भर्खरै :

भिक्षु अश्वघोषलाई सम्झँदा

रु विष्णुगोपाल
महामानव, शान्तिका अग्रदूत, जनताका सेवक सिद्धार्थ गौतम (बुद्ध) को विचार राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा पु¥याउन जीवनको अन्तिम घडीसम्म क्रियाशील बौद्ध भिक्षु अश्वघोष महास्थविरको भौतिक शरीर आज हाम्रोसामु छैन । तर, उहाँले पु¥याउनुभएको योगदान, उहाँको विचार जनताको घर–आँगन र गाउँ–ठाउँको बस्ती बस्तीमा पुगेको छ, उहाँको स्मरण हामीहरूको मनमनमा रहेको छ । उहाँको निधनले देशमा एक बौद्ध विद्वान, बहुआयामिक व्यक्तित्व, रचनाकार, ग्रन्थकार, लेखक, सम्पादक, अध्ययनशील, मेहनती, आदर्श भिक्षु, आदर्श गुरू, प्रभावकारी प्रवचक, जनताको मन छुने गरी विचार दिने एक स्पष्ट वक्ताको अभाव भएको छ । त्यो अभाव पूरा गर्न र उहाँका बाँकी या अधुरा योजना र कार्यलाई हामीले पूरा गर्न सकेमात्रै उहाँप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ । यस दुःखद घडीमा हामी शोकमा छौँ । तथापि शोकमा डुब्नुभन्दा शोकलाई शक्तिमा बदलेर उहाँको विचारलाई अझ व्यापक बनाउनेतर्फ हामी लाग्नुपर्छ ।
पिता चन्द्रज्योति शाक्य र माता लक्ष्मीमाया शाक्यका छोरा बुद्धरत्न शाक्य (अश्वघोष) को जन्म ललितपुरको ओमबहालमा भएको थियो । उहाँको ११÷१२ वर्षको उमेरमै आशामाया शाक्यसँग बिहे भएको थियो । बुद्धका विचार र धर्मका प्रचारक, जागरूक, उत्साही, धर्मानुशासक विद्वान भिक्षु अश्वघोषले बुद्धको ज्ञान र धर्मको क्षितिजलाई फराकिलो पार्दै अन्तर्राष्ट्रियकरण गर्ने एक अन्तर्राष्ट्रवादी विचारक हुनुहुन्छ ।
उहाँले जीवनमा १ सय ५० भन्दा बढी सन्देशमूलक, विचारोत्तेजक ग्रन्थहरू रचेर, सयौँ रचना लेखेर देशवासी र अन्तर्राष्ट्रिय समुदायका नागरिकहरूलाई सुसूचित पार्ने र सत्मार्गमा लैजाने काममा अथक प्रयास गर्नुभयो । उहाँले ग्रन्थहरूमार्फत देशको कुना–काप्चा, लेक, बेसीमा व्यवहारिक ज्ञान दिनुभयो । उहाँ हरेक नागरिकलाई असल, देशभक्त, चरित्रवान तथा सेवक बनाउन उत्साहित गर्नुहुन्छ, प्रेरणा दिनुहुन्छ, ऊर्जा दिनुहुन्छ । यसकारण उहाँ बुद्ध धर्म र विचारका प्रचारक, नेतृत्वकारीमात्र होइन जनताका एक सच्चा सेवक, समाज सुधारक र सत्मार्ग देखाउने अगुवा हुनुहुन्छ । दुःखी गरिबहरूको सेवामा समर्पित, सामाजिक परिवर्तनका अगुवा बौद्ध विद्वान बुद्धरत्न शाक्य बुद्धको महापरिनिर्वाण प्राप्त गर्न कुशीनगरमा श्रामणेर हुँदा श्रामणेर अश्वघोष बन्नुभएको थियो ।
सन् १९४७ मा उहाँले भिक्षु धर्मरक्षित त्रिपिटकाचार्य उत्तीर्ण गर्नुभएको थियो । वाराणसीको सारनाथबाट आईएसम्मको अध्ययन पूरा गरेका अश्वघोष बनारस हिन्दू विश्वविद्यालयमा स्नातक अध्ययन गर्न जानुभयो । अध्ययनकै क्रममा क्षयरोग लागको हुँदा उपचार गर्न उहाँ चीन जानुभयो । बुद्ध धर्म र पालि साहित्यको अध्ययन गर्न उहाँ श्रीलड्ढा र भारत पुग्नुभयो । बुद्धले प्रथम धर्मचक्र प्रवर्तन देशना गर्नुभएको स्थल बुद्धगया पुग्नुभयो । उहाँले श्रीलड्ढा र भारतमा ८÷८ वर्ष अध्ययन गरेर आफ्नो दिमागलाई सुसूचित पार्नुभयो र ज्ञानको भण्डार भर्नुभयो । त्यही ज्ञान, गुण र अनुभवलाई समेटेर उहाँले पुस्तक लेख्नुभयो, आफूसँग रहेको ज्ञानलाई जनताको घर–आँगनमा पु¥याउने काम गर्नुभयो ।
उहाँ परिश्रमी हुनुहुन्छ । काम गरेपछिमात्र उहाँ आफूलाई आनन्द भएको महसुस गर्नुहुन्छ । काम गर्न उहाँ आफै अग्रसर हुनुहुन्छ । आफूले काम गरेर अरूलाई हौसल्याउनु हुन्छ, प्रेरणा दिनुहुन्छ । उहाँ सहयोगी हुनुहुन्छ । उहाँ जनताका सेवक, मित्र र सहपाठी हुनुहुन्छ । उहाँ अरूलाई अपमान गर्नुहुन्न, हेलाहोचो गरेर खिस्सी उडाउनुहुन्न । उहाँ सम्झाउनुहुन्छ, बुझाउनुहुन्छ । यस हिसाबले उहाँ मिलनसार, कसैसँग नबिझने व्यक्तित्व हुनुहुन्छ । उहाँका २१ औँ शताब्दीमा शिक्षा किन ?, असल शिक्षा, धर्म र आचरण, मातापिताको गुण र बुद्धको सही अर्थ, बौद्ध जगतमा स्वास्थ्य सेवा, अमूल्य धन, दीर्घायु हुने उपायजस्ता दर्जनौँ कृतिहरू पठनीय छन् ।
समय बिताउन उहाँले कृति लेख्नुभएको होइन । मानव मनभित्रका कलुषित भाव एवम् हिंसात्मक प्रवृत्ति रोकेर व्यवहारिक शिक्षा दिएर असल नागरिक बनाउने ध्येयले उहाँले कृति रच्नुभएको हो । उहाँ सिद्धान्तलाई भन्दा व्यवहारलाई जोड दिनुहुन्छ । उहाँ सिङ्गो समाजलाई चरित्रवान नागरिकको थलो बनाउन चाहनुहुन्छ, निष्कलड्ढित र दोषमुक्त समाज बनाएर मानिसको जीवनलाई परिशुद्ध बनाउन चाहनुहुन्छ । मानिसको आचरण राम्रो बनाउने उहाँको शुद्ध इच्छा हो । उहाँको ज्ञान र विचार बुद्धका अनुयायी, चिवरधारी भिक्षु, बौद्ध सम्प्रदायहरूको लागि मात्र होइन अन्य सर्वसाधारण नागरिकको लागि पनि उपयुक्त छ । उहाँ मनमा एउटा र व्यवहार अर्को गर्ने प्रवृत्तिप्रति रूचाउनुहुन्न । उहाँको योगदान, गतिविधि र अमूल्य विचार देश र जनताको निम्ति अविस्मरणीय छ ।
८० वर्षको उमेरसम्म पनि काम गर्न उहाँ थाक्नुभएन । उहाँ देशलाई राम्रो र समृद्धि पार्न, जनमुखी भावना जगाउन राजनीति गर्नुपर्ने विचार राख्नुहुन्छ । तर, देशभन्दा राजनीतिलाई ठूलो बनाउने काम दलले गरेको हुँदा उहाँ असन्तोष पोख्नुहुन्छ, दलले देश बनाउनुपर्नेमा उल्टो बिगारेर राजनीतिलाई विकृत बनाएको कारण राजनीतिप्रति वितृष्णा पैदा भएको उहाँ बताउनुहुन्छ ।
उहाँले सात दसकभन्दा अघि नै प्रवजित जीवन बिताउनुभयो । अध्ययनकै क्रममा उहाँले श्रीलड्ढा, थाइल्याण्ड, बर्मा, संरा अमेरिका, लण्डन, क्यानडा, रूस, मलेसिया, जापान, इङ्गल्याण्ड, जर्मन, चीन, भुटान, मङ्गोलिया आदि देशको भ्रमण गरेर धेरै अनुभव र ज्ञान आर्जन गर्नुभयो । आफूले आर्जेको ज्ञान, विचार र अनुभवलाई रचना र कृतिमार्फत उहाँले जनतामाझ पु¥याउनुभयो ।
उहाँ राष्ट्रियसभाका पूर्वसदस्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष, अन्तर्राष्ट्रिय संस्था धर्मोदय सभाका अध्यक्ष, नेपालको पहिलो बौद्ध मासिक पत्रिका ‘आनन्दभूमिका’ सम्पादक र व्यवस्थापक हुनुहुन्छ । नेपालको पहिलो भिक्षु तालिम केन्द्रका उहाँ संस्थापक हुनुहुन्छ । उहाँको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, म्यानमारबाट अग्गमहासद्धम्म जेतिकधजबाट सम्मानित हुनुभएको थियो । उहाँले विभिन्न स्थानमा ध्यानकुटी बिहार स्थापना र निर्माणमा सघाउनुभयो ।
उहाँका पहिलो पुस्तक ‘गौतम बुद्ध’ विसं २०१३ मा धर्मोदय सभाले प्रकाशित गरेको थियो । यसरी भिक्षु अश्वघोष राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा ख्यातिप्राप्त व्यक्तित्व हुनुहुन्छ । मानिस मरणशील प्राणी हो । हामीले एकदिन संसार छोड्नैपर्छ । तर, संसार छोड्नुअघि देश र जनताको लागि काम गर्नुपर्छ, अनिमात्र जीवनको सार पाउँछ । भिक्षु अश्वघोषले सेवा गरेर जीवनको सार पाउनुभयो । अन्ततः उहाँको २०७५ चैत २२ गते निधन भयो । विगतका दिनमा उहाँले देश र जनताको सेवा गर्नुभयो । अब हामीले उहाँको योगदानको चर्चा गर्नुपर्छ, योगदानको स्मरण गर्नुपर्छ । यही नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *