भर्खरै :

अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिष्ट नेता – २

सुशिला
केपटाउनमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको सङ्गठन बलियो थियो । अखिल अफ्रिकी काङ्ग्रेसको स्थापनापछि राष्ट्रिय काङ्ग्रेसले नयाँ चुनौतीहरू सामना गर्नुप¥यो । विशेषतः विद्यार्थीहरूबीच अखिल काङ्ग्रेसलाई समर्थन थियो । कहिलेकाहीं समूहबीच झडपसमेत हुने गथ्र्यो ।
हानी राष्ट्रिय काङ्ग्रेसको केप प्रान्तका प्रमुख गोभान एम्बेकीको निर्देशनमा काम गर्थे । केप टाउनको राजनीतिक वातावरणमा उनलाई त्यहाँको मजदुर सङ्गठन एवं राजनीतिक क्रियाकलापमा सक्रिय बन्न धेरै समय लागेन । प्लिइन सहरको बट्टाको खाना उत्पादन गर्ने मजदुर सङ्गठनका मजदुरहरूबीच समय–समयमा उनी पुगिरहन्थे । त्यसक्रममा ओस्कार एम्पिथा (Oscar Mpetha), एलिजावेथ माफिकेङ (Elizabeth Mafikeng), रे अलेक्सान्द्र (Ray Alexander) र (Jack Simons) लगायत मजदुर आन्दोलनका अगुवाहरूसँग भेटघाट भयो ।
अध्ययनशील स्वभावका हानी ‘नयाँ युग’ पत्रिकाको कार्यालयमा पुगिरहन्थे । प्लिइन सहरमा त्यसको कार्यालय थियो । ब्राइन बन्टिङ (Brain Bunting) त्यसका सम्पादक थिए । कालान्तरमा वान्की अभियान (The Wankie Campaign) मा हानीका सहयोद्धा जेम्स अप्रिलसँग पनि केपटाउनमा पहिलो परिचय भएको थियो ।
सन् १९६२ मा सरकारी दमनचक्र अझ पेचिलो बन्यो । तथापि त्यतिञ्जेल प्रतिबन्ध नलगाइएको दक्षिण अफ्रिकी मजदुर काङ्ग्रेस(SACTU) को नाममा हानी सक्रिय रहे । त्यही वर्ष नवगठित एमकेका कमाण्डर–इन–चिफ नेल्सन मण्डेला देश दौडाहाको क्रममा केप टाउन पुगे । गायिका टिसावे (Gayika Tsawe) नामको वैद्यको घरमा भएको बैठकमा मण्डेलाको प्रभावशाली गम्भीर भाषणबाट सहभागीहरू सशस्त्र सङ्घर्षमा जानुपर्नेमा सहमत भए । त्यहींबाट एम–योजना (the M-Plan) निर्णय गरियो । बैठकले एमकेको क्षेत्रीय समिति गठन ग¥यो र त्यही समितिले ११ वटा प्रमुख स्थानहरूमा सङ्गठन विस्तार ग¥यो ।
क्षेत्रीय समितिको आयोजनामा केपटाउनबाट ५० किमी पर एउटा गाउँको घर भाडामा लिई तालिम सञ्चालन थालियो । त्यहाँ बारूद कसरी बनाउनेजस्ता तालिम दिइन्थ्यो । प्रशिक्षार्थीहरू यस्ता तालिमसँगसँगै विभिन्न क्रान्तिकारी कृतिको अध्ययन पनि गर्थे । उनीहरू जोन पल साँत्रको ‘पर्खाल’ (Wall) र चे ग्वेभाराको ‘गुरिल्ला युद्ध’ (Guerilla Warfare) पढ्थे । एकदिन सुराकीको आधारमा प्रहरीले उनीहरूलाई गिरफ्तार ग¥यो । तर, प्रहरीलाई झुक्याएर केही घण्टामै रिहा हुन सफल भए । तालिममा प्रशिक्षार्थीहरूलाई कसरी कहीं हमला गर्ने, टेलिफोनको लाइन कसरी विच्छेद गर्ने र पेट्रोल बम प्रहारबारे प्रशिक्षण दिने क्रम चालु रह्यो ।
हानी पश्चिम केप टाग्नको क्षेत्रीय समितिको माथिल्लो गोप्य समितिका सात सदस्यमध्येमा निर्वाचित भए । घुसपैठ हुन नदिन र गोप्यता कायम राख्न यो समितिबारे तल्लो समितिलाई समेत जानकारी दिँदैनथ्यो । हानीको रूचि क्रमशः कानुनी अभ्यासबाट राजनीतितर्फ केन्द्रित हुनथाल्यो । उनी फूटबल, रग्बी र क्रिकेट खेलमा चाख लिन्थे । युवाहरूबीच खेलकुद समूहहरू गठन गरी राष्ट्रिय काङ्ग्रेसका विचार त्यहाँ प्रचार गर्थे ।
हानी दिउँसो सङ्गठन निर्माण र विस्तारमा लागिपर्थे भने राति प्रशासनलाई हायलकायल पार्न टेलिफोन लाइन काट्नेजस्ता भूमिगत गतिविधि गर्थे । राज्यस्तरको दमनविरूद्ध सशस्त्र हमलाका लागि आवश्यक बारूद र डाइनामाइट केपटाउनबाट २५ किमी पर पर्ने बेलभिल्ले क्वारीस्थित एउटा निर्माणस्थलको पार्टी एकाइले आपूर्ति गथ्र्यो । सरकारविरूद्ध आक्रोशित केप टाउनका जनताको रिस साम्य पार्न त्यहाँको काला जाति हेर्ने प्रशासनले लाङ्गामा सभाको आयोजना ग¥यो । राष्ट्रिय काङ्ग्रेसका कार्यकर्ताले मातान्जिमा नामका प्रशासक बसेकै ठाउँमा अग्नी उत्सर्जक राखेका रहेछन् । मातान्जिमाको ज्यान बल्लतल्ल जोगियो । प्रशासनले ९० दिने आपतकाल घोषणा ग¥यो । शड्ढाको भरमा जो कोहीलाई गिरफ्तार गर्ने अधिकार प्रहरीलाई दिइयो ।
सिबेको, हानी, फाल्दोन जोन्की र जेम्स ट्ेयकु आदि मिलेर गोप्यरूपमा हाते पर्चा छापे । पर्चामा सरकारले लागू गरेको दमनकारी कानुनको विरोध गर्दै राष्ट्रिय काङ्ग्रेसले सशस्त्र सङ्घर्ष गर्नुका कारणमाथि प्रकाश पारिएको थियो । पर्चा वितरणको क्रममा हानी र अरू साथीहरू पक्राउ परे । ३० दिनसम्म उनीहरू कारागारमा थुनिए । कारागारमा उनीहरूले आफू अपराधी नभई राजनीतिक बन्दी भएकाले त्यसैअनुसार व्यवहार गर्न सङ्घर्ष गरे । फलतः उनीहरूलाई पुस्तक, पत्रपत्रिका र खानाको उचित व्यवस्था गरियो ।
दक्षिण अफ्रिकाभरि प्रहरीको निगरानी बढेको थियो । तर, हानी र साथीहरू प्रहरीको कम ध्यान जाने छिद्रहरूको उपयोग गर्थे । केपटाउनबाट जोहान्सवर्ग जाँदा उनीहरू प्रायशः दोस्रो दर्जाको रेलको डिब्बामा जान्थे । त्यहाँ प्रहरीको ध्यान त्यति पर्दैनथ्यो ।
सन् १९६० मा राष्ट्रिय काङ्ग्रेसमाथिको प्रतिबन्धपश्चात् १९६२ मा काङ्ग्रेसको पहिलो भूमिगत सम्मेलन भयो । लोबास्से भन्ने ठाउँको एउटा घरमा गोप्य रूपमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले भूमिगत सञ्जाल विस्तार र सशस्त्र सङ्घर्षको रणनीति कार्यान्वयनबारे व्यापक छलफल ग¥यो । सम्मेलनले केपको गतिविधिलाई थप गति दियो । तर, केपटाउन पुग्दा नपुग्दै हानी र सिबेको माथि अर्को आपत आइप¥यो । प्रहरीले उनीहरूको खोजी तीव्र पा¥यो । हानीसहित चारजनाविरूद्ध मुद्दा लाग्यो । पार्टीले चारै जनालाई प्रवास पठाउने निर्णय ग¥यो । यद्यपि प्रवास जाने कार्यकर्ता अविवाहित हुनुपर्ने नियम थियो । हानीबाहेक बाँकी तीनजना विवाहित थिए । सन् १९६३ फेब्रुअरीमा उनीहरूविरूद्ध सजाय फैसला भयो । चारजना दुई समूहमा विभाजित भएर भूमिगत हुुनुप¥यो । हानी र सिबको एकै समूहमा भूमिगत भए ।
अनेक दुःख–कष्ट झेल्दै उनीहरू अरू झण्डै ४० जना सहयोद्धाहरूसँगै उत्तरी रोडेसिया (जाम्बिया) पुगे । जाम्बियामा उनीहरूलाई केनेथ कौन्डाको एकीकृत राष्ट्रिय स्वाधीनता पार्टी (UNIP) ले सहायता ग¥यो ।
डार–ए–स्लाममा उनीहरूको भेट जेमन हादेबे र ओर ताम्बोसँग भयो । हानी र सिबेको जाम्बिया हिंडेपछि क्षेत्रीय समितिको नेतृत्व लुक्सस्मार्ट एम्गुडल (Looksmart Ngudle) ले लिए । तर, सबै भूमिगत सञ्जाल छताछुल्ल भयो । लुक्सस्मार्टलाई कारागारमा चर्को यातना दिइयो र धागोको सानो त्यान्द्रोमा झुण्डेर मरेको भनियो । गोभान एम्बेकी पनि पक्राउ परे ।
जाम्बियाबाट ३० जनाको टोलीमा सम्मिलित भएर क्रिस हानी सोभियत सङ्घ पुगे । टोलीका अधिकांश सदस्यको निम्ति त्यो पहिलो विदेश यात्रा थियो । रङ्गभेदको चर्को मार खेपेका दक्षिण अफ्रिकी युवाहरू रूसमा गोरा वर्णका रूसीहरूको स्वागत पाएर खुशी थिए । रूसीहरूको व्यवहारले उनीहरूलाई जातिभेद नभएको समाज निर्माण गर्नमा थप दृढनिश्चयी बनायो ।
जाम्बियाबाट सुडान हुँदै कायरोको छोटो बसाइपछि उनीहरू मस्को पुगेका थिए । हानी मस्को पुग्दा सन् १९६२ अक्टोवरको क्युवा मिसाइल सड्ढटमा दुस्साहस प्रदर्शन गरेको भन्दै ख्रुश्चेभ चर्को आलोचनाको तारो बनेका थिए । सन् १९६२ को नराम्रो अन्नबालीपछि सन् १९६३ मा खु्रश्चेभको स्थान लियोनिड ब्रेजनेभले लिएको थियो ।
कम्युनिष्ट पार्टीमा आवद्ध भएको भर्खर दुई वर्ष भए तापनि हानीले समाजवाद र माक्र्सवादबारे धेरै अध्ययन गरिसकेका थिए । सोभियत सङ्घ पुगेपछि समाजवाद र माक्र्सवादप्रति उनको निष्ठा अझ बलियो भयो । तत्कालीन सोभियत सङ्घ संसारकै कम्युनिष्टहरूलाई जस्तै हानीलाई मुसलमानहरूको मक्का र इसाईहरूको भ्याटिकन सरि थियो । लेनिनको देश पुग्नु गौरवको विषय थियो ।
चरम गरिबीको मार झेलिरहेका हानी र उनका कामरेडहरूको निम्ति मगन्ते र गरिबी नभएको सोभियत सङ्घ नौलो कुरा थियो । त्यहाँ शिक्षा र स्वास्थ्योपचार निःशुल्क भएको थाहा पाउँदा उनीहरू चकित परेका थिए । ती सबै समाजवादी क्रान्तिका परिणाम थिए । सोभियत समाज आफ्नै आँखाले देखेपछि पश्चिमा साम्राज्यवादीहरूका प्रचारबाजी झुटा रहेको उनीहरूले थाहा पाए ।
मस्को पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । सबैलाई लुगा, जुत्ता, लामो कोट, झोला, सफा ओछ्यान, सिरानी र कोट–पाइन्ट दिइयो । उनीहरूको नियमित भत्ता २५ रूबल थियो । उनीहरूको तालिम तुरून्त सुरू भयो । राजनीति, समाजवादका सिद्धान्त, अर्थ–राजनीति र दक्षिण अफ्रिकाको राष्ट्रिय मुक्तिसङ्घर्षबारे कक्षाहरू हुन्थे । गुरिल्ला काइदाबारे उनीहरूलाई तालिम दिइयो ।
प्रशिक्षणालयका नियम कडा थिए । विस्फोटक पदार्थसम्बन्धी तालिममा उनीहरूले आफूलाई सफा–सुग्घर राख्नुपथ्र्यो । भान्छा कोठाको चिनी र काठको धुलोले कस्ता–कस्ता काम हुनसक्छ भनी उनीहरूले ती वस्तुका नयाँ–नयाँ आयामहरू देखे । सानो गल्तीले पनि ठूलो क्षति हुनसक्थ्यो । उनीहरूलाई वाकीटकीबाट गुरिल्ला टोलीबीच खबर आदानप्रदान गर्ने, रेडियो र हातहतियारको व्यवस्थापनबारे तालिम दिइयो । भौगोलिक अध्ययन उनीहरूले सिक्नुपर्ने अर्को विषय थियो । सुरूमा त्यस्ता तालिम ओडिसीमा चल्थे तर अफ्रिकाका अन्य देशहरूका मुक्ति योद्धाहरू बढ्न थालेपछि क्रिमियाको पेरेभाल्नोयेमा छुट्टै तालिम केन्द्र स्थापना भयो ।
न्यानो कोठामा प्रशिक्षार्थीहरू शिक्षकका कुरा ध्यान दिएर सुन्थे । दक्षिण अफ्रिकामा सिकेका कुराले त्यहाँ पुग्दैनथ्यो । विषय–वस्तुको गहिराइमा पुग्नुपर्ने अथवा बुझ्नुपर्ने हुँदा कतिपय कार्यकर्तालाई धेरै कुरा फलामको च्यूरा चपाएजस्तै हुन्थ्यो । तर, हानीको बुझ्ने क्षमता बढी थियो । दिनभर सिकाइएका कुरा राति आफ्ना सहपाठीहरूलाई सरल भाषामा बुझाउँथे ।
तालिमका क्रममा कतिबेला उनीहरूलाई घना जङ्गल र मानव बस्ती नभएका ठाउँमा पु¥याइन्थ्यो । तालिम सैनिक विषयमा मात्र सीमित नरही सामाजिक तथा सांस्कृतिक शिक्षासम्म पुग्थ्यो । उनीहरूलाई सोभियत सरकारद्वारा सञ्चालित कलकारखाना र ग्रामीण क्षेत्रको भ्रमणमा लगिन्थ्यो । यसले समाजवादका व्यवहारिक पक्ष (क्षेत्र) बारे बुझ्न उनीहरूलाई सहज पाथ्र्यो ।
तालिम केन्द्रमा एक दिन मोसेस कोटानी दुःखद् समाचार लिएर आए । एमकेका अधिकांश कार्यकारी समिति सदस्यहरू सन् १९६३ जुलाई ११ मा गिरफ्तारीमा परेको समाचार थियो –कोटानीसँग । जोहान्सवर्ग, रिभोनियास्थित लिलिसलिफमा उनीहरूलाई गुरिल्ला युद्धको चाँजोपाजो मिलाएको र साम्यवादी लाइनमा लागेको अभियोगमा गिरफ्तार गरिएको थियो ।
सन् १९६४ नोभेम्बरमा ३० जना तालिमप्राप्त कार्यकर्ताहरू डार–ए–स्लाम फर्के । त्यो समयमा अमेरिकी नागरिक अधिकारका नेता मार्टिन लुथर किङले नोवेल शान्ति पुरस्कार पाएका थिए । ताङगानिका र जन्जिबार जुलियस निरेरेको नेतृत्वमा ताञ्जानियामा सामेल भइसकेका थिए । यी घटनाले दक्षिण अफ्रिकी योद्धाहरूलाई आफ्नो सङ्घर्षमा थप उत्साहित बनाएको थियो ।
सोभियत सङ्घमा वर्ष दिनको बसाइपछि सन् १९६४ नोभेम्बरमा हानी अफ्रिका महादेश फर्के । हानीसँगै उनका सहयोद्धाहरूले माक्र्सवाद सिकेका थिए, द्वन्द्वात्मक भौतिकवादबारे जानेका थिए र सँगै एके ४७ राइफल चलाउन पनि पोख्त बनिसकेका थिए । मस्कोबाट उनीहरू ताञ्जानिया जाँदै थिए ।
ताञ्जानिया भर्खर बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यहाँ जुलिसय निरेरेको प्रगतिशील सरकार स्थापना भएको थियो । दक्षिण अफ्रिकी स्वाधीनता आन्दोलनका सयौं योद्धाहरू त्यहाँ राजनीतिक शरण लिई बसेका थिए ।
क्रिस हानी निरेरेको अफ्रिकी समाजवाद र उजाम्मा (Ujamaa)  परम्परागत वर्गविहीन सामूहिक बस्तीको सिद्धान्तबाट प्रभावित थिए । निरेरेले एमकेलाई उपभोग गर्न ताञ्जानियाको राजधानीभन्दा ४ सय किमी दक्षिणमा पर्ने कोङ्वा (Kongwa) मा सानो टुक्रा जग्गा प्रदान गरेका थिए । हानी, एमब्रोस माकिवाना र लिन्नोक्स लाघुलाई कोङ्वामा खटाइयो ।
कोङ्वाको जीवन सहज थिएन । त्यहाँ बस्ने योद्धाहरूमा औलो र आँखाको सङ्क्रमणको खतरा थियो । चर्पीको लागि खाल्डो खन्नुपथ्र्यो । पानी आपूर्तिको समस्या थियो । कार्यकर्ताहरूलाई तीन समूहमा विभाजन गरिएको थियो र उनीहरू पालै–पालो खाना पकाउने, घर–टहरा बनाउने, पानी बोक्ने काम गर्थे । पढ्ने सामग्री पाउन निकै मुस्किल थियो । एकातिर हानीलगायत तालिमप्राप्त कार्यकर्ताहरूमा आफ्नो देश फर्किने र आन्दोलन निर्णायक तहमा पु¥याउने हतारो थियो भने अर्कोतिर उनीहरू त्यस्तो असहज अवस्थामा बस्न बाध्य थिए ।
त्यस्तो प्रतिकूल परिस्थितिमा हानीले लेख–पढको काम भने छोडेनन् । कुनै उपयुक्त समय मिल्नेबित्तिकै उनी पढ्न बसिहाल्थे । उनी प्रायशः जङ्गलमा गएर किताब पढ्थे । उनका सहकर्मीहरू साँपको डर भएकोले जङ्गलमा एक्लै गएर नपढ्न सुझाइरहन्थे । हानी हाँसो ठट्टा मन पराउँथे । उनी लिवियादेखि फिडेल क्यास्ट्रोको क्युवाबारे चर्चा गरिरहन्थे, त्यतिबेला उनको उमेर मात्र २३ वर्ष थियो ।
कोङ्वामा उनीहरूले चाँडै विभिन्न रचनात्मक गतिविधि गर्न थाले । पहाडको खोंचबाट पाइप बिछ्याएर पानी आउने बन्दोबस्त गरे । त्यही पानी उपयोग गरेर खेतीपातीको काम थाले । भलिबल, टेबुलटेनिसलगायत खेलकुद गतिविधि गर्ने ठाउँ बनाए । बस्न उपयुक्त घर–टहराहरू बनाउन थाले । भर्खर विश्वविद्यालयबाट निस्केका हानीजस्ता नवयुवकहरूका निम्ति त्यस्ता निर्माण कार्य गर्न सजिलो थिएन । यद्यपि त्यहाँको समय सम्झँदै हानीले भने, ‘…… त्यो हाम्रो लागि अर्को शिक्षालय बन्यो । हाम्रो बौद्धिक ज्ञानलाई शारीरिक श्रमसँग एकाकार गर्ने राम्रो विद्यालय थियो – त्यो ।’
सन् १९६४ को क्रिसमससम्म आइपुग्दा एमकेका सबै तालिमप्राप्त योद्धाहरू आफ्नो देश फर्केर स्वाधीनता सङ्घर्ष चर्काउन आतुर भइसकेका थिए । सोभियत सङ्घमा आफूले सिकेका ज्ञानको व्यवहारिक उपयोग गर्न उनीहरू व्यग्र थिए । तथापि पार्टीभित्र नेतृत्वमा झाङ्गिदो सुविधाभोगी चरित्र उनीहरूलाई चित्त बुझेको थिएन । डार इ–ए–सलाम र मोरोक्कोमा बसेका पार्टी नेतृत्वले सङ्घर्षलाई भन्दा आफ्नो निजी सुखलाई प्राथमिकता दिइरहेका थिए । सशस्त्र सङ्घर्षप्रति समर्पणभावको अभाव र निष्क्रियताले हानी असन्तुष्ट थिए । जाम्बियाबाट फर्केको टोलीले केनेथ कौण्डाजस्ता नेता पूर्णतः सुख–सुविधामा डुबेको खबर ल्यायो ।
१९६५ सम्ममा कोङ्वामा मस्को र ओडिसाबाट फर्केका कार्यकर्ताहरूको सङ्ख्या झण्डै ५ सय पुगिसकेको थियो । उनीहरूले भूमिगत गतिविधि गर्न तालिम पाएका थिए । दक्षिण अफ्रिकाको स्वतन्त्रताको लागि लड्न चाहने १२ वर्षका किशोरहरूसमेत त्यहाँ थिए । उनीहरूको शैक्षिक अवस्था कमजोर थियो । हानीले उनीहरूलाई शिक्षित बनाउन कक्षा सञ्चालनमा जोड दिए ।
हानी प्रतिकूल परिस्थितिमा पनि ‘प्रभात’ (The Dawn) पत्रिकामा विश्लेषणात्मक लेख लेख्थे । उनी प्रकाशनलाई स्वतन्त्रताको सन्देश फैलाउने र रङ्गभेदको आतङ्क उजागर गर्ने माध्यमको रूपमा उपयोग गर्न चाहन्थे । कार्यकर्तामा बेला–बेला आउने निराशा पन्छाउन कोङ्वामा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिन्थ्यो । त्यहाँको जीवनलाई कालान्तरमा एकजना कार्यकर्ताले ‘जीवनको विश्वविद्यालय’ को संज्ञा दिए । वास्तवमा त्यो शिविर बाँच्ने क्षमताको परीक्षाजस्तो पनि थियो ।
क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *