युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
हरिसुन्दर सुवाल
कला र संस्कृतिमा नेपाल धनी देशमा पर्दछ । नेपालमा वर्षभरि मनाइने विभिन्न चाड र जात्राहरूको कारण देशी विदेशी पर्यटकहरूको आगमन दिनप्रतिदिन बढ्दो छ । भक्तपुरको बिस्केट जात्रा नेपालमा मात्र नभई विश्वभर लोकप्रिय छ । चैत महिनाको अन्तिम साताबाट सुरु हुने बिस्केट जात्रा ८ दिन ९ रातसम्म हर्षोल्लासपूर्वक मनाइन्छ । अत्यन्तै रोमाञ्चक यस जात्राका विभिन्न रमाइला पक्षहरू छन् । नेपालीहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा आरम्भ हुने बिस्केट जात्राले आगामी वर्षका लागि थप ऊर्जा प्रदान गर्ने गर्दछ ।
बिस्केट जात्रा नेपालकै एक ऐतिहासिक एवं महत्वपूर्ण पर्व हो । यस जात्राले यहाँको कृषि, पर्यटन, संस्कृति तथा अर्थमा आगामी वर्ष कस्तो समय व्यतित हुनेछ भन्नेसम्मको सङ्केत दिने गरेको बुढापाकाहरू बताउँछन् । जात्रा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भए देशको कृषि उत्पादनमा सकारात्मक परिणाम ल्याउने र जनजीवन सुखमय हुने विचार भक्तपुरवासीले राख्ने गरेको पाइन्छ । जात्रालाई भव्य, सभ्य तथा शान्तिपूर्ण एवं मर्यादित बनाउन यहाँको प्रशासन, नगरपालिका, जनप्रतिनिधिहरू, स्थानीय टीम क्लवहरू, सरोकारवाला सबै पक्षबीच समन्वय आवश्यक छ । बिस्केट जात्रालाई देशकै गौरव र प्रतिष्ठाको रूपमा सञ्चालन गर्न र सम्भावित घटना दुर्घटनाहरू हुन नदिन सबैबाट राम्रा प्रयासहरूलाई निरन्तरता दिइनु जरुरी छ । भक्तपुर नगरपालिकाको सहयोगमा नगरका मुख्य–मुख्य नाका र ठाउँहरूमा दर्जनौं सी.सी. क्यामेरा राखी उच्छृङ्खल तथा अवाञ्छनीय गतिविधिमाथि निगरानी राख्ने वा नियन्त्रण गर्ने कार्य सराहनीय छ ।
विशेषगरी विचारमा अपरिपक्व नवयुवकहरू मापसे गरी अनावश्यक हुल हुज्जत गर्ने र झगडाको निहुँ खोज्ने हुँदा सम्बन्धित अभिभावक तथा स्थानीय वडावासीहरूले तिनलाई नियन्त्रण गर्न सम्झाइबुझाइ गर्ने र सम्भावित दुर्घटनाबाट बचाउन सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ । जात्राको दिन निश्चित समयावधि स्थानीय मदिरालय र भट्टी पसलहरू खोल्न रोक लगाउन सके जात्रामा रमाउन सक्ने स्थिति रहन्छ । हुन त हजारौं मानिसको भीडमा जात्रा हेर्न जाँदा सामान्य घाउचोट लाग्नु स्वाभाविक हो । गलत किसिमको सोच र मानसिकताले कला र संस्कृतिको बेजोड नमुनाको रूपमा स्थापित भइसकेको भक्तपुर र यहाँका जनतालाई बद्नाम गर्ने हुनाले सञ्चारमाध्यमहरूलगायत सचेत वर्गले यसखाले संस्कृतिको महत्व र जनजीवनमा यसको सकारात्मक प्रभावबारे जनतालाई बताउने, शिक्षित तुल्याउने कार्य गर्नुपर्दछ । गुठी संस्थानले रथको निर्माण मजबुत बनाउन दिनुपर्ने र रथ तान्न बलियो डोरी उपलब्ध गराउनु उचित हुन्छ । रथमा अनावश्यकरूपमा मान्छे चढ्न नदिने, भैरवका पुजारीहरूको सङ्ख्या निश्चित गरी नियमपूर्वक जात्रालाई अनुशासित ढङ्गले सञ्चालन गर्ने हो भने बिस्केट जात्रा शान्तिपूर्ण हुन्छ ।
बिस्केट जात्रालाई भक्तपुरका जनताले सयौं वर्षदेखि आफ्नो पौरख, साहस र एकताले सहजरूपमा सञ्चालन गर्दै आउनसक्नु नेपालीहरूका लागि एक गौरवको विषय हो । विशेषगरी यो जात्रा अवधिभर निरन्तर स्वयम्सेवकको रुपमा परिचालित भई काम गर्ने हुनाले छिटफुट घटना भए पनि शान्तपूर्वक सम्पन्न गर्नसकिन्छ । जात्रामा घाइतेको उपचारको निम्ति स्थानीय तह वा सरकारले व्यवस्था गर्नसक्छ । विश्व प्रसिद्ध बिस्केट जात्रा अवलोकन गर्न देश विदेशबाट आउने पाहुनाहरूको निम्ति शौचालयको बन्दोबस्त, सुरक्षित प्रबन्ध मिलाउने काम भएको खण्डमा पर्यटन विकासमा टेवा पुग्ने निश्चित छ । यस जात्राको दौरानमा हुनसक्ने घटना दुर्घटनाहरूलाई ध्यानमा राखी विभिन्न संस्थाहरूबाट एम्बुलेन्स सेवा हुुनु सकारात्मक मान्नुपर्दछ । तर, जात्रा हेर्न आउने मानिसहरूको घुइँचोका कारण ती एम्बुलेन्सहरू पार्किङका लागि समस्या छ । व्यापारीहरू सडकमै खाद्य चीज, आइसक्रिम, वरफ, पानी पुरी, खेलौनालगायतका विविध सामग्री बेच्न बसेका हुन्छन् । यसले गर्दा हिँडडुल गर्न गा¥हो हुन्छ । त्यसैले उचित पार्कि· स्थलको व्यवस्था गरी जात्रालाई सुव्यवस्थित बनाइनुपर्छ । यसका लागि संस्कृतिविद्, अनुभवी एवम् जानकार व्यक्तिहरू बोलाई प्रशासन, नगरपालिका र स्थानीय जनताबीच बैठक, छलफल र अन्तरक्रियाको आयोजना गरी जनचेतना फैलाउने काम गर्नु राम्रो हो । विद्यालय, कलेजका विद्यार्थी, शिक्षकले विभिन्न समयमा चेतनामूलक ¥यालीलाई निरन्तरता दिनु आवश्यक छ । कला र संस्कृति जोगाउने कार्यमा हामी आफै लाग्नुपर्ने हुन्छ । स्थानीय दाफा भजनका अनुभवी व्यक्तिहरूबाट सकारात्मक सहयोग लिई आपसमा समन्वय र सहकार्य हुनसके जात्रा हेर्न आउने महानुभावहरूलाई थप उत्साह तथा मनोरञ्जन मिल्नेछ ।
हुन त प्रत्येक वर्ष बिस्केट जात्रालाई शान्तपूर्वक सञ्चालन गर्न जिल्ला प्रशासन र भक्तपुर नगरपालिकाले स्थानीय टीम, क्लव र वडावासीहरूसँग राय सुझावहरू लिंदै आइरहेका छन् । तर, तिनको कार्यान्वयन सोचे जति प्रभावकारी हुन नसकेको जनगुनासो छ । यसको एक प्रमुख कारण समय पनि हो । बिस्केट जात्रा मध्य रातिसम्म सञ्चालन गरिनु वा गर्न खोजिनाले निरन्तरको प्रयास भइकन पनि सोचेजस्तो काम भइरहेको छैन । जात्रामा उच्छृङ्खल समूहलाई तत्काल नियन्त्रणमा लिइनुपर्छ । सुरक्षाकर्मीहरूबाट निर्दोष व्यक्ति पिटिने र पक्रिने कारणले गर्दा स्थानीय बासिन्दा प्रहरी प्रशासनप्रति त्यति सकारात्मक देखिंदैन । ठीक ठीक जानकारी राखी सोधपुछ र खोजीपछि दोषीलाई पक्राउ गरिनुपर्छ । जात्राको बेला खटिएका प्रहरीहरूबीच राम्रो समन्वय हुनुपर्दछ । जात्रा भैरवको रथ तान्ने, लि·ो उठाउने वा ढाल्नेमा मात्र सीमित छैन । नगरका विभिन्न वडाका टोल–टोलमा देवी देवताहरूको जात्रा हुन्छ । पर्याप्त बत्तीको व्यवस्था नहुँदा जात्रा राम्ररी अवलोकन गर्न नसकिने र बाटोमा लड्ने आदि घटना हुन्छ । त्यस्तै गणेश, बाराही, महाकाली, भैरव आदि जात्राहरू चल्ने सडक र गल्लीहरूमा अव्यवस्थितरूपमा रहेका केबुल र बिजुलीका तारहरू व्यवस्थित गर्नुपर्ने देखिन्छ । निश्चित समय सीमाभित्र जात्रा सम्पन्न नहुँदा र विधिपूर्वक नियम अनुशासनको पालना नगर्दा विकृति देखिएको भक्तजनहरू बताउँछन् । आदर्श, भीमसेनस्थान, गपलि, राममन्दिर, भार्वाचो, दत्तात्रय, व्यासीलगायतका मुख्य–मुख्य नाकाहरूमा ट्राफिक व्यवस्था गर्नुपर्ने खाँचो छ । केही असङ्गठित जमातबाट हुनसक्ने अवाञ्छित कार्यलाई संस्कृतिप्रेमी तथा स्थानीय सङ्गठित व्यक्तिहरूको सामूहिक प्रयासबाट रोक्न सकिन्छ । इच्छाशक्ति र आत्मविश्वासका साथ सबै मिलेर बिस्केट जात्रालाई शान्तपूर्वक सञ्चालन गर्न सकिन्छ । यसबाट शिक्षा, स्वास्थ्य तथा खेलकुद क्षेत्रमा अद्वितीय छाप छोड्न सफल भक्तपुर नगरलाई सांस्कृतिकरूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु हाम्रो कर्तव्य हो । अतः संयमित भई जात्रा मनाऔँ र सभ्य, सुसंस्कृत समाजको परिचय देऔँ ।
Leave a Reply