभेजवादको जरा व्यापक गरिब जनसमुदायसम्म विस्तार भएको छ । त्यहाँ विभिन्न स·ठन सञ्जाल सिर्जना भएको छ र त्यो सञ्जाल अत्यन्त मजबुत र प्रतिकूल स्थितिमा पनि यताउति भएको छैन । अझ महŒवपूर्ण कुरा त चाभेजवादको आफ्नै राजनीतिक परिचय छ । चाभेजवादलाई हामी कामदार वर्गीय जनताको परिचय भन्न सक्छौँ । चाभेजवादअन्तर्गतको शासनले कामदार वर्गका जनताको आर्थिक अवस्थामा सुधार ल्याएको मात्र होइन बरु राजनीतिमा सहभागी बन्न, सार्वजनिक अभिमत व्यक्त गर्न र आशावादी बन्न सिकाएको छ । चाभेजवादले मात्र भेनेजुयाली जनतालाई उक्त अवसर उपलब्ध गराएको हो ।
आज भेनेजुयाली जनता एक प्रक्रियाको रूपमा सरकारको रक्षा गरिरहेका छन् । जुन क्रान्तिकारी प्रक्रियाले भेनेजुयलाका व्यापक कामदार जनतालाई आफ्नो भाग्य बदल्ने अवसर दिएको छ । त्यस प्रक्रियाभन्दा अगाडि उनीहरू देशमा व्याप्त गरिबी, बेरोजगारी, असमावेशिता र सिमान्तीकरणको विरोध र निन्दा गर्दै थिए ।
आज जनता माडुरोको रक्षा गर्दैछन्, यथार्थमा तिनीहरू आफ्नो आर्थिक स्थितिमात्र नभई समग्र जनजीवन उत्थान गर्ने सम्भावनाहरूको पनि रक्षा गरिरहेका छन् ।
समाजशास्त्री तेरुगीको भनाइसित अभियन्ता पिनो सहमत भई भन्छिन्, “राष्ट्रपति माडुरोप्रति जनताको निरन्तर समर्थन र साथ छ किनभने आजको परिस्थितिमा माडुरो नै यस नागरिक र सैन्य सम्मिलित क्रान्तिकारी प्रक्रियाका प्रमुख नेता हुन् ।”
“दक्षिणपन्थीहरू जनताका समस्या बुझ्दैनन्, जनताको भावना पनि बुझ्दैनन्, विवादको चुरो कुरा बुझ्दैनन् न त माडुरो व्यक्ति होइनन् जनताको एउटा परियोजना हुन् भन्ने यथार्थ नै बुझ्छन् ।” पिनो अगाडि भन्छिन् ।
चाभेजवाद खाली चेक होइन
तर समाजशास्त्री तेरुगी औंल्याउँछन्–चाभेजवाद कुनै खाली चेक होइन । त्यो यस्तो कुनै वस्तु होइन जसलाई भविष्यको जतिसुकै समयावधिसम्म त्यत्तिकै प्रयोग गरिरहन सकियोस् ।
गत वर्ष त्यसको स्पष्ट सङ्गेत देखापरेको थियो । देशभरका कम्युनहरूमा सहभागी जनतालाई एकीकृत गरेको कम्युनहरूको राष्ट्रिय सञ्जालका एटेनिया जिमेनेज चर्चा गर्छिन्– जनवरीमा माडुरोको दोस्रो कार्यकाल उद्घाटन र ग्वाइडोको स्वघोषणा अगाडि जनजीवनका यावत समस्यालाई लिएर व्यापक प्रदर्शन गरिएका थिए । तर, ती विरोध प्रदर्शन जनताका समस्या समाधानका लागि थिए । तिनीहरूमध्ये धेरै त ऐतिहासिक रूपमै चाभेजवादीहरू थिए ।
तिनीहरू मध्यम वर्गका मानिस थिएनन्, कम्तीमा काराकसका त थिएनन् । ती विरोध प्रदर्शनहरू माडुरोसित सहमत हुन नसकेका गरिब जन समुदायका थिए । तिनीहरू विपक्षीहरूसँग पनि थिएनन् बरु तिनीहरू वर्षौं वर्षदेखि आर्थिक दृष्टिले पछाडि पारिएका सीमान्तकृतहरू थिए ।
जिमिनेज उल्लेख गर्छिन् – ती विरोध प्रदर्शनहरू भेनेजुयलाका हरेक चीजजस्तै ज्यादै जटिल र विरोधाभाषपूर्ण थिए । तिनीहरूमध्ये कोही कोही त सशस्त्र समूहहरूका क्रियाकलापमा संलग्नहरूसमेत थिए । फेरि अर्कोतिर प्रहरी र बोलिभारियाली राष्ट्रिय गार्डका सदस्यहरू पनि प्रदर्शनमा सामेल थिए ।
“ती प्रदर्शनहरूमा स्पष्ट नेतृत्व कसैको थिएन । ती प्रदर्शनहरू कुनै राजनीतिक क्षेत्रले योजना गरेका वा स·ठित गरिएका थिएनन् । तर, दक्षिणपन्थी विपक्षीहरूले बढावा दिन खोजेका थिए । विपक्षीहरूलाई कुनै पनि तरिकाले राष्ट्रपति निकोलस माडुरोलाई सत्ताबाट हटाउने आफ्नो लक्ष्यका लागि चलायमान शक्तिको खाँचो थियो ।
विरोध प्रदर्शनमा सहभागीमध्ये धेरै जनता सरकारले आफूहरूको दैनिक जीवनका समस्या समाधान गर्न नसकेको अनुभव गर्छन् । तिनीहरू भन्छन्, हामीले सरकारलाई हाम्रो सम्पूर्ण मत दिएका छौँ, राष्ट्रिय संविधानसभा, राज्य गभर्नरहरूका लागि र मेयरहरूका लागि पनि । यति हुँदाहुँदै पनि खाद्यान्न र औषधिजस्ता हाम्रा दैनिक समस्या समाधान गर्न सरकारलाई केले रोकेको छ ?”
तेरुगी फेरि भन्छन्, “अहिलेकै अवस्था सधैँ रहिरहँदैन । जनताका जायज मागहरूको सम्बोधन गर्न जरुरी छ । होइन भने यसले सत्तामा रहिरहने जनसमर्थन गुमाउने छ ।”
तेरुगी फेरि भन्छन्, “तर, भेनेजुयालीहरू अझै सरकारसित मोहभ· हुने स्थानबाट अझै परै छन् । त्यसैले संरा अमेरिका माडुरोको विरोधका नाममा भेनेजुयलामा अराजकता मच्चाउने दुष्प्रयास गर्दैछ ।”
संरा अमेरिकाले त्यहाँ समानान्तर सरकार अभ्यास गराउनमात्र खोजेको छैन, आर्थिक हमलाहरू गरेर माडुरो सरकारप्रतिको जनसमर्थन खिचाउने प्रयास निरन्तर रूपमा गर्दैछ ।
भेनेजुयलाको अर्थतन्त्रमाथिको हमलाले ठूलो क्षति पु¥याए पनि र सरकारले त्यसको प्रतिरोध राम्ररी गर्न नसके पनि जनताले हरेक समस्या समाधानमा सक्दो योगदान पु¥याउँदै छन् । सबैजसो सैनिक र प्रहरी बलले आफ्नो सन्तुलन कायमै राखेका छन् ।
साम्राज्यवादको विरोध
जिमेनेज भन्छिन्, “अर्को परिवेश वा नवउदारवादी सरकार भएको भए यस्तो आर्थिक डाँवाडोलमा जनताले सत्ता परिवर्तन गरिसक्थे ।”
जब ग्वाइडो राजनीतिक परिदृश्यमा देखाप¥यो, असन्तुष्ट जनताको विरोध प्रदर्शन (आन्दोलन) एकाएक हरायो । हिजोसम्म सरकारप्रति आलोचना र विरोध गरिरहेकाहरू देशको राजनीतिमा हस्तक्षेप गर्न आइपुगेको नयाँ पक्ष अमेरिकी साम्राज्यवादको विरोधमा मुखरित भए ।
संरा अमेरिकी समर्थनमा ग्वाइडोद्वारा आफैलाई राष्ट्रपति घोषणा, अझ बढी वैदेशिक हस्तक्षेप र प्रतिबन्धका लागि उसको अपिलको अर्थ सरकारप्रतिको असन्तुष्टहरूको प्रदर्शनको अन्त्य जत्तिकै बन्यो र भेनेजुयाली जनताले हाम्रो समस्या समाधान गर्ने तरिका यो होइन भन्न लागे ।
भेनेजुयाली जनताको माझमा साम्राज्यवादविरोधी भावना अत्यन्त बलियो छ । सरकारप्रति स्वतन्त्र धारणा राख्ने, समर्थन नगर्ने र सरकारको विरोधमा रहेका जनता पनि अमेरिकी साम्राज्यवाद र साम्राज्यवादी हस्तक्षेपको विरोधमा छन् ।
“कुनै पनि विदेशी हस्तक्षेपको धम्कीले हाम्रा जनताको माझमा सङ्घर्षको भावना तत्काल उत्पन्न गरिदिन्छ । भेनेजुयाली जनता भन्छन् – सरकारप्रति हाम्रो असन्तुष्टि र आलोचना छ तर यससित ट्रम्प (अमेरिकी राष्ट्रपति) लाई कुनै लिनुदिनु छैन न उनले हाम्रो देशको राष्ट्रपति को हुनुपर्छ भनी निर्णय लिने अधिकारै राख्छन् ।”
भेनेजुयाली विपक्षीहरूका संवेदनाहीन क्रियाकलाप र अमेरिकी हस्तक्षेपका लागि गरिएको खुला आह्वानले साथै ट्रम्पका प्रवक्ताहरू (मन्त्री र सल्लाहकारहरूसमेत) ले दैनिकजस्तो जारी गरिरहेको धम्कीपूर्ण वक्तव्यहरूले जनतामा देशभक्तिको भावना जागृत गरि गरेको छ । हामी हाम्रो समस्या आफै समाधान गर्छाैँ तर परिआए विदेशी हस्तक्षेपको प्रतिरोधमा युद्धसमेत लड्छौँ भन्ने धारणा बलियो बनाउँदै लगेका छन् ।
यस्ता धारणा छलफलमा सहभागी धेरैको रह्यो । सान फर्नाण्डोको छलफलमा सहभागी बनेकी एक महिलाले भनिन्, “हामीहरू अमेरिकी वा अरु कुनै विदेशीहरू हाम्रो घरेलु मामिलामा सामेल भएको चाहँदैनौँ । हामीहरू स्वतन्त्र हुने निर्णय गरिसकेका छौँ । हामी हाम्रो देशको मामिलामा थप कुनै विदेशी हस्तक्षेप चाहँदैनौँ ।”
“हाम्रो चाहना भनेको स्वाधीन, सार्वभौम र हाम्रो देशको मामिलाबारे हामी आफै निर्णयकर्ता बन्ने हो । कसैले पनि हाम्रो प्राकृतिक स्रोतहरू के गर्ने भनी हामीलाई सिकाउन आवश्यक छैन ।” अर्काे एक युवाले भने । उनको भनाइमा अधिकांशले हो हो भनी समर्थन जनाए । अर्काेले थपे, “हामी हाम्रो समस्या हामी आफै समाधान गर्न चाहन्छौँ । हामी कसैको सुझाव खुशीसाथ स्वीकार गर्छांै तर राम्रा सुझावमात्र । कुनै पनि देश आएर सुझाव दिनसक्छन् तर अहिले संरा अमेरिकाले गरिरहेजस्तो कसैले आफ्नो निर्णय हामीमाथि थोपर्न सक्दैन । त्यस्तो तरिकाले यहाँ काम गर्दैन । त्यो सहयोग गर्ने तरिका होइन । यदि संरा अमेरिका हामीलाई वास्तवमै सहयोग गर्न चाहन्छ भने हाम्रो देशविरुद्ध लगाइएका प्रतिबन्धहरू तत्काल अन्त्य गरियोस् ।”
-Venezula : Why is Maduro still in power ?)
Green Left Weekly, Australia
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *